‘मागेर पनि रविका कार्टुन एक महिना छापिएनन्’

–संयोग नेपाल

व्यङ्ग्य सबैलाई मन पर्छ । कतिपय व्यङ्ग्य यस्ता हुन्छन्, आफैँलाई प्रहार गर्दा पनि आनन्दित तुल्याउँछ । व्यङ्ग्यको पनि विभिन्न पाटा हुन्छन् । रेडियो, टेलिभिजन, सामाजिक सञ्चालको व्यङ्ग्य भन्दा फरक किसिमको व्यङ्ग्य अर्थात पत्रिकाको व्यङ्ग्यबारे बोल्नेछौँ । पत्रिकाको व्यङ्ग्य भन्नाले त्यहाँ आउने कार्टुन बुझिन्छ । कार्टुन लेख्नु अवश्य सजिलो होइन । समसामयिक विषयका व्यङ्ग्य प्रहार कार्टुनको विशेषता हो । नयाँ पत्रिका दैनिकमा कार्टुनिस्टका रुपमा कार्यरत रवि मिश्र र उनको कार्टुन करियरबारे केही खुलासाः

शुरुवाती चरण
रविको घर नुवाकोटको साविक कबिलास गाविस, अहिलेको पञ्चकन्या गाउँपालिकामा हो । दाइले पत्रिका ल्याउँथे । ग्रामीण क्षेत्र भएकाले दैनिक पत्रिका पुग्ने कुरै भएन । प्रायः ‘दृष्टि’, ‘बुधबार’ जस्ता साप्ताहिक पत्रिका पुग्थे । त्यतिबेला आएका साप्ताहिक पत्रिकामा रबिन सायमी, बासु क्षितिजलगायतका कार्टुनिस्टको कार्टुन छापिन्थ्यो । रवि गाईजात्रे पत्रिकाहरु ‘भाँडभैलो’, रङ्गपत्रिका ‘कामना’ लगायतका पत्रिकामा आएका विभिन्न सामग्री संकलन गरेर राख्थे । कार्टुन हेर्दा एकदमै रमाइलो लाग्थ्यो रविलाई । कार्टुन कसरी बनाउँछन्, कार्टुन बनाउनले कसरी सोच्छन्, यस्ता कुराहरु कसरी फुर्छन् भन्ने सोच्ने रवि पत्रिकामा आएका कार्टुन हेरेपछि अलिअलि कार्टुन बनाउने कोसिस गर्थे । त्यसताका उनी गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायतका नेताको कार्टुन बनाउने अभ्यास गर्थे । कार्टुन बनाउने सिलसिला जारी रह्यो । एलएलसीपछि थप पढाइका लागि काठमाडौं छिरेका उनी कार्टुनमै रुची बढ्दै गयो । सरस्वती क्याम्पसबाट कक्षा १२ को परीक्षा दिएका रविलाई ३–४ महिना के गरौँ, कसो गरौँ भनेर उकुसमुकुस भयो । खाली समय कार्टुन अध्यनमा लगाए । भारतीय पत्रिकामा आएका कार्टुन खुब हेर्थे । कार्टुन हेर्न काठमाडौंको केशरमहलमा भएको पुस्तकालय र सुन्धारामा भएको भारतीय पुस्तकालय जान्थे । भारतीय पत्रपत्रिका र नेपाली पत्रपत्रिकामा आएको कार्टुन हेरेर रविले धेरै सिके । त्यसपछि काुर्टन बनाउन मात्र नभएर कार्टुनसम्बन्धी लेखिएका पुस्तक पढ्न थाले । भन्छन्, ‘लामो समय अध्ययन र कार्टुन बनाउने अभ्यासपछि कार्टुन बनाउन सक्छु भन्ने आत्मविश्वास आयो ।’

