उदयपुरमा भेटिए ‘सिमेन्टका कुलमान’ (भिडियोसहित)

अर्जुन थपलिया
काठमाडौं । २३ वर्षदेखि घाटामा गएको उदयपुर सिमेन्ट उद्योग नाफामा गएको छ । उद्योगले गैँडा छाप सिमेन्ट उत्पादन गरिरहेको छ । उद्योगको महाप्रबन्धकमा सुरेन्द्रकुमार पौडेल नियुक्त भएपछि नाफाको कल्पनै नगरेको उद्योग नाफामा गएको छ । उद्योग सञ्चालनको इञ्छाशक्ति हुने हो भने सफल भइँदोरहेछ भन्ने उदाहरण हो उदयपुर सिमेन्ट उद्योग र महाप्रबन्धक पौडेल ।

उद्योगको परिचय
उद्योग २०४४ जेठ ३१ मा स्थापना भएको हो । उद्योग खानी क्षेत्र र प्लान्ट गरी ५ सय ५६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उद्योग निर्माण गर्न ६ वर्ष लाग्यो । सिमेन्ट उद्योगले गैँडा छाप सिमेन्ट २०४९ मंसिरबाट उत्पादन शुरु गरेको थियो । जापान सरकारको जापानी ऐन १८ अर्ब ७७ करोड ऋण सहयोग र नेपाल सरकारको ४४ करोड ३७ लाख ५१ हजार लागतमा उद्योग स्थापना भएको हो । उद्योगमा तीनसय भन्दा बढी कर्मचारीका लागि आवास सुविधा, हेभी इक्विपमेन्ट, आफ्नै प्रशासनिक भवन, चुन ढुंगा बोक्ने रोपवे छ । जापानी निर्माण कम्पनी कावासाकी हेभी इन्डष्ट्रिज जापानले उद्योग निर्माण गरेको हो । २०५१ माघसम्म जापानी प्राविधिकले नै उद्योग सञ्चालन गरेका थिए । २०५१ माघपछि नेपाली प्राविधिकले उत्पादन गर्न थाले । उदयपुर सिमेन्ट उद्योगले रोटरी किल सिस्टम प्रविधिबाट जापानी र जर्मन मेसिनबाट उत्पादन गरिरहेको छ ।

सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योगलाई ६ अर्ब २० करोड रुपैयाँ उठाएर सरकारलाई बुझाउने शर्तमा उद्योग व्यवस्थापन पक्ष आएको हो । सिमेन्ट उद्योगको चुनढुंगा खानी त्रियुगा नगरपालिका १६ सुखौरामा छ । खानीमा २ सय ५० वर्षलाई पुग्ने ७ करोड ४० लाख मेट्रिक टन चुनढुंगा भण्डारण रहेको अनुमान छ । १० प्रतिशत मात्रै चुनढुंगा उत्खनन् भएको छ । सिमेन्ट उद्योगलाई चाहिने रातोमाटो करिब डेढ सय हेक्टर क्षेत्रफलमा फैलिएको छ । सिमेन्ट उद्योगले त्रियुगा नगरपालिका ६ स्थित चुरे जंगल तथा वडा नम्बर ९ स्थित रातमाटेबाट आवश्यक माटो उत्खनन् गरिरहेको छ । त्रियुगा नगरपालिका–७ स्थित कवै र चौदण्डीगढी नगरपालिकाको आमसोतमा समेत रातोमाटो छ । उद्योगले स्थापनाकालमा दैनिक ६ सय ५० मेट्रिक टन सिमेन्छ उत्पादन गरेको थियो ।

२५ वर्षमा २२ महाप्रबन्धक
उद्योग शुरु भएको २५ वर्षमा २२ महाप्रबन्धक र ३० अध्यक्ष फेरिए । अधिकांश महाप्रबन्धक राजनीतिक नियुक्ति थिए । कोही त एक दिने महाप्रबन्धक भएर पनि आए । कोही ६ दिने महाप्रबन्धक भएर पुगे । नेपाली प्राविधिकले उत्पादन र व्यवस्थापन जिम्मा पाएपछि उद्योग निरन्तर २३ वर्ष घाटामा गयो । राजनीतिक पहुँचका आधारमा आवश्यकता भन्दा बढी कर्मचारी भर्ना, कर्मचारीले काम नगर्नु, हाकिमहरुको घरैमा बसेर तलब खाने प्रवृत्तिले उद्योग धारासायी भयो । मेसिन बिग्रिएपछि मर्मत गर्न महिनौँ लाग्ने, मेसिनको कुनै पार्ट बिग्रे खरिद प्रक्रिया पूरा गर्न तीन महिना लाग्ने उद्योगको रोग नै बनयो । मेसिनको एउटा नटबोल्ट मात्र टुट्दा जापान पुग्नु पर्ने अवस्था थियो । द्वन्द्वकालमा माओवादीको बन्द, हडतालले सिमेन्टको प्लान्ट र खानी क्षेत्र कयौँपटक बन्द हुन पुग्यो ।

