–दीपेन्द्र दोङ तामाङ
सबैभन्दा पहिला त म हामी सबैलाई हार्दिक बधाइ दिन चाहन्छु । बधाइ यस अर्थमा कि मुलुककै पहिलो र हालसम्मकै एक मात्र निजी लगानीको सामुदायिक प्रकाशन तथा सञ्चार कम्पनीलाई व्यावसायिक रुपमा सफल र आम जनता माझ विश्वसनीय कम्पनीका रुपमा उभ्याउन हामी सफल भएका छौं । म यस कम्पनी अन्तर्गतको जनता टेलिभिजनको स्थापना कालदेखि नै आवद्द छु । त्यतिखेर एकातिर टेलिभिजनहरुको भीडमा पृथक पहिचान बनाउन र अर्कोतिर व्यवसायिक रुपमा सफल हुन निकै ठूला चुनौति थिए,हाम्रा सामु । तर सञ्चालक समितिको प्रष्ट भिजन,नेतृत्व पंक्तिको कुशल व्यवस्थापन र कर्मचारी साथीहरुको स्वस्फूर्त परिश्रमले गर्दा टेलिभिजन सञ्चालनको दुई वर्ष नपुग्दै जनता टेलिभिजन आज नेपालको एउटा स्थापित टेलिभिजन बन्न सफल भएको छ ।
पत्रकारिताका क्षेत्रमा लामो समयदेखि क्रियाशील अनुभवी, योग्य र दक्ष पत्रकारहरुले भरिपूर्ण जनता समाचार कक्ष सदैव गहन र ओजपूर्ण समाचारको खोजी र प्रसारणको अविराम अनुकरणीय अभ्यास जारी छ । पृथक र शालीन शैलीका मनोसूचनात्मक कार्यक्रमहरु जनता टेलिभिजनको ब्राण्ड पहिचानका रुपमा स्थापित भैसकेको छ ।
यही सफलताको उत्साहलाई कायम राख्दै थप उर्जा,जोश र सपना मिसाएर जनता प्रसारण तथा प्रकाशन लिमिटेडले चौथो साधारण सभाको सन्दर्भ पारेर आजकै मितिदेखि रेडियो जनता ८९.१ मेगाहर्जको प्रसारण शुभारम्भ गरेको छ । रेडियो जनताको यो प्रसारण प्रारम्भसँगै हाम्रो कम्पनी अनलाइन समाचार पोर्टल,टेलिभिजन,रेडियो र युट्युव च्यानल गरी सञ्चारका प्रायः सबै आधारभूत माध्यमहरुको धनी संस्थाका रुपमा दरिएको छ । यसले विग मिडिया हाउस हुनुको आत्मगौरव थपिदिनु स्वभाविक हो,यसमा हामी गौरवन्दितछौं ।
सञ्चार माध्यमहरुमध्ये पनि सबैभन्दा प्रभावकारी माध्यम रेडियो नै हो भन्नेमा म सहमत छु । किनभने सञ्चालनको हिसावले सबैभन्दा सजिलो र प्रभावकारी मिडिया रेडियो नै हो । अझ नेपाल जस्तो मुलुकमा रेडियोको भूमिका के छ ? भन्नेबारेमा मैले शायद केही भनिरहन नपर्ला ।
आज रेडियो जनताको प्रसारण शुभारम्भ गरिरहँदा मुलुकभर ५०० को हाराहरीमा रेडियोहरु घन्किरहेका छन् । काठमाडौं उपत्यकामा मात्र हामीभन्दा अघिबाटै ५२ वटा रेडियोहरु प्रसारण भैरहेका छन् । मैले पाएको जानकारी अनुसार अझै ४ वटा रेडियो स्टेशन लाइसेन्स पाएर प्रसारणको तयारीमा छन् । अर्थात रेडियो जनताले काठमाडौं उपत्यकाभित्रै ५६ वटा रेडियोहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । तर पनि हामी रेडियो जनतालाई छोटो समयमै ती रेडियोहरुको भिडमा पृथक र व्यवसायिक रुपमा सफल रेडियो बनाउने आत्मविश्वासका साथ लागिपरेकाछौं । किनभने निजी क्षेत्रको पब्लिक कम्पनी हुनु र सञ्चालक समितिको प्रोग्रेसिभ कर्पोरेट कम्पनीको अवधारणाले हामीलाई कुन बाटो अवलम्बन गर्ने र हाम्रो गन्तव्य कहाँसम्म हो भन्ने तय गर्न सहज भएको छ ।
एफएम व्याण्डको ८९.१ मेघाहर्जमा प्रसारण हुने रेडियो जनताले साँच्चिकै नेपाली जनताको आवाज बोल्नेछ । राज्य दृष्टिकोणमा जस्तै हाम्रो नजरमा पनि सुदुर भन्ने शब्द हुनेछैन । कुनै वर्ग र आस्थाविहीन रेडियोका रुपमा सत्य समाचार,प्रष्ट विचार र शालीन मनोरञ्जन रेडियो जनतामा सुन्न पाउनुहुनेछ । हामी व्यवसाय मात्र होइन सामाजिक उत्तरदायित्वलाई वहन गर्नेछौं । यसले गर्र्दा श्रोतामा रेडियो जनताप्रति अपनत्व उत्पन्न हुने विश्वास गर्दछौं ।
काठमाडौंमा एक हजार वाट प्रसारण क्षमताबाट शुरु गरिएको रेडियो जनतालाई एक वर्षभित्र सबैभन्दा बढी श्रोताले सुन्ने विश्वसनीय रेडियो बनाउने महत्वाकांक्ष हामीले राखेका छौं । निकट भविष्यमै देशका सातै प्रदेशमा आफ्नै फ्रिक्वेन्सीमा रिले स्टेशन सञ्चालन गर्दै जाने लक्ष्य पनि लिएको छ ।
(रेडियो जनताको प्रसारण शुभारम्भका अवसरमा रेडियो प्रमुख दीपेन्द्र दोङ तामाङले राख्नुभएको मन्तव्य )