दुई तिहाइ जनमतसहितको सरकारले जनअपेक्षाबमोजिम काम गर्न नसकिरहेको भन्दै आम जनमानसमा राजनीतिक दल र नेताहरुप्रति वितृष्णा जागेको देखिन्छ । नेपाली जनताको दशकौँदेखिको पर्खाइपछि बनेको कम्युनिष्ट सरकारले समेत गतिलो रफ्तार लिन नसक्दा स्वयम् नेकपाभित्र पनि असन्तुष्टि छ । वास्तवमा राजनीतिक मोह घटेर यसरी अविश्वसनीय बन्नुको कारण मूलरुपमा वैचारिक विचलन नै भएको जिकीर छ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै केन्द्रीय सदस्य टंक कार्कीको । आफूहरुलाई दिइएको जिम्मेवारी निकैअघि पार्टीमा बुझाए पनि पार्टी एकीकरणमा भइरहेको ढिलाइबारे आश्चर्य प्रकट गर्नुहुने नेता कार्कीसँग राजनीति र पार्टीहरुप्रति जनविश्वास घट्नुका कारण, वर्तमान सरकारको सुस्तता र नेकपाभित्र आरम्भ भएको जनवाद र समाजवादबारे बहसलगायतका विषयमा केन्द्रित रही जनता समाचारका लागि नरेश न्यौपानेले गरेको कुराकानीः
कम्युनिष्ट पार्टीका सम्पूर्ण राजनीतिक गतिविधिमा आर्थिक, सामाजिक र सांस्कृतिक मुद्धालाई सामूहिक निर्णय प्रक्रियाबाट तलैदेखि जोड्नेतिर लाग्नुपर्छ । हाम्रा बैठक र कमिटीहरु स्थानीय मुद्धाहरुमा केन्द्रित गर्नुपर्छ । पार्टीमा आरती उतार्ने र शक्तिपूजा गर्ने चलन अन्त्य गर्नुपर्छ । नेपालका वामपन्थीहरुले पाकिस्तानी समाजले किन इमरान खान खोज्यो भन्ने कुराबाट पनि केही सिक्न आवश्यक देख्छु । पार्टीमा जोडिने भनेको सेवा गर्न हो । इतिहास र क्षमता नभएकाहरुबाट सेवाको कल्पना गर्न सकिँदैन ।
पछिल्लो समय नेपालको राजनीति विकृत बन्दै गइरहेको भनेर आइरहेका विश्लेषणलाई कसरी लिनुभएको छ ?कुरा ठीकै हो । यतिबेला हाम्रो राजनीतिमा खासगरी दुईथरि मानिस छन् । पहिलो थरि निकै जिम्मेवारीका साथ आफ्नो दायित्व र कर्तव्य ठानेर सामाजिक एजेण्डा आत्मसात गर्दै सामाजिक मिसनको राजनीति गरिरहेका छन् । दोस्रोथरि चाहिँ सामाजिक मिसनलाई सिँढी बनाएर शक्तिमा पुग्ने स्वभावका छन् । तपाईंले संकेत गरेजस्तो आजको राजनीति विकृत बन्नुका पछाडिको मूल कारण दोस्रोथरिको हालिमुहाली र बोलवाला हुनु हो । केबल लोकप्रियता खोज्ने र व्यक्तिगत स्वार्थ पूरा गर्ने अभिष्टका साथ राजनीतिमा संलग्न भएकाको बिगबिगीले नै राजनीति बिगारिराखेको छ भन्ने लाग्छ ।
