प्रमोद कुमार शाहजनकपुरधाम । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको चौथो दिन सोमबार जनकपुरधाममा भगवान रामको तिलकोत्सव सम्पन्न भएको छ ।
जानकी मंन्दिरवाट बाजागाजा सहित मंन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा हजारौँको संख्यामा साधुसन्त, महन्थ, योगी, सन्यासी, प्रशासक, जनप्रतिनिधि तथा सर्वसाधारण भक्तजनहरुको टोली राममंन्दिरमा आयोजना गरिएको समारोहमा पुगेर भगवान रामको तिलक गर्ने काम सम्पन्न गरेको छ । समारोहमा सहभागि हुनका लागि जानकी मंन्दिरवाट गएको तिलकोत्सव गरिएको हो ।
टोलीलाई राममंन्दिरका तर्फवाट मंन्दिरका महन्थ राम गिरी तथा महावीर युवा कमिटीका सदस्यहरुले हार्दिकतापूर्वक स्वागत गरेका थिए । जानकी मंन्दिरवाट मिथिलाका नरेश राजा जनकको प्रतिनिधित्व जानकी मन्दिरका महन्थ राम तपेश्वरदासले गरेका थिए भने अयोध्याका नरेश दशरथको प्रतिनिधित्व राममंन्दिरका महन्थ राम गिरीले गरेका थिए । मिथिलाको परम्परा अनुसार भगवान रामको तिलकका लागि जानकी मंन्दिरवाट १ सय ८ भार (कोशेली) राम मन्दिर लगिएको थियो । भगवान रामको तिलकोत्सव पछि दुवै मंन्दिरका महन्थले एक अर्कासँग अंकमाल गरि सम्धीमिलन पनि गरेका थिए ।
कार्यक्रममा मिथिलाका महिलाहरुले लोकभाकामा विभिन्न प्रकारको हँसी ठट्टा तथा सभ्य भाषामा गिती गाली पनि गरेका थिए । यस पटक भारतको अयोध्यावाट विशिष्ट साधुसन्त तथा महन्थहरु आएका कारण मैथलानी महिलाहरुले मिथिलाको साँस्कृतिक गितहरु पनि गाएका थिए । यसका साथै हरिद्वार, ऋषिकेश, बनारस तथा नेपालका विभिन्न धार्मिक स्थलहरुवाट पनि साधुसन्तहरु जनकपुरधाम आएर तिलकोत्सव समारोहमा सहभागि भएका छन ।
उता तिलकोत्सव समारोहको कार्यक्रम हेर्नका लागि भारी संख्यामा श्रद्धालु भक्तजनहरु तिलकोत्सव समारोह स्थल रहेको राममंन्दिरको रामवाग क्षेत्र तथा वाहिरको सडक वरपर सहभागी भएका थिए । यसअघि सप्ताहव्यापी विवाहपञ्चमी अन्तर्गत नगर दर्शन, फूलवारीलिला तथा धनुषयज्ञ सम्पन्न भैसकेको छ । मंगलवार २५ गते मटकोर र वुधवार २६ गते स्वयम्बर तथा शुभ विवाह उत्सव तथा २७ गते रामकलेवा गरेर महोत्सवको समापन गरिने कार्यक्रम छ ।
यस पटक विवाहपञ्चमीमा व्यापक सहभागिता रहने अनुमान गरिएको छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आफै २६ गते जनकपुरधाममा विषेश विमानले आउन लागेका कारण तीर्थयात्रीको संख्यामा ब्यापक बढोत्तरी भएको छ ।