केपी ओली, मुलुकका प्रधानमन्त्री । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष । २०५१ मा नेकपा एमालेको ९ महिने सरकारमा गृहमन्त्री । प्रशासन देशमा शान्ति र सुशासन कायम गर्न सफल थियो । त्यो बेला उखान नै थियो, ‘गृहमन्त्री ओली, चलाउदैनन् गोली ।’ २०५२ मा एमालेको संसदीय विभाग प्रमुख र सार्वजनिक लेखा समिति सदस्य रहनुभएका ओली २०५६ मा प्रमुख विपक्षी दलको उपनेताको जिम्मेवारी बहन गरिसक्नु भएको छ । २०४४ देखि नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य ओली एकीकृतपश्चात् २०४७ देखि एमालेको कन्द्रीय सदस्य र पाँचौँ महाधिवेशन यता स्थायी कमिटी सदस्य हुँदै नवौँ महाधिवेशनमा एमाले अध्यक्ष बन्नुभयो । २०४४ मा उच्चस्तरीय आयोग र असामान्य स्थिति समर्पण नेकपा (माल)ेको अध्यक्ष ओली २०४७ को जनआन्दोलनमा लुम्बिनी अञ्चल इञ्चार्ज हुनुहुन्थ्यो । दासढुंगा छानबिन आयोग र महाकाली सन्धीसम्बन्धी कार्यदल अध्यक्ष ओलीले विभिन्न समयमा एमालेको प्रचार विभाग तथा विदेश विभाग प्रमुखको कार्यभार समेत सम्हाल्नु भयो ।
२००८ साल फागुन ११ गते तेह्रथुमको पोखरी गाविसस्थित अठराईमा जन्मनुभएका ओलीले विद्यार्थी जीवनमा २०२३ देखि वामपन्थी राजनीतिमा झुुुुकाव राख्नुभयो । २०२५ देखि संगठित क्रियाकलापमा संलग्न उहाँले २०२६ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो । झापा विद्रोह संगठन सञ्चालक र झापा आन्दोलन नेतृत्वकारी कमिटी प्रमुखसमेत हुनुभयो । २०२७ मा पक्राउ भएर सातदिनपछि छुटेलगत्तै भूमिगत हुनुभयो । भूमिगत अवस्थाबाटै २०३० मा पुनः पक्राउ पर्नुभयो र त्यसपछि लगातार १४ वर्ष जेल जीवन व्यहोर्नु प¥यो । त्यसअवधिमा चार वर्ष गोलघर, चार महिनाभन्दा बढी समय विभिन्न ठाउँका प्रहरी हिरासतमा बिताउनु भयो । लामो जेलअवधिमा पाइएको दुःख–पीडा र देखे व्यहोरेका थुप्रै अनौठा घटनाका अनुभूति छन् ओलीसँग । तीमध्ये केही अनुभवका प्रसंगः
पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय हुनेक्रममा २०२५–२६ मा २–४ पटक पक्राउ परेँ । तर त्यसबेला समातेर केही समयमा छोडिदिन्थ्यो । कडा यातना दिइदैँनथ्यो । त्यसैले पक्राउको लेखाजोखा भएन । २०२७ मा झापाबाट पक्राउ गरेर सात दिन थानामा राख्यो । त्यो पटक भने सिमेन्टको चिसो भूईंमा कयौँ रात बिताउनुपर्यो । प्रहरीले कुटपिट नगरे पनि चिसोमा बस्नुपर्दा शारीरिक र मानसिक यातना भयो । छुटेपछि फेरि भूमिगत भएँ । भूमिगत अवस्थाबाटै पार्टीमा क्रियाशील रहँदा २०३० असोज २३ गते रौतहटबाट मोहनचन्द्र अधिकारी र मलाइ सँगै पक्राउ गर्यो । पक्रेर पहिला सिधै जेल लग्यो । त्यहाँ २ दिन राखेर फेरि थानामा पुर्यायो ।
पागलहरु फोहोर खेलाउँथे। उनीहरुले दिसामा भएका जुका र कीरा खान्थे । त्यो देखेर हामीलाई हिरिक्क हिरिक्क हुन्थ्यो
