–शिलु अधिकारी
नेपाली संगीत क्षेत्रमा अत्यधिक रुचाइएका गायकमा पर्छन् स्वरसम्राट नारायणगोपाल । नेपाली संगीत क्षेत्र उनको गीतसंगीत बिना अधुरो–अपुरो नै लाग्छ । नेपाली गीत–संगीतको चर्चामा नारायणगोपालको नाम अग्रपंक्तिमै आउँछ । उनले यस धर्तीबाट बिदा लिएको पनि २८ वर्ष बितिसकेछ । तर उनका गीतहरु अजरअमर गीतका रुपमा गुञ्जिरहेको छ । उनका गीतहरु आज पनि सर्वाधिक मन पराइने गीतमा पर्छन् । मंसिर १९ गते स्वरसम्राट नारायणगोपाल यस धर्तीबाट बिदा भएको दिन हो ।
उनको सम्झनामा वर्षेनी श्रद्धाञ्जलिस्वरुप विभिन्न संघसंस्थाले सांगीतिक कार्यक्रम गर्छन् । विगतका वर्षमा झैँ यो वर्ष पनि मंसिर १९ गते नारायणगोपाल संगीत कोषले उनको सम्झनामा कार्यक्रम गर्दैछ । महाराजगञ्जस्थित नारायणगोपालकै निवास अर्थात् कोषको प्राङ्गणमा बिहान ११ बजे कार्यक्रम हुँदैछ । कार्यक्रममा नारायणगोपाललाई श्रद्धाञ्जलि अर्पण गर्ने तथा उनका अजर गीतलाई संगीतकर्मीले प्रस्तुत गर्नेछन् ।
यस्तै, सांस्कृतिक संस्थानले पनि नारायणगोपालकै सम्झनामा ‘नारायणगोपाल स्मृति सभा’ आयोजना गर्दैछ । जमलस्थित राष्ट्रिय नाचघरमा दिउँसो २ः३० बजे आयोजना हुने कार्यक्रममा पनि संगीतकर्मीले नारायणगोपालका चर्चित गीत प्रस्तुत गर्नेछन् ।
स्वरसम्राट नारायणगोपालको जन्म विसं १९९६ असोज १८ गते काठमाडौंको किलागलमा भएको थियो । बुवा आशागोपाल गुरुवाचार्य र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमध्ये माइला नारायणगोपालले बीएसम्म अध्ययन गरेका थिए ।
सानोमा लजालु स्वाभावका नारायण भजनमण्डलीहरुमा प्रशस्त जाने गर्दथे । उनका बुवा आशागोपाल सानो उमेरमै आफ्नो छोराले तबलामा साथ दिन थालेका थिए । यसबाट बुबा निकै खुशी थिए । दिनभरको स्कुल र साँझ पर्ने बित्तिकै भजनमण्डलीको मनोरञ्जनले नारायणलाई सानैदेखि सङ्गीतको सङ्गत परिसकेको थियो ।
एसएलसी पास नगरी रेडियोमा स्वरपरीक्षा दिन नजाने अड्डी कसेका उनले एसएलसी पासलगत्तै राममानको शब्द सङ्गीतमा ‘पंक्षीको पंखमा धर्तीको याद दियो’ बोलको गीत गाएर भ्वाइस टेष्ट पास गरे ।
कलेज पढ्दाताका उनका साथीमा थपिएका रत्नशम्शेर थापालगायतका कलाकारसँगको संगतले उनको साङ्गीतिक ऊर्जालाई अझ मौलाउने अवसर प्रदान गर्यो ।
यसबीचमा उनले आँखाको भाका आँखैले, मधुमास यो दिलको बाग नफुलिकन, म भोरका किरण हुँ, स्वर्गकी रानी मायाकी खानी, भो भो नसोध मलाई, कुञ्जमा गुञ्जियो लगायतका हिट गीत गाए ।
https://www.youtube.com/watch?v=Jg8sUojDgXw&t=3s
जीवनभर लगभग पाँचसय गीत गाएका नारायण गोपालको जीवनकालमा भने रत्न रेकर्डिङ संस्थानबाट ‘ब्लु नोट’ र म्युजिक नेपालबाट ‘गीति यात्रा भाग–१’ गरी जम्मा दुई वटा गीति एल्बम मात्र बजारमा आए । छिन्नलता, जगदम्बा श्री, त्रिशक्ति पट्ट, गोरखा दक्षिण बाहु चौथो, ईन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कारलगायतका प्रतिष्ठित पुरस्कार तथा सम्मान ग्रहण गरेका नारायण गोपालको ५१ वर्षको उमेरमा विसं २०४७ मंसीर १९ गते वीर अस्पतालमा निधन भएको हो ।