२०५७–५८ तिर सिमेन्ट उत्पादन रोक्ने, कृतिम अभाव सिर्जना गर्ने, कालोबजारीमा सिमेन्ट बिक्री गर्नेसम्मको काम भयो । उद्योगमा कुनै समय सिमेन्ट भर्ने बोरा थिएनन्, कोइला, जिप्सम थिएन् । कर्मचारीले महिनौँदेखिको तलब पाएका थिएनन् । उद्योग लगभग बन्द हुने स्थितिमा पुगेको थियो ।

प्रदुषणरहित बनाउने प्रयास
स्थापनाकालमै उदयपुर सिमेन्ट उद्योगमा प्रदुषणरहित बनाउने उपकरण जडान गरिएको थियो । तर २०६० सालमा प्रदुषण नियन्त्रण गर्ने उपकरणको तीन वटा चेम्बर मध्ये एउटा चेम्बर बिग्रियो । । तत्कालीन व्यवस्थापनले प्रदुषण रोक्ने चेम्बर मर्मत गर्न सकेन । फलस्वरुप उदयपुर सिमेन्ट उद्योगको प्रदुषणले स्थानीयलाई सास्ती हुन थाल्यो । प्रदुषण रोक्ने मेसिन बिग्रिएपछि १० किलोमिटर टाढैबाट उद्योग क्षेत्रमा धुवाँ र धुलोको मुस्लो देखिथ्यो । उद्योगबाट दैनिक २ टन धुलो वायुमण्डलमा मिसिन्थ्योे । प्रदुषणका कारण उद्योग छेउछाउका बस्ती र खेतबारी धुुलोले ढाकिन थाल्यो । खेतबारीको अन्नपात, साग तरकारी लगायतका बालिनाली धुलाम्य भएर खान अयोग्य हुन थाल्यो । घरका छाना, धोएर सुकाएको कपडा, खाना पकाउने भान्छा र सुत्ने कोठा जताततै उद्योगले फालेको धुलो ह्वारह्वारती पसेर स्थानीय दिक्दार भएका थिए ।

उद्योगले फैलाएको प्रदुषणविरुद्ध संघर्ष समिति बन्यो । संघर्ष समितिले २०६३ फागुन १३ गते स्थानीयले उद्योगको मुख्यद्वारमै तालावन्दी गरिदिए । स्थानीयले एक सातासम्म उद्योगचल्न दिएनन् । स्थानीय राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय उदयपुर, उद्योग कर्मचारी टे«ड युनियन र उदयपुर सिमेन्ट उद्योग प्रशासनबीच प्रदुषण नियन्त्रण गर्न २४ बुँदे सहमति भयो । सहमति त भयो तर प्रदुषण नियन्त्रण गर्ने कुनै उपाय थिएन । त्यसबीच उद्योग खुल्ने बन्द हुने हुँदै रह्यो ।

पौडेलको नियुक्ति र सत्प्रयास
२०७१ फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदमा सुरेन्द्रकुमार पौडेल नियुक्त ग¥यो । पौडेलले उद्योग पुगेर कार्यभार सम्हालेपछि प्रदुषण नियन्त्रण खोजी भयो । इलेक्ट्रो स्टारिक पावर मेसिन जडान भयो । मेसिन जडान गरिएपछि उद्योगबाट फैलिने प्रदुषण शून्यमा झरेको प्रदुषण नियन्त्रण नियन्त्रण संघर्ष समितिका अध्यक्ष निर्मलकुमार चौधरीले बताउनु भयो ।

१५ वर्ष उद्योग वरपरका बस्तीले धुवाँ र धुलोजन्य प्रदुषणको पीडा भोगेका थिए । तर यो समस्या पनि हट्यो । उद्योगमा कार्यरत ५ सय भन्दा बढी मजदुर र कर्मचारी अनि हजारौं स्थानीयको स्वास्थ्यमा पर्ने नाकारात्मक असर समाप्त भयो । वातावरणमैत्री उद्योग बन्यो उदयपुर सिमेन्ट उद्योग ।