व्यवसायिकताः १ महिना कार्टुन पठाउँदा पनि प्रकाशित भएन
जब आफैँमा कार्टुन बनाउन सक्छु भन्ने आत्मविश्वास भयो, तब रबि हिमालय टाइम्स दैनिकको कार्यालय पुगे । सम्पादक तथा प्रकाशक उज्वल शर्मालाई भेटे । तर पत्रिकाले अुनभव खोज्यो, जुन कुरा रविसँग थिएन । तर उनले ‘कार्टुन बनाउन सक्छु’ भन्दै आत्मविश्वासका साथ भने । पत्रिकाले केही कार्टुनका नमूना मगायो । २ दिन लगाएर ४–५ कार्टुन बनाए । पत्रिकामा कार्टुन र रविको विषयमा छलफल भएछ । पत्रिकाले नियमित कार्टुन पठाउन भन्यो । रविले पठाइरहे तर एक महिनासम्म उनको कार्टुन प्रकाशित भएन । एक महिनापछि रविको मोवाइलमा हिमालय टाइम्सको अफिसबाट फोन आयो । फोन आउँदा रविमा खुसीको सिमा नै थिएन । फोनमा थिए हिमालय टाइम्सका सम्पादक तथा प्रकाशन उज्वल शर्मा । शर्माले रविको कार्टुन पत्रिकामा छपाउने निर्णय गरे । शुरुवातमा दैनिक एउटा कार्टुन तयार गर्न सक्छु भन्ने आत्मविश्वास भए पनि रविलाई पछि भने अप्ठ्यारो हुँदै गयो । दैनिक एउटा कार्टुन तयार गर्नु सजिलो थिएन । उनले भने, ‘६–७ महिना काम गरेर छाडेँ ।’ त्यसपछि रवि केहि साप्ताहिक पत्रिकामा काम गर्न थाले । शुरुमा एउटा मात्र साप्ताहिक पत्रिकामा काम गरे । बिस्तारै अलिअलि बढाउँदै लगे । पछि विस्तारै अन्य पत्रिकामा पनि काम गर्दै गए । कुनै हप्ता रवि १० वटासम्म कार्टुन बनाउँथे । २ वर्ष विभिन्न साप्ताहिक पत्रिकाको अनुभवपछि उनी ‘आर्थिक दैनिक’मा काम गर्न थाले । दैनिक छापिने कार्टुन अर्को आर्थिक पत्रिका ‘कारोबार’का सम्पादकले नहेर्ने कुरै भएन । ‘आर्थिक दैनिक’मा काम गरेको केही समयमै रविलाई कारोबार दैनिकबाट कामका लागि अफर आयो । त्यो अफरलाई सहजै स्वीकार गर्दैै उनले त्यहाँ ८ वर्ष बिताए ।

सम्पादकहरुसँगको अनुभव
शुरुमा हिमालय टाइम्सका सम्पादक हुनुहुथ्यो उज्ज्वल शर्मा । ‘म नयाँ भएर पनि हो कि, उहाँले काम गर्न एकदमै उत्प्रेरणा दिइरहनुहुथ्यो,’ रवि भन्छन्, ‘आफैँ कार्टुनिस्ट भइसकेको थिइनँ, अवसरका लागि उज्वल सरलाई धन्यवाद भन्छु ।’ जब रवि ‘आर्थिक दैनिक’मा आए, त्यहाँका सम्पादक प्रह्लाद रिजाल थिए । त्यहाँ पनि उनले एकदमै सहज तरिकाले काम गरेको बताउँछन् । त्यसपछि रवि कारोबार दैनिकमा गए । त्यहाँ उनले ४ जना फरक सम्पादकसँग काम गर्ने मौका पाए । कारोबारमा जाँदा रविले विजयबाबु प्रधानसँग काम गरे । उहाँसँग रबिको कार्यकाल एकदमै राम्रो रह्यो । प्रतीक प्रधान कार्टुनप्रति राम्रो बुझाइ भएको सम्पादक थिए । उनीसँग काम गर्दा सिक्ने मौका पाए । सञ्जय न्यौपाने जाति मान्छे थिए । उनका पालामा स्वतन्त्र ढंगले काम गर्न पाए । उनी कला र सिर्जना कदर गर्थे । उनले कहिल्यै कार्टुन यस्तो बनाऊ उस्तो बनाऊ भनेनन् । प्याच्च कार्टुनको आइडिया नदिने सम्पादक मलाई बौद्धिक लाग्छन । दिनेहरु फाइँफुट्टा ।