अनि कम्युनिष्ट पार्टी र आन्दोलनप्रतिको विश्वास खस्किँदै जानुको कारण चाहिँ ?मेरो विचारमा हाम्रो कम्युनिष्ट आन्दोलन त झन् बुद्धिष्ट सम्प्रदायभित्रको महयानी समुदायले देखाउने प्रवृत्तिजस्तै भएको छ । झट्ट हेर्दा बुद्धिज्मजस्तो लाग्ने तर व्यवहारमा हिन्दु संस्कार अपनाउने महयानी समुदायले औतारी लामाको वकालत गरेजस्तै यहाँ कम्युनिष्ट विचार, आदर्श, आचरण केही नरहँदा पनि आफूलाई कम्युनिष्ट हुँ भन्नेहरु बढिरहेका छन् । कम्युनिष्ट नेताहरुको नाम भ्रष्टाचारसँग जोडिएर आउनु, सामूहिक निर्णय प्रणाली त्यागेर निर्णयहरुको केन्द्रीकरण गरिनु, पार्टीका नेता बन्न कुनै पृष्ठभूमि आवश्यक नपर्नुलगायतका गतिविधि कम्युनिष्ट आचरण विपरीत छन् । वास्तवमा आज जसले पुष्पलाल, मदन भण्डारी र रत्नकुमार वान्तवाको नाम लिइरहेका छन्, के तिनीहरु साँच्चै श्रद्धापूर्वक ती नामहरु लिइरहेका हुन् ? धेरै मान्छेहरु त्यो नक्कली श्रद्धा मात्र हो भन्छन् । त्यसैले देख्दा लोकतान्त्रिकजस्तो देखाउन खोजिए पनि यहाँ सम्पूर्ण पार्टी र आन्दोलनलाई केही व्यक्तिमा केन्द्रीकरण गरेर कमजोर बनाउन खोजिँदैछ । पार्टी भनेको त सामाजिक वाणी दिने संस्था होला नि ? बैठक, निर्णय र छलफल नै नहुने भएपछि पार्टीप्रति कसरी विश्वास बढ्नु ?
यसपटक त तपाईंहरुको स्थायी समितिमा जमेर छलफल भयो नि, कसरी लिनुभएको छ ?कमजोरीलाई करेक्सन गर्ने, पार्टीमा सामूहिक निर्णय गर्ने, एकता प्रक्रियालाई तीब्रताका साथ अघि बढाउने र अबको कार्यक्रम कस्तो बनाउनेलगायतका महत्वपूर्ण विषयमा आशा गरिएजति नभए पनि सकारात्मक छलफल भएको छ भन्ने लाग्छ । तर त्यो बैठकमा नेताहरुको प्रस्तुति हेर्नुहुन्छ भने नेकपामा ‘पावर गेम’को खतरा बढेर गएको देखिन्छ । पार्टीको सामान्य सदस्यले पनि बुझेको हुनुपर्छ कि बैठकमा एक पक्ष लडाकुका रुपमा जाइलाग्ने र अर्को पक्ष पूरै चुप लाग्ने परिस्थितिले भविष्यमा यो पार्टीमा के के हुँदैछ भनेर । तर त्यो बैठकमा व्यक्तिगत निर्णय प्रक्रियामाथि जुन प्रश्नहरु उठाइए वा सामूहिक निर्णय प्रक्रियाको निम्ति जुन आवाज उठे, यसले निजी स्वार्थ पूरा गर्न पार्टी निर्णय गराउन खोज्नेहरु आत्तिएका छन् । यस हिसाबले बैठकलाई सकारात्मक रुपमै लिन सकिन्छ ।
कम्युनिष्ट नेताहरुको नाम भ्रष्टाचारसँग जोडिएर आउनु, सामूहिक निर्णय प्रणाली त्यागेर निर्णयहरुको केन्द्रीकरण गरिनु, पार्टीका नेता बन्न कुनै पृष्ठभूमि आवश्यक नपर्नुलगायतका गतिविधि कम्युनिष्ट आचरण विपरीत छन् । वास्तवमा आज जसले पुष्पलाल, मदन भण्डारी र रत्नकुमार वान्तवाको नाम लिइरहेका छन्, के तिनीहरु साँच्चै श्रद्धापूर्वक ती नामहरु लिइरहेका हुन् ? धेरै मान्छेहरु त्यो नक्कली श्रद्धा मात्र हो भन्छन् । त्यसैले देख्दा लोकतान्त्रिकजस्तो देखाउन खोजिए पनि यहाँ सम्पूर्ण पार्टी र आन्दोलनलाई केही व्यक्तिमा केन्द्रीकरण गरेर कमजोर बनाउन खोजिँदैछ ।