मर्मतसम्भारपछि ९७ प्रतिशत उत्पादन
२५ वर्ष पुरानो मेसिन मर्मत गर्न लगाइयो । ६० मिटरको क्लिंकर भट्टी २४ मिटरसम्म र कोइला आउने भागको ५ मिटर चर्केको थियो । १ सय ८० डिग्रीमा घुम्नु पर्ने क्लिङ्कर मेसिन ७० डिग्रीको फरकमा घुमिरहेको थियो । कुनै समय पनि उद्योग सरकारी बम जस्तै थियो । कुनै पनि बेला विस्फोट हुनसक्ने खतरा थियो । उद्योगको मुख्य भाग मानिने क्लिंकर पकाएर पिसेर सिमेन्ट बनाउने अग्नियन्त्र लगायत २२ ठूला यन्त्रको पूर्ण मर्मत र पुनःजडान भयो । ‘पाँच दशमलब एक मिटर क्लिंकर भट्टी नै बदल्नु परेको थियो । धेरै पुरानो भएका पार्टपूर्जा मर्मत र नयाँ लगाउने काम गरियो । उद्योगमा पहिलो पटक ग्राफाइड सिल जडान गरी उत्पादन शुरु गरिएको छ । अहिले उद्योग पूर्ण क्षमतामा सञ्चालित छ । एकताका उद्योगको उत्पादन घटेर ५८ प्रतिशतमा झरेको थियो । मर्मतपछि सिमेन्ट उद्योगबाट ७ सय ७० मेट्रिक टन सिमेन्ट उत्पादन हुँदै आएको छ । जुन उत्पादन क्षमताको ९७ प्रतिशत हो । विद्युुत् अवरोधको कारण दैनिक सय टन उत्पादन कम भएको छ ।

कर्मचारीलाई सुविधा र अवकाश
उद्योगमा राजनीतिक दबाबमा नियुक्त काम नगरी तलब खाने कर्मचारीलाई अवकाश दिइसकिएको छ । भ्रष्टाचार र फजुल खर्च नियन्त्रण गरिएको छ । उद्योगबाट दैनिक ७ सय ७० टन सिमेन्ट उत्पादन हुन्छ । उत्पादित सिमेन्ट दैनिक बिक्री हुन्छ । गोदाममा राख्नै पर्दैन । उद्योगमा ४ सय १८ कर्मचारी छन् । २३ वर्षसम्म लगातार घाटामा रहेको उदयपुर सिमेन्ट उद्योग डेढ अर्ब रुपैयाँ पुरानो ऋण तिर्न सक्ने भएको छ । २३ वर्षमा पहिलोपटक उदयपुर सिमेन्ट उद्योग नाफामा गएको छ । उदयपुर सिमेन्ट उद्योगकै कारण उदयपुरको सदरमुकाम गाइघाट बजारले शहरीकरण हुने मौका पाएको छ । उद्योगको सञ्चालक समितिले महाप्रबन्धक पौडेलको सुधार योजनालाई सहयोग गरेको छ । गैँडा छाप सिमेन्ट गुणस्तरीय सिमेन्ट हो । चाँडै सेटिङ हुने र क्र्याक नहुने सिमेन्ट हो ।

सिमेन्टका कुलमान
२३ वर्ष घाटामा गएको र जनताले पनि बन्द भए राहत हुने उद्योगलाई पुनर्जीवन दिने काम गरे महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले । पौडेलको प्रयासमा ४ वर्षमै उद्योग ऋणमुक्त भएको छ । पुरानो उद्योग भएर पनि ९७ प्रतिशत उत्पादन गरिरहेको छ । तलब खान नपाइरहेका कर्मचारीहरुले तलब, सुविधा पाएका छन् । उद्योग राजनीतिक हस्तक्षेपमुक्त भएको छ । इच्छाशक्ति भए असम्भव पनि सम्भव भएको छ । हिजो उद्योगलाई गाली गर्नेहरु आज प्रशंसा गरिरहेका छन् । आन्दोलन गर्नेहरु गैँडा सिमेन्टको प्रचार गरिरहेका छन् । उदयपुरका नागरिक समाज अचेल महाप्रबन्धकलाई भन्छन्, ‘जिएम सुरेन्द्र सरलाई त हामी ‘सिमेन्टका कुलमान’ भन्न थालेका छौँ ।

दिनदिनै एकअर्काबीच झगडा गर्ने मजदुर संगठन एक ढिक्का भएर उद्योग फस्टाउन लागेको भन्दै समग्र उद्योग टे«ड युनियन नेपाल, अखिल नेपाल औद्योगिक मजदुर संघ र नेपाल कारखाना श्रमिक संघ उदयपुर सिमेन्ट उद्योग लिमिटेडले महाप्रबन्धक र उदयपुुर सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्षसहित सदस्यहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल, सञ्चालक समितिका अध्यक्ष अकरुर खड्का, सदस्य शशीकुमार राई, देवनारायण चौधरी, मोहनसिंह बस्नेत र राजेन्द्र थापा छन् ।  (उदयपुर सहकर्मी सुखिलाल चौधरीको सहयोगमा)

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…