Nic

पृथ्वीनारायण शाह यसकारण मनमा गढे

ञ्चायतमा जन्मिएँ । तर व्यवस्थाको रुपमा खासै अनुभव नपाउँदै त्यो ढल्यो । राजासहितको बहुदलीय व्यवस्थामा हुर्किएँ । व्यवस्थाको रुपमा त्यसको भोग गरियो । फेरि दलविहीन जस्तै चरित्रको राजाको मात्र व्यवस्थाको पनि अनुभन गरियो । राजा नै नभएको व्यवस्थाको पनि अनुभव भयो । विद्यालयमा इतिहासको विद्यार्थी, उच्चशिक्षामा राजनीति शास्त्रको पनि विद्यार्थी भएकाले इतिहास र राजनीतिप्रति जिज्ञासा, उत्सुकता औ कुतूहलता स्वभाविक भइहाल्यो ।

पुरुषोत्तम लम्साल

त्यही कुतूहलताको उपचार खोज्दै जाँदा के स्वीकार गरियो भने अरु राजा त त्यस्तै हुन् तर पृथ्वीनारायण राष्ट्रिय एकताको प्रतीक हुन् । त्यहीकारण पृथ्वीनारायण मन पर्यो ।

सन् १७६६ (विस १८२३) मा यदि कप्तान किनलक नेतृत्वको अंग्रेज सैनिक सिन्धुलीगढीमा कील्ला बाँधेर बसेका वीरभद्र पाण्डे र वंशु गुरुंगको मोर्चा पराजित गर्दै जयप्रकाश मल्लको गद्दी सुरक्षार्थ काठमाण्डौ आइपुगेको भए के हुन्थ्यो ?
निःसन्देह ढिलो चाँडो इष्ट इण्डिया कम्पनीले अरु भारतीय राज्यहरुलाई जस्तै दवाव र प्रभावमा राखेर एउटा सहायक सन्धीमा हस्ताक्षर गराउँँथ्यो । त्यस्तो सहायक सन्धीको मस्यौदा कस्तो हुन्थ्यो ? यस्तो हुन्थ्यो;

क. नेपालका राजाको बिदेशी सम्बन्ध कम्पनीको अधीनमा हुनेछ ।
ख.नेपालका राजा आफैंले कुनै युद्ध गर्नेछैनन् र अरु राज्यसँगको सम्बन्ध कम्पनीको परामर्शमा हुनेछ ।
ग. राज्यको राजधानीमा कम्पनीको आवाशीय प्रतिनिधि राखिनेछ ।
घ. कम्पनीको अनुमतिविना कुनै राजाले कोही विदेशीसँग सल्लाह र परामर्श गर्न पाउने छैन । राज्यको सुरक्षाको जिम्मा कम्पनीले लिनेछ । आदिआदि
तर यो हुन पाएन ।‘दक्षीणको बादशाह चतुर छ’ भन्ने बुझेका पृथ्वीनारायणले पहिल्यै किल्ला बाँधे र वंशराज र वीरभद्रको सेनाले पौवागढीमै अंग्रेज सेनालाई धुलो चटाइदियो । आधुनिक अखण्ड नेपालको अभियान मूर्तिकृत हुन बाटो खोल्ने यो ठूलो कडी बन्यो ।
यसैले पृथ्वीनारायण शाह मन पर्छ ।

सज्जनहरु इतिहास केलाउन भन्दा नंग्याउन अभिषप्त छन् । नेपाल कहिल्यै सिंगो थिएन र छैन भन्ने स्थायी कोणबाट तिनीहरुले गर्ने सस्ता र बिकाउ टिप्पणी एकाध दिन बिक्नु र हराउनु आकस्मिकता होइन । पोखराको साहित्य उत्सव हुन् या शहरका तामसी भोज, यस्ता कुरा आइरहन्छन् । सिके लालहरु धार्नी र विसौलीमा नाक र कान जोख्न व्यस्त भएको बेला दूलामा बसेर वीष सञ्चय गर्ने हरिया साँपहरु ऐनमौकामा मैदान निस्कने र डसेर हिंड्ने अभ्यास उस्तै छ । अस्ती जस्तै । हिजो जस्तै ।

पुष २७ ।खासमा पृथ्वीनारायण शाहलाई सम्झने दिन । राजाका पनि राजा भएकाले बडामहाराज भनियो होला, कुरै सकियो । एकता दिवस मान्नु वा नमान्नु वा सार्वजनिक बिदा हुनु र नहुनु पनि अलग कुरा । योगी नरहरीनाथले एउटा असल परम्पराको पहलकदमी लिएकोमा उनलाई पनि नमन ।

