तीर्थ न्याैपानेकाठमाडौं । नेपाल कम्युनिष्ट पाटी(नेकपा) स्थायी कमिटी बैठकको प्रारम्भमा नेतृत्वको कार्यशैलीविरुद्ध खनिएका नेताहरु उतर्राद्धमा खुम्चिएका छन् । तर वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनाल र सचिवालय सदस्य बामदेव गौतमले भने नेतृत्व विसंगतिविरुद्धको खबरदारी अभियानलाई निरन्तरता दिनुभएको छ ।
पार्टी मुख्यालय धुमबाराहीमा साताअघि भएको स्थायी कमिटीको तेस्रो बैठक निश्कर्ष चरणमा छ । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा शनिबारसम्म ४५ सदस्यीय स्थायी कमिटीमा ४४ जनाले धारणा राखिसकेका छन् । अब परराष्ट्रमन्त्री तथा स्थायी कमिटी सदस्य प्रदिप ज्ञवालीले धारणा राख्न बाँकी छ । उहाँले आफ्नो धारणा आइतबार राख्नु हुनेछ । बैठक चलिरहँदा मन्त्री ज्ञवाली अमेरिका भ्रमणमा हुनुहुन्थ्यो । त्यहीकारण ढिलाई भएको हो ।
पार्टीलाई सही ट्रयाकमा हिडाउने नेपाल, खनाल र गौतमको अभियानलाई पछिल्लो पटक स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र घनश्याम भुसालसहितका अन्य नेताले पनि पछ्याउनु भएको छ
बैठकमा स्थायी कमिटी सदस्य धारणा राख्न २० मिनेट समय दिइएको थियो । २० मिनेट कट्ना साथ समसय सकिएको जनाउ घण्टी बज्थ्यो । घण्टी बजाउने जिम्मा गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा बादललाई दिइएको थियो । नेताले बोलेको टिप्ने जिम्मा महासचिव विष्णु पौडेलले लिनु भएको थियो । केही नेताले बोलेको कुनै कुनै प्रसङ्ग प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले पनि टिप्ने गर्नुभएको थियो ।
आइतबारको बैठकमा मन्त्री ज्ञवालीको धारणापछि वरिष्ठ नेता माधवकुमार नेपालले केहीबेर बोल्ने कार्यसूचि छ । त्यसपछि स्थायी कमिटी सदस्यहरुले अहिलेसम्म सोधेका प्रश्न र जिज्ञाषाप्रति अध्यक्षद्वय ओली र दाहालले जवाफ दिनुहुनेछ । अध्यद्वयको जवाफपछि बैठकको निकर्षसहितको प्रतिवेदन तयार हुनेछ ।
अध्यक्षद्वय ओली र दाहालले बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदन परिमार्जन हुने भएको छ । प्रतिवेदन स्थायी कमिटी सदस्यहरुको सुझावको आधार परिमार्जन गर्न लागिएको हो ।‘प्रतिवेदन स्थायी दस्तावेज होइन, त्यसलाई आवश्यकताका आधारमा परिमार्जन सकिन्छ र गर्नु पनि पर्छ’ स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले शनिबारको बैठकपछि सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘सबैको धारणा सुनेपछि प्राप्त सुझावका आधारमा अध्यक्षद्वयले आफ्नो प्रतिवेदन परिमार्जन गर्नुहुनेछ । प्रतिवेदन परिमार्जन हुन्छ तर पुर्नलेखन चाँही हुँदैन ।’
गौतमको अडान यथावत्लामो प्रतिक्षापछि भएको स्थायी कमिटी बैठकमा नेतृत्वको निकै आलोचना भयो । बैठकको पहिलोदिनमै अध्यक्ष ओली र दाहालले राजनीतिक प्रतिवेदन पेश गरे लगत्तै सचिवालय सदस्य बामदेव गौतमले फरक मतसहितको छुट्टै प्रतिवेदन पेश गर्नुभएको थियो । तर उहाँले प्रस्तुत गरेको फरकमत सचिवालयबाट सदर हुन सकेन । आफूले पेश गरेको फरक प्रतिवेदनमा वरिष्ठ नेता माधवकुमार नेपा तथा झलनाथ खनाल, र प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन गर्ने नेता गौतमको आशा थियो । गौतमको प्रतिवेदनलाई उहाँहरुले समर्थन गर्नु भएन । तर पनि गौतमले हरेस खानु भएन । उहाँ नेतृत्व विकृति विरुद्धको अडानमा अडिक हुनुभयो । नेता गौतमले आफ्नो अवधारणा सचिवालयबाट सदर नभएपछि त्यसलाई स्थायी कमिटीमा पेश गर्नुपरेको बनाउनु भएको छ । फरक अवधारण प्रस्तुत गर्दै गौतम बैठकमा नेतृत्वविरुद्ध कड्किनु भयो । उहाँको कड्काईले बैठकमा केहीबेर सन्नाटा छायो । त्यसबाट नेतृत्व झस्किएको छ ।
खनालको साथवरिष्ठ नेता खनालले गौतमको फरकमतलाई सचिवालयमा बेवास्ता गरे पनि स्थायी कमिटी बैठकमा भने त्यसमा साथ दिनुभएको छ । पूर्वप्रधानमन्त्री खनालले बैठकमा गौतमसहित अन्य नेताहरुहरुको सुझावलाइृ समेटेर प्रतिवेदन पुर्नलेखन नै हुनुपर्ने धारणा राख्नुभएको छ । बैठकमा स्थायी कमिटी बैठकपछि तयार हुने प्रतिवेदनमा उल्लेख गरिएका बिषयवस्तु कार्यकर्ता पंक्तिसम्म पुर्याउन प्रशिक्षण संचालन गर्नुपर्ने उल्लेख गर्नुभयो ।वरिष्ठ नेता नेपाल, खनाल र गौतमले थालेको नेतृत्व बिसंगतिविरुद्धको खबरदारीमा पछिल्लो पटक अन्य नेताहरुले साथ दिन थालेका छन् । पार्टीलाई सही ट्रयाकमा हिडाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र घनश्याम भुसालसहितका अन्य नेताहरु पनि त्यसमा जोडिनु भएको छ । नेताद्वय पाण्डे र भुसाल योजना तर्कसहित प्रस्तुत हुन थाले दोस्रो पुस्ताका अन्य केही नेताहरुले पनि त्यसमा समर्थन जनाउन थालेका छन् । जसको कारण आम कार्यकर्तामा पाण्डे र भुसालको प्रभाव बढ्ने स्थिति देखिएको छ ।
नेपालको आक्रोस कायमैपूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई विधिसम्वत ढंगले संचालन गर्न अध्यक्षद्वय ओली दाहाललाई पहिल्यैदेखि खबरदारी गर्दै आउनु भएको छ । नेता नेपाल स्थायी कमिटीको शनिबारको बैठक नेपाल अध्यक्षद्वयको कार्यशैलीप्रति आक्रोशित रुपमा प्रस्तुत हुनु भयो । उहाँ नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाउनुभयो । आत्मप्रशंसा र आत्मनिन्दा दुवै गलत भएको उहाँको धारणा छ। बैठकमा नेता नेपालले पार्टीमा एउटा पक्षलाई सिध्याउने प्रयास भएको भन्दै यसबाट महाभूल हुने चेतावनी दिनुभएको छ ।वरिष्ठ नेताद्वय नेपाल तथा खनाल र गौतम लगायतका नेताहरुले तीब्र असन्तुष्टि जनाएपछि अध्यक्षद्वयको प्रतिवेदन व्यापक रुपमा परिमार्जन हुने स्थिति देखिएको छ ।