अब प्रसंग बदलौँ, ऐतिहासिक पार्टी एकता प्रक्रियामा आफ्नो तर्फबाट कसरी भूमिका निर्वाह गरिरहनुभएको छ ?तत्कालीन नेकपा एमालेको वुद्धिजीवी संगठनको समन्वय गर्ने जिम्मेवारीमा रहेकाले एकतापछि दुई पार्टीका बुद्धिजीवी संगठनको एकता प्रक्रिया संयोजन गर्ने जिम्मा म र माओवादीबाट दीनानाथ शर्माजीलाई आएको थियो । हामीले सम्भवतः ३ महिनाअघि नै कमिटीको टुंगो लगाएर पार्टीमा बुझाइसकेका थियौँ । अध्यक्षसहितको पूर्ण कमिटीको प्रस्ताव पार्टीमा बुझाए पनि के कति कारणले अघि बढिरहेको छैन ? त्योबारे चाहिँ अनभिज्ञ छु ।
पार्टी एकता प्रक्रियामा ढिलाइ हुनुमा खास कारण के हो ?मेरो विचारमा दीनानाथजी र मैलेजस्तै जिम्मेवारीमा रहेका साथीहरुले एकताका लागि आफ्नो भागमा परेको जिम्मेवारी पूरा गरिसक्नुभएको छ जस्तो लाग्छ । हामीले एकताका निम्ति बुझाएका प्रस्तावको समय हेर्ने हो भने पार्टी एकताको काम गएको भदौ मसान्तमै टुंगिसक्नुपथ्र्याे । तर पार्टीमा बैठक नहुने, छलफल नहुने र संस्थागत गतिविधिको अवरुद्धता एकता छिटो नहुनुको खास कारण हो । वास्तवमा सरकार र पार्टीका कामबीच सन्तुलन नहुनु र एकता कहाँ हो र भिन्नता कहाँ हो ? भनेर छुट्याउने काम नै नभएकाले यस्तो स्थिति आएको हो ।
सरकारका केही मन्त्रीहरुसँग जोडिएर बाहिर आइरहेका घटनाक्रमबारे के भन्नुहुन्छ ?तपाईंले पनि आश्चर्य नै मान्नुभएको होला कि उपेन्द्र यादवहरुको अल्टिमेटम, रेशम चौधरीको शपथ र संसदमा नागरिकता विधेयकमाथि छलफलसँगै सरकारका केही मन्त्रीहरुको नाम जोडिएका घटनाहरु किन एकैसाथ बाहिर आए ? त्यसैले यो सरासर नेपथ्यमा बसेका नेकपा र सरकारलाई तितरबितर पारेर आफ्ना स्वार्थ पूरा गर्न खोज्ने स्यालहरुको भाषा हो । खासगरी भारतीय नाकाबन्दीको प्रतिरोध गरेको तत्कालीन नेकपा एमालेको कदमलाई नरुचाएका शक्तिहरुको चलखेल बढेको ठान्छु म । यसमा हामी सचेत हुनैपर्दछ ।
दुईतिहाइ जनमत प्राप्त सरकारको रफ्तार जनअपेक्षाबमोजिम नबढ्नुको कारण चाहिँ ?आजको नेकपा दुई पार्टी मिलेर बनेको भए पनि सरकार भने पृष्ठभूमिका हिसाबले तीन शक्ति मिलेर बनेको छ । सरकारको रफ्तार नबढ्नुको मुख्य कारण पहिलो त तत्कालीन नेकपा एमालेभित्रका गुटको सन्तुलन नमिल्नु नै हो । सरकार निर्माण गर्दा नै एउटा समूहलाई पूरै निस्तेज गरियो, असन्तुलन बढाइयो र अझ त्यो असन्तुलन कायम राख्ने मात्रै होइन, झन् चर्काइयो । मूलतः यही कारण सरकारले गति लिन सकेन । दोस्रो सरकारका सल्लाहकारहरुले आफ्नो सल्लाह सशर्त हुने कुरालाई बिर्सेर आफूलाई प्रवक्ताकै रुपमा प्रस्तुत गर्दा समस्या देखियो । त्यसैले यस्तै केही महत्वपूर्ण असंगतिहरुले सरकार जनअपेक्षाबमोजिम अघि बढ्न सकेन कि भन्ने लाग्छ ।