तर पृथ्वीनारायण शाह नेपालको इतिहासका एक श्रेष्ठ पात्र, विशाल र अखण्ड नेपालको स्वप्नद्रष्टा नै हुन् । तात्कालीन गणराज्यको रुपमा रहेका बाइसी चौबीसीलाई एउटै मालामा उनेर सिंगो नेपाल निर्माण अभियानका बलशाली अभियन्ता । त्यो एकीकरण भुगोलको कि भावनाको ?, जातको कि संस्कृतिको ? राजाको कि रजौटाको ? गोरखाको कि कान्तिपुरको ? यस्ता प्रश्न तात्कालीन यथार्थबाट निरपेक्ष बसेर बुद्धि खियाउने तामस बुद्धिजीवीबाट धेरै आउँछ । यसैले केही सवाल उपयुक्त हुन्छ ।

पर्सियन वा इरानीहरुको खेती राजा साइरसलाई गाली गर्नमा सीमित छ ? यूनानी वा ग्रीकहरुले सिकन्दरको गौरवगाथा गाउँछन् वा उछितो काड्छन् ? भारतमा चन्द्रगुप्त मौर्यको सौर्यको निन्दा गरिन्छ ? अखण्ड भारतका अर्का युगपुरुष अशोकको मानमर्दन गर्दा बुद्धिजीवीहरुको हैसियत र प्रतिष्ठाको अनुहार ऐनामा कस्तो देखिएला ? अमेरिकी स्वतन्त्रता संग्राम वा क्रान्तिको नेतृत्व गर्ने सप्तऋषी (हेमिल्टन, जोन एडम्स, फ्रेंकलिन, जोन जे, जेफर्सन, म्याडिसन, जर्ज वाशिंगटन) को खोइरो खनेर ठूला बन्न खोज्नेको हविगत के होला ? रोमन साम्राज्यको अधीनबाट निस्किएर बेलायतलाई अधिराज्य बनाउने राजा जेम्स र चाल्र्स प्रथमलाई बेलायतीहरुले कसरी बुझ्छन् ?

पृथ्वीनारायणकालीन जापानी साम्राज्यका नायक अकिहितो र तोशिकोको निन्दा गर्दा कती हाँस्दा हुन् जापानी ? साम्राज्यको रुपमा जर्मनीको नेतृत्व गर्ने विश्मार्कलाई जर्मन बुद्धिजीवीहरुले पनि नेपालका स्वनामघोषित बुद्धिजीवीले जस्तै कौडीको तहमा राखेर व्याख्या गर्लान् ? अथवा, पूर्व र पश्चिम बाँड्ने बर्लिन पर्खाल ढलेपछिको एकीकृत जर्मनीको नेतृत्व गर्ने हेल्मुट कोल पनि बुद्धिको कोपभाजनमा कति पर्लान् ?

प्रश्न सिधा छ । तात्कालीन विश्व परिस्थति र छिमेकी देशको समेत अवस्थालाई वेवास्था गरेर नेपाल निर्माण महाअभियानको नेतृत्व गर्नु गलत हो ? घर बलियो बनाएर पराईसँग लड्ने सामथ्र्य विस्तार गर्नु अपराध हो ? ३ लाख ३४ हजार बर्गकिलोमिटरको क्षेत्रफलको नेपाल निर्माणको जग हाल्नु सामान्य हो ? यूनानी, मंगोल, इरानी, पोर्चुगीज, फ्रान्सेली, मुगल र अंग्रेज (इष्ट इण्डिया) को पञ्जामा छटपटाइरहेको भारतको दशाबाट अलग राखेर स्वाधीन, अक्षुण र संगठित नेपाल निर्माण गर्नु नाजायज हो ?