थानामा उभिण्डो पारी झुण्ड्याएर हातमा बाँसले पेल्थे । खानासमेत दिएनन् । मंसिर ३ गते त्यहाँबाट वीरगञ्ज पु¥यायो । एकरात थानामा राखेर ४ गते जेलमा हालियो । २ दिन ठूलो र २ दिन सानो गरी ४ दिनसम्म त्यहाँ राखेर मंसिर ८ गते दुवै जनालाई गाडीबाट काठमाडौं ल्याए । मोहनचन्द्रजीलाई सेन्टर र मलाइ भद्रगोल जेलमा हालियो । ११ गते दुवै जनालाई गोलघरमा राखियो । त्यसबेला त्यहाँ साना र अत्यधिक चिसा १०–११ कोठा थिए । हामीलाई त्यहीमध्येका चिसो कोठामा राखिएको थियो । गोलघरमा राजनीतिक बन्दी मोहनचन्द्रजी र म मात्रै थियौँ । अरु सबै पागल राखिएको थियो । पागलहरुले फोहोर खेलाउने र खाने गर्दथे । उनीहरुले दिशामा भएका जुका र कीरा खान्थे । त्याे देखेर हामीलाई पटकपटक हिरिक्क हिरिक्क हुन्थ्यो । पागलहरु रातभर चिच्याउँथे, सुत्न सकिँदैनथ्यो । मुसा पनि त्यत्तिकै कुदिरहन्थे । भूईंको चिसोले ओढ्ने, ओछ्याउने समेत कुहिएको थियो ।
२०३१ मा गोलघरकै अर्को कोठाको पागलहरु हटाएर त्यहाँ क्याप्टेन यज्ञबहादुर थापालाई ल्याइयो । उनलाई टिम्बुरबोटे काण्डमा संलग्न रहेको आरोपमा ल्याइएको रहेछ । त्यही साल प्रहरीले एउटा केटोलाई चोरीको आरोपमा पक्रिएर बाहिर जेलमा ल्याए । उसलाई प्रहरीले भन्यो, ‘भन किन चोरिस् ?’ तर केटो बोलेन । प्रहरीले उसलाई बेस्सरी पिट्यो । केटो बेहोस भएर लड्यो । प्रहरीले अझै बहाना पार्छस् भन्दै फेरि पिट्यो, त्यति पिट्दा पनि केटो नबोलेपछि साँच्चै बेहोश नै भएछ क्यारे भनेर चेक गर्न सेन्टर जेलबाट डाक्टर बोलाइए । त्यो बेला जेलको अस्पतालमा अच्युतबहादुर श्रेष्ठ भन्ने सर्जन थिए । उनी डरलाग्दो बगरेजस्तो देखिन्थे । उनले चेक गरेर ‘केटो बेहोस भएको होइन, बहाना मात्र गरेको हो’ भनिदिए । प्रहरीले सलाई कोरेर बाल्दै उसको आँखी भौँ र परेलामा पोलेर पिटे । केटो गलेर कपडाको झुप्रोजस्तै लल्याकलुलुक भयो । त्यही अवस्थामा उसलाई गोलघरमा हालिदिए । केटो त्यहीँ म¥यो । १२–१४ वर्षको जस्तो देखिने त्यो केटाको नाम के थियो ? कहाँको थियो । थाहा भएन ।
२०३१ को दशैँअघि असोज २५ गते राति लीला दाहाल, ठगी दाहालगायतकालाई जेलभित्रबाट निकालेर नख्खु ओरालोमा लगेर मारियो । हामीले मरेको भोलिपल्ट मात्रै थाहा पायौँ । उनीहरुलाई मारेपछि राजनीतिक बन्दीहरु झन त्रसित र सशंकित हुन थाले । २०३२ वैशाख जेठतिर हामी दुवैजनालाई गोलघरबाट बाहिर निकाले । २०३३ मंसिरमा नख्खु लगे । त्यहाँ २२ दिन राखेर फेरि सेन्टरमै फर्कायो । र, सोझै गोलघरमा हालियो । हामी गोलघरमा छँदा २०३५ माघ २६ गते क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई जेलबाट निकालेर एउटालाई कमला नदीको तीर र अर्कोलाई कोशी किनारमा लगेर हत्या गरियो । उनीहरुलाई त्यसअघि नै फाँसीको सजाय सुनाइएको थियो । अढाई वर्ष गोलघरमा राखेर २०३६ जेठमा बाहिर निकालियो ।
२०३७ चैत १६ गते फेरि नख्खु लगियो । २०३९ माघ ३ गते मलाइ पोखरा, राधाकृष्ण मैनालीलाई भैरहवा र मोदनाथ प्रश्रितलाई रौतहट–वीरगञ्ज सरुवा गरियो । २०४२ कात्तिक २५ गते पोखराबाट स्याङ्जा सारियो । १० महिना त्यहाँ राखेर फेरि पोखरा फर्काइयो । अनि १ महिनापछि पुनः स्याङ्जा लगियो । २०४३ मंसिर १० गते काठमाडौं ल्याएर हनुमानढोकामा राखियो । माघ ३ गतेसम्म त्यहाँ राखेर फेरि भद्रगोल लगियो । २०४४ असार ११ मा त्यहाँबाट छुटेँ । भेटला राजवंशी अस्वस्थ वातावरणकै कारण जेलमै मरे । मलाइ पनि क्षयरोग र अल्सरले खग्रास पारिसकेको थियो । उपचार गरेर बल्लतल्ल निको भयो । उपचार पनि लडेर नै लिनुपर्दथ्यो ।
(तीर्थ न्यौपानेको प्रकाशोन्मुख पुस्तक ‘नेताहरुको जेल अनुभूति’बाट सम्पादित केही अंश)