पार्टी एकता र सरकार सञ्चालनबारे नेतृत्वले मुख्यतया ध्यान दिनुपर्ने विषय के हुन् ?मुख्य प्रश्न फेरि पनि विचारकै हो । आज पनि वर्गलाई उच्च प्राथमिकतामा राखेर समुदायसँग जोडिने गरी संगठन निर्माणमै जोड दिनुपर्छ । कम्युनिष्ट पार्टीका सम्पूर्ण राजनीतिक गतिविधिमा आर्थिक, सामाजिक र सांस्कृतिक मुद्धालाई सामूहिक निर्णय प्रक्रियाबाट तलैदेखि जोड्नेतिर लाग्नुपर्छ । हाम्रा बैठक र कमिटीहरु स्थानीय मुद्धाहरुमा केन्द्रित गर्नुपर्छ । पार्टीमा आरती उतार्ने र शक्तिपूजा गर्ने चलन अन्त्य गर्नुपर्छ । नेपालका वामपन्थीहरुले पाकिस्तानी समाजले किन इमरान खान खोज्यो भन्ने कुराबाट पनि केही सिक्न आवश्यक देख्छु । पार्टीमा जोडिने भनेको सेवा गर्न हो । इतिहास र क्षमता नभएकाहरुबाट सेवाको कल्पना गर्न सकिँदैन । हो, अब यो कोणबाट बहस थालेर पार्टी र आन्दोलनको पुनर्गठन गर्नतिर लाग्नुपर्छ ।
नेकपाको आगामी कार्यक्रमबारे समाजवाद वा जनवाद भनेर सुषुप्त नै भए पनि जुन बहस आरम्भ भएको छ, यसबारे तपाईंको बुझाइ के हो ?समाजवाद हाम्रो गन्तव्य हो तर आजको यथार्थ होइन । हाम्रो समाजमा आज पनि निजी स्वामित्व हावी छ । पूँजीवादी उत्पादन प्रणाली नै परिपक्व नभइकन समाजवादी प्रणालीको परिकल्पना गर्नै सकिँदैन । नेकपाको दस्तावेजमा पनि जनताको जनवाद भनिएको मात्र छ त्यसको व्याख्या गरिएको छैन । अर्को कुरा, हामीले राजनीतिक क्रान्ति मात्रै पूरा गरेका हौँ, आर्थिक सामाजिक क्रान्ति बाँकी नै छ । यसकारण अबको हाम्रो कार्यक्रम निजीक्षेत्रलाई पनि स्थान दिने तर सहकारी र सार्वजनिक क्षेत्रलाई बढाउँदै लैजाने समाजवादी कार्यक्रम बनाउनुपर्छ ।
सरकारको रफ्तार नबढ्नुको मुख्य कारण पहिलो त तत्कालीन नेकपा एमालेभित्रका गुटको सन्तुलन नमिल्नु नै हो । सरकार निर्माण गर्दा नै एउटा समूहलाई पूरै निस्तेज गरियो, असन्तुलन बढाइयो र अझ त्यो असन्तुलन कायम राख्ने मात्रै होइन, झन् चर्काइयो । मूलतः यही कारण सरकारले गति लिन सकेन । दोस्रो सरकारका सल्लाहकारहरुले आफ्नो सल्लाह सशर्त हुने कुरालाई बिर्सेर आफूलाई प्रवक्ताकै रुपमा प्रस्तुत गर्दा समस्या देखियो ।