सीमान्तकृत समुदायको आवाज बोल्ने दावी गर्ने लेखकले पृथ्वीनारायण शाहलाई लगाउने झल्लु आरोपको प्रतिकार गर्न कोही खस, कोही ब्राम्हण हुनपर्दैन । कोही आर्य र मंगोल, कोही पहाडी कोही मधेसी पनि हुनपर्दैन । विश्व मानचित्र हेरेर सदाबहार स्वाधीन नेपाली भइदिए पुग्छ । नेपाल एकीकरणको नेतृत्व मात्र पृथ्वीनारायण शाहले गरेका हुन्, तरबार र खुँडा चलाउने किराँत र थारु, मगर र तामाङको भागमा पनि विजयको श्री जान्छ भनेर बुझिदिए पुग्छ ।

पृष्ठभूमीको बलशाली नेपालको दृष्टान्त नहेरी आरोप र आलोचनाको प्रायोजित खेती बन्द गरौं । कुनैबेला जसरी तीब्बतले नेपाललाई वार्षिक कर तिर्नपर्दथ्यो त्यसरी नै तात्कालीन भारतले अफगानीलाई वार्षिक कर तिर्नपर्दथ्यो । मेरठमा बाजीरावको हिन्दूपाद पादशाही अभियान उत्कर्षमा पुग्दा गोरखाका राजा भएका पृथ्वीनारायण शाहले राज्य बचाउने हेतु सफलतापूर्वक सञ्चालन गरेको राज्यविस्तार अभियान नै आजको नेपालको यथार्थ हो भनेर बिर्सन हुँदैन ।

व्यापारका लागि अनुमति दिएर राखिएका युरोपियनले आखिरमा कसरी हैदराबाद चकनाचूर बनाए भन्ने कुरा आधुनिक भारतको मुगल शासनको पतनको अध्यायबाट थाहा हुन्छ । केरलामा डच, मैसुरमा फ्रेञ्च, बंगालमा यूरोपीय व्यापारीको छल र कपटको खबर महिना दिनमा  नै आइपुग्थ्यो भने दक्षिणबाट सावधान रहन तिनले अपनाएको तकनिकीलाई जातको घानमा हाल्नु ? यो वेवकुफी हो ।

बजारमा प्रो–माक्र्सवादी, प्रो–प्रगतिशील, प्रो–जनजातीका अगुवा प्रशस्त छन् ।खबरदारी यिनीहरुलाई गर्नपर्छ भन्ने हो । जुनबेला पृथ्वीनारायण शाह एकीकरण दौडमा थिए त्यो बेला अंग्रेजले भारतको मद्रास (१७४८), कलकत्ता (१७५७), बंगाल (१७५८) हत्यायो । गंगा नदीतटको प्लासीको युद्धबाट औपचारिक रुपमा भारत अंग्रेजको दास युगमा प्रवेश गर्यो । र, १७७० मा फ्रेन्च इष्ट इडिया लखेटिएपछि एकछत्र साम्राज्य चलायो । पृथ्वीनारायण शाहले मकवानपुर र त्यसपछि कीर्तिपुर विजय गरेको समय हो यो । यहीबेला जयप्रकाश मल्लले गोरखाली सेनाको आक्रमणको प्रतिरोध गर्न मगाएको अंग्रेज सेना सिन्धुलीगढीमै सोत्तर भएर नफर्किएको भए नेपालको इतिहासको अर्को अँध्यारो पाटोको सम्भावना पनि त उत्तिकै छ । यहींनेर, पृथ्वीनारायणकै दूरदर्शिता र रणनीतिक चातुर्यले नेपाल खाल्डो बिदेशीको प्रभाव र चंगुलमा पर्नबाट बच्यो । बस् यत्ति हो ।

फ्रान्सेली राज्यक्रान्ति हुनुभन्दा चौध वर्ष अगाडि नै पृथ्वीनारायण शाहको निधन भयो । खण्डीकरणबाट एकीकरणको बाटोमा लागेर उनले गल्ती गरेनन् बरु बाह्य साम्राज्यसँग मुकाबिला गर्नसक्ने अखण्ड राष्ट्रको आधार बनाए । विखण्डित र अव्यवस्थित राष्ट्रिय शासन व्यवस्थालाई एकतामा बाँध्न सजिलो बनाए । बाइसेचौबिसे कज्याएर राष्ट्र बनाउने अभियान थाल्नु बन्दकोठामा बसेर इतिहासका नायकविरुद्ध वीषवमन गर्र्नुजस्तो सहज नहोला ।