अर्का सम्पादक थिए पुष्पराज अधिकारी । उनी गज्जबका सम्पादक थिए । उनी उच्च व्यंग्य चेतका मान्छे थिए । उनी मेरा कार्टुन खुब रुचाउँथे । पत्रिकामा पहिलो स्थान कार्टुनलाई नै दिन्थे । उनी पत्रिकामा कार्टुनलाइ चाहेको भन्दा ‘राम्रो स्पेस’ दिन्थे । उनीसँग ६–७ महिना काम गरे । एक दिन पनि कार्टुन बनाउन छुटेन । कुबेर चालिसेसँग पनि काम गरे । उनी पनि पत्रिकामा कार्टुनलाई महत्व र स्पेस दिन कन्जुस्याइँ गर्दैन थिए ।

११ वर्ष कार्टुन बनाउनेक्रममा रविलाई सम्पादकको चेपुवामा पर्नु परेन । ‘मानिसलाई बाँधिदियो भने ऊ सिर्जनात्मक बन्नै सक्दैन,’ रवि भन्छन्, ‘जब मानिसलाई दबाब वा प्रेसर हुँदैन, तबमात्र मानिस सिर्जनात्मक बन्न सक्छ ।’

कसरी बनाइन्छ कार्टुन
शुरुवाती चरणमा कार्टुन कसरी बनाइन्छ होला भनेर चकित रवि पछि आफैँ कार्टुन बनाउने भए । कार्टुन बनाउँदा शुरुवातमा अवधारणामा ध्यान दिनु पर्ने रविको तर्क छ । ‘कन्सेप्ट दिमागमा आइसकेपछि त्यसलाई चित्रमा उतार्ने कुरा हुन्छ,’ रवि भन्छन्, ‘कहिले आफूले विषयबस्तु खोज्दाखोज्दै पनि फेला पर्दैन, तर कुनैबेला विषयबस्तुहरु नै आफूलाई धकेल्दै आइपुग्छन् ।’ समसामयिक घटना, समाचार, विचार, विश्लेषणबारे ज्ञान लिएपछि त्यसले कार्टुन बनाउन मद्धत गर्छ । समाचार पढिसकेपछि पनि त्यसलाई फरक तरिकाले सोचेपछि मात्र कार्टुन तयार हुन्छ ।

प्रधानमन्त्रीको कार्टुन
पत्रपत्रिकामा प्रायःजसो प्रमुख पदमा आसिनको कार्टुन छापिन्छ । त्यसमा प्रधामन्त्री पनि पर्ने नै हुनुभयो । रविले पनि प्रधानमन्त्रीको कार्टुन धेरै बनाए । सबैभन्दा धेरै पुष्पकमल दाहाल प्रचण्डको कार्टुन बनाएको अनुभव सुनाउँदै रविले माधवकुमार नेपाल, गिरिजाप्रसाद कोइराला, केपी ओली, शेरबहादुर देउवालगायत अन्य राजनीतिक, आर्थिक तथा सार्वजनिक पद धारण गरेका व्यक्तिको कार्टुन पनि बनाएको बताए । कार्टुन बनाएकै आधारमा आजसम्म पनि कुनै पनि उच्चपदस्थ व्यक्तिवाट उहाँलाई फोन आएको छैन । भन्छन्, ‘बनाउन त धेरै बनाइयो तर अहिलेसम्म कसैको फोन आएन ।’

आफैँलाई मन परेको कार्टुनः
रविलाई बनाएकामध्ये आफैँलाई मन परेको कार्टुन औँलामा गन्न सकिने मात्र छन् । उनी भन्छन्, ‘भूकम्प आउँदा जनताको बिग्रिएको आर्थिक अवस्था र एनजिओहरुको सुध्रिएको अवस्थाबारेको कार्टुन एकदमै मन परेको थियो ।’ विश्वकपका समयमा प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई व्यङ्ग्य गर्दैै बनाएको कार्टुन पनि रविलाई मन परेको थियो ।

