काठमाडौं । राष्ट्रिय गौरव उद्योगको रुपमा रहेको बासबारी छाला जुत्ता कारखाना बन्द भएपछि जुत्ता, चपलमा मुलुक पर निर्भर हुँदै गयो । तर केही दशक यता मुलुकमा फेरि जुत्ता उद्योग खुल्न थालेका छन् । उद्योगले कच्चा पदार्थ विदेशबाट ल्याएर विभिन्न ‘ब्राण्ड’का जुत्ता चप्पल उत्पादन गरिरहेका छन् ।
आर्थिक समस्याले विगतमा खाली खुट्टा हिड्नेहरुले समेत अहिले जुत्ता चप्पल लगाउन थालेका छन् । त्यस्तै नयाँ मोडेल आउनासाथ त्यसलाई उपयोग गर्नेहरुको पनि कमी छैन । जसको कारण जुत्ता , चप्पलको माग दिनप्रतिदिन बढ्दो छ । बजारको माग मध्ये ६५ प्रतिशत स्वदेशी उत्पादनले धानेको छ । यद्यपि अझै ३५ प्रतिशत भने विदेशबाट आइरहेको छ ।
जुत्ता फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष कृष्णकुमार फुँयालले स्वदेशी उत्पादनको प्रवद्र्धनमा सहयोग गर्न नहुने कुनै कारण नभएको बताउनुभएको छ ।जनता टेलिभिजनको आर्थिक बहस कार्यक्रम कर्पोरेट टकमा बोल्दै एसोसिएसन अध्यक्ष फुँयालले देश विकासमा रोजगारी सिर्जना गर्न नेपालको फुटवेयर उद्योग सक्षम रहेको भन्दै सरकार सहयोगी बन्नुपर्ने धारणा राख्नुभएको छ ।
बजारको माग मध्ये स्वेदेशी उत्पादनले ६५ प्रतिशत धान्न सफल भएको उहाँको भनाई छ । उपभोक्ता पछिल्लो समय स्वदेशी उत्पादनप्रति विश्वसनीय देखिएको अध्यक्ष फुँयालको बुझाई छ । उत्पादन तथा व्यवसायलाई प्रर्वद्धन गरिए जुत्तामा मुलुक बिस्तारै आत्मनिर्भर हुने उहाँको विश्वास छ । ‘जुत्तामा आत्मनिर्भर हुने प्रयत्नमा छौं ।’ उहाँले भन्नुभयाे, ‘त्यसको लागि ठूलो योजना गर्नु पर्दैन । सरकारले कर्मचारीको ड्रेस अनिवार्य गरेको छ । कर्मचारीले सेतो कमिज र कालो पाइन्ट लगाउनै पर्ने बनाइएको छ । कर्मचारी कमिज र पाइन्टसँगै जुत्ता पनि लगाउँछन् । सरकारले अब उनीहरुले लगानी जुत्ता ‘स्वेदेशी हुनुपर्ने’ भन्ने शब्द मात्र थपिदिए पुग्छ । त्यो शब्द थपे मुलुक जुत्तामा आत्मनिर्भर हुन्छ ।’
अध्यक्ष फुँयालले काठमाडौंको भृकुटीमण्डपमा १२ महिनानै लाग्ने जुत्ता मेलाको भने खुलेर विरोध गर्नुभयो । मेलाका नाममा हुने त्यस्ता विक्रीवितरणले उपभोक्ता ठगिने गरेको भन्दै व्यवसायमा गुणस्तर कायम गर्न आग्रह गर्नुभयो । ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादन’ भन्ने नारासहित भृकुटीमण्डपमा पुष १३ बाट शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी विहिबार सकिएको छ ।