आशिष बहादुर सिंह बझाङ। तल्कोट गाउँपालिका १ खातीगाउँकी ३४ वर्षीया विन्दु खातीले आफ्नो जीवनको २० वर्ष हरेक महिनाको ५ दिन गोठमै बसेर बिताउनुभयो । गोठमा बस्दा उहाँले भोगेको दुःख भनि साध्य छैन । उहाँ भन्नुहुन्छ ‘कसैले दिएन भने तिर्खा लागेको बेला पानी पनि खान पाइँदैन थियो ।’ लामो समय गोठमा बसेका कारण चिसो लागेर अहिले पनि उहाँका हातखुट्टा सुन्निने गर्छ ।
गाउँभन्दा अलि टाढा भएको एक मात्र साँघुरो छाउ गोठमा कहिले गाउँभरीका महिला बस्न ठाउँ नहुने, कहिले एक्लै डराइ–डराइ बस्नुपर्ने, गोठमा ठाउँ नभएको दिन खेतको भित्तामा पाल टाँगेर बस्नुपर्ने तीता क्षणहरु उहाँको मस्तिष्कमा अझै पनि ताजा छन् ।
महिनावारी भएको समयमा घर नजिक आउनु हुँदैन, पानीका धारामा छुनु हुँदैन, देउता रिसाएर अनिष्ठ हुन्छ भन्ने मान्यताले जरो गाडेको समाजलाई चिरफार गर्ने उनको ठुलो भुमिका रहेको स्थानीयको भनाई छ ।
अहिले गाँउका धेरै महिला घरभित्र बस्न थालिसकेका छन् । एक पछि अर्को गर्दै महिलाहरुले घरभित्र बस्ने र पहिलेझैं खान थालेपछि अहिले यहाँका धेरै जसो महिलाहरुले छाउपडी बार्न छोडिसकेका छन् ।
चौरगाँउकी रमकला विक भन्नुहुन्छ ‘छाउ भएको समयमा दही दुध खाँदा गाई भैँसी मर्ने, दुध नदिने, सन्तान नहुने भन्ने चलन थियो । शुरुमा एकदमै डर लागेको थियो । पहिला घर भित्र बस्यौँ, बिस्तारै दुध दही खान शुरु गर्यौं, कसैलाई केही भएन ।’ ढिलै भए पनि छाउप्रथा भनेको नराम्रो हो भनेर बुझ्न पाएकोमा खुशी लागेको उहाँ बताउनुहुन्छ ।
महिनावारी भएकी महिलालाई विभेद गर्ने चलन भए पनि पछिल्लो समय बझाङ जिलामा छाउपडीको विरोध गर्ने महिलालाई विभिन्न संघ संस्थाले सम्मान गर्न थालेको छ ।
छाउपडी प्रथा, मदीरा न्युनिकरण र महिला हिंसा न्युनीकरणका लागि जिल्लाका विभिन्न गाउँपालिका तथा वडापालिकाले पनि विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरिरहेका छन् । तल्कोट गाउँपालिका १ का वडा अध्यक्ष गोपाल बहादुर धामी भन्नुहुन्छ ‘यस्ता जनचेतनामूलक कार्यक्रमले छाउपडी प्रथाको न्युनिकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।’
महिनावारी हुँदा घरभित्र बस्ने १२ जना महिलालाई स्थानीय महिला कल्याण बचत तथा ऋण सहकारी संस्था, महिला अधिकार मञ्च, तल्कोट गाँउपालिका १ को कार्यालयले सम्मान पनि गरेको वडा अध्यक्ष धामीले बताउनुभयो । गएको वर्ष पनि छाउ भएको बेला घरभित्रै बस्ने तल्कोट गाउँपालिका १ का घट्टेबगर गाउँका १२, बेडालका १२, गिरसयल, मौभेरा, खातीगाउँ, नुवापानीका ३÷३ जना, भाटगाउँ र असिसैनका २, सेरागाउँका ६ र चौरका १ गरी ४७ जना महिलाहरुलाई सम्मान गरिएको थियो ।