कार्टुन बनाउने तरिकामा आएको परिवर्तन
पुरानो तरिकामा पनि कार्टुन बनाएका रविले अहिले कार्टुन बनाउने तरिका धेरै सजिलो भएको बताए । २०६४ मा कार्टुन बनाउँदा हातले लेखेर बनाउनु पर्ने भए पनि अहिले आइप्याडमा कार्टुन बनाइन्छ । हातले बनाएका कार्टुनलाई कलर गरी पछि स्क्यान गरेर मात्र पत्रिकमा प्रिन्ट गरिने भएकाले पहिला कार्टुन बनाउन झन्झटिलो भएको रविको तर्क छ । तर अहिले एउटा आइप्याडमा सम्पूर्ण कार्टुन बनाएर त्यसको फोटो पठाइदिए पुग्छ ।

कार्टुनिस्ट बन्न चाहनेलाई सुझाव
कार्टुनिस्ट बन्न पहिलो कुरा व्यंग्य चेत हुन जरुरी छ । कुनै विषय, घटना अनि प्रवृत्तिलाई व्यंग्यात्मक रुप दिने खुबी जरुरी छ । सँगै त्यसबारे उसको मौलिक दृष्टिकोण र विचार हुन जरुरी छ । यति भएपछि उसँग चित्रकलाको ज्ञान हुनु आवश्यक छ । जुन सिकेर जानिने कुरा हो । त्यसपछि आउँछ अभ्यास । कार्टुनकै कुनै स्पेसल कोर्स छैन नेपालमा । सिक्ने अभ्यासबाटै हो ।

कार्टुनिङमा प्रवेश गर्न, यसैमा जम्न हतियार भनेकै राम्रो कार्टुन बनाउन सक्ने कला हो । हातमा बन्दुक भएपछि अवसर र मौका हेरेर जता पड्काए पनि भयो । अर्थात अवसर छ । सयौँ छापामाध्यम छन् । अनलाइन पत्रिकाको बाढी नै छ । त्यो भन्दा पनि ठूलो कुरा कार्टुन मन पराउने लाखौँ पाठक छन् । यस हिसाबमा कार्टुन र कार्टुनिष्टको भविष्य राम्रो छ ।

‘व्यंग्य मान्छेभित्रको उत्कृष्ट चेतना हो, जसले हसाउने तागत राख्दछ,’ रवि भन्छन्, ‘एउटा कार्टुनिष्टका रुपमा भन्नुपर्दा यो कार्टुनको आत्मा हो । जसका कारण एउटा चित्रले कार्टुनको हैसियत प्राप्त गर्दछ ।’

थप्छन्, ‘कार्टुन एउटा कला हो, यसमा रेखा हुन्छ, रंग हुन्छ, पात्रको अतिरञ्जनापूर्ण रुप हुन्छ, कम्पोजिसन हुन्छ । अनि, शब्दको कलापूर्ण संयोजन पनि हुन्छ ।’

यो हास्यव्यङ्ग्य हो । किनकी यसमा मान्छेलाई हसाउने गुण हुन्छ । अखबारको एउटा अंग भएकाले पत्रकारिताको एक विधा हो । दैनिक जीवनका वास्तविक घटनामै आधारित भए पनि यो फिक्सन हो, किनकी यसमा काल्पनिक कथाबस्तु र संवाद हुन्छन् । यति बुझ्ने मानिस पक्कै पनि कार्टुन क्षेत्रमा रमाउन सक्छ, अरुलाई पनि प्रभावित पार्ने कार्टुनिष्ट बन्न सक्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

२०७५ पुस ४ गते जनता टेलिभिजनमा प्रसारण हुने कार्यक्रम तालिका बिहान ५ः०० स्टेशन आइडी/राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ…

कञ्चनपुर । भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ…

शिव अधिकारी यदुवंशी काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक…

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–६ चापटोलकी सुजाता चेपाङको मन छियाछिया भएको छ । आँगनमा छोरा राखेर पानी भर्न जाँदा उनको…

काठमाडौं । सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानलाई पूर्णता दिएको छ । प्राज्ञ परिषद् कुलपतिः गंगाप्रसाद उप्रेती उपकुलपतिः डा.जगमान गुरुङ सदस्य सचिवः…

लोकेन्द्रप्रसाद जोशी दार्चुला । अपी हिमाल, व्यास गाउँपालिकालगायत उच्च पहाडी र हिमाली क्षेत्रमा यति बेला चिसो बढेको छ । त्यहाँको…