राज्यसत्तामा जहाँकहीं कूलीन, सामन्त र धार्मिक अभिजात बर्गकै हालीमुहाली हुने हो । हिजो पनि आज पनि । फ्रान्समा पनि, नेपालमा पनि, बेलायतमा पनि, अमेरिकामा पनि । तर राजनीतिको, संस्कृतिको, जातीको, भाषाको डिस्कोर्सभित्र पसेर पृथ्वीनारायणको खेदो खन्नुको अर्थ पाँच सय पचास वर्षको मल्लकाल र त्यो भन्दा अगाडिको लिच्छवी युगसम्मलाई चाँहि बेपर्वाह वेवास्ता गर्नु हो । अथवा, सामाजिक जागरणको अवधिमा पनि तात्कालीन मुद्दाको उठान र विकासमा देखिएका कमजोरी र त्रुटीलाई ढाकछोप गर्नु हो । तर तुक र अर्थ दुबै नभए पनि चुल्हो बाल्न र जगाउनै पृथ्वीनारायणको विरोध र आलोचना गर्ने संगठित समूह र गिरोहको खेती नै हो । यसैले प्रगतिशील र क्रान्तिकारी दावी गर्नेभित्र पनि यस्ता अवाञ्छित गिरोह छन् जो राजनीतिको रोटी सेक्न इतिहासको हुर्मत लिने ध्याउन्नमा निरन्तर छन् ।

संयोग, फ्रान्सेली दार्शनिक मन्टेस्क्यू र पृथ्वीनारायण शाहको निधन एउटै वर्ष भएछ । पृथ्वीनारायण शाहको पालामा मन्टेस्क्यूले भनेजस्तो शक्ति पृथकीकरण भएन भनेर बहस गर्नु कति बुद्धिमतापूर्ण हुन्छ ? तीन सय वर्षअघिको समयलाई आजमा तुलना गरेर कानुनको आत्माअनुसारको व्यवस्था नगरेकाले शाह आततायी हुन् भन्नु ? यही हो सोचको गरिबी र ज्ञानको ठगी भनेको ।

पृथ्वीनारायण शाहभन्दा दश वर्ष अगाडि जन्मेका रहेछन् जीन ज्याक रुसो । रुसोले प्रतिपादन गरेको सिद्धान्त यस्तो थियो, नेपालमा चाँहि एकीकरणको नाममा यस्तो भयो भन्ने अक्षरजीवी पनि देखिए । त्रिभुवन विश्वविद्यालयमा ऐच्छिक अंग्रेजी पढ्दैमा वा पढाउँदैमा त्यो बर्ग आफूलाई दुनियाँको सर्वज्ञ ठान्दछ र पृथ्वीनारायणलाई चुत्थो करार गर्न हाडछाला घोटेर मरिहत्ते गर्दछ । अझ गैरसरकारी संस्थामा काम गर्ने, त्यसमाथि पनि अधिकारकर्मीको छाला ओडेका, त्यसमाथि पनि आफूलाई जनजातिको नाइके दावी गर्ने मुठ्ठीभरका बिचौलियाको त कुरै बेग्लै । त्यस्ता पण्डितहरु फ्रान्सेली राज्यक्रान्तिभन्दा अघिको फ्रान्स पनि हेर्दैनन्, पृथ्वीनारायणकालीन नेपालको समाज र भारतीय उपमहाद्वीपमा बढ्दो पश्चिमा हैकमको अन्दाज पनि गर्दैनन् ।

अमेरिकाले वेलायती उपनिवेशबाट मुक्त हुन स्वतन्त्रता संघर्ष शुरु गर्दा पृथ्वीनारायण शाहले सार्वभौम राष्ट्र एकीकरणको गतिगतिशील बनाएको मूल्याङ्कन हुनपर्दैन ? प्रायोजित पण्डितहरुलाई कीर्तिपुरमा नाक काटेको र भक्तपुरमा चाक ताछेको हिसाब गर्दैमा फुर्सद छैन । पृथ्वीनारायणको सेखी झार्न पाउँदा जात र गोत्र प्राप्त हुन्छ भन्ने ठान्ने बग्रेल्ती छन् ।कतिलाई त पृथ्वीनारायणको एकीकरणलाई गलत करार गर्न पाए बढो क्रान्तिकारी देखिने औ भइने भ्रम पनि छ । अनि पौने तीन सय वर्षअघिको एकीकरण तिनलाई बहूत सामन्तवादी जँच्छ । अनि शुरु हुन्छ यिनका द्वन्द्वात्मक भौतिकवादका तामसी व्याख्या । अनि तिनले कहिल्यै अनुमान लगाएनन् पृथ्वीनारायण माक्र्सभन्दा झण्डै सय वर्ष जेठा थिए र नेपालमा एकीकत राज्यको अवधारणