शिव अधिकारी यदुवंशीकाठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालको अध्यक्ष मण्डलको सदस्यबाट संयोजक बनेका राजेन्द्र महतोले एक महिनासम्म पार्टीको बैठक बसाउन सक्नु भएको छैन । महतो नेतृत्वले पार्टीको बैठक बसाउन नसक्दा पार्टी गतिविधि शून्य भएको छ । मंसिर ४ गतेको बैठकबाट महन्थ ठाकुरलाई हटाएर महतो संयोजक बन्नु भएको हो ।
यो एक महिनामा महतोले बैठक बसाउन नसक्नुमा महन्थ ठाकुरको असहयोग भएको महतो निकट नेताहरुको बुझाइ छ । महतो निकट स्रोतले भन्यो, ‘पूर्व संयोजक ठाकुरले विभिन्न बहाना बनाएर लगातार बैठक तोकिएका दिन अनुपश्थिति जनाउँदा बैठक बस्न सकेको छैन । एक अर्थमा भन्ने हो भने महतोलाई ठाकुरले बहिस्कार गरिरहनु भएको छ र ठाकुरलाई मनाउन नसक्दा महतोले बैठकसमेत बसाउन सक्नु भएको छैन ।’
यति मात्र होइन, कुनै बेला ठाकुरको विपक्षमा उभिने अध्यक्ष मण्डलकै सदस्य राजकिशोर यादवको एकाएक ठाकुरसँग सम्बन्ध सुमधुर भएको छ । यसले महतोलाई नै अप्ठेरो परेका छ । यादवको सहयोग पनि जुटेपछि ठाकुर पार्टीमा अरु बलियो बन्नु भएको छ ।
उसो त, ठाकुरको पुरानो पार्टी तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का नेताहरुले महाधिवेशन लक्षित गर्दै लगातार पुरानो पार्टी कार्यालय र विभिन्न स्थानमा बैठक डाकिरहेका छन् । भेला गरिरहेका छन् । यसले ठाकुर नै बलियो देखिएका छन् ।
ठाकुर र महतोबीच सम्बन्ध टाढिँदै जाँदा राजपामा अनेक गुट उपगुट निर्माणक्रम बढेको छ । यही मौका छोपेर अध्यक्ष मण्डलकै सदस्य महेन्द्र राय यादव पनि अब एक महिनापछि संयोजक बन्ने तयारीमा लागेको पाइएको छ । अध्यक्ष मण्डलकै अर्का सदस्य अनिलकुमार झा भने नदेखिने ढंगले ठाकुरलाई पुनः अध्यक्ष र महतोलाई असफल बनाउने खेलमा लागेको गाइँगुइँ पनि राजपा वृत्तमा छ । यसमा झालाई तत्कालीन तमलोपाका नेताहरुको साथ रहेको बताइएको छ ।
यसैले महतोले विभिन्न मितिमा डाकेको बैठक समेत बस्न सकेको छैन । राजपाले छठपछि बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेको थियो । तर छठपछिको बैठकमा संयोजक परिवर्तनसँगै राजपामा बढेको विवादका कारण महतोलाई चौतर्फी प्रहार भएको छ । महतोको एक महिना नेताहरु फकाउँदैमा बिते पनि नतिजाविहीन बनेको छ । फाइल तस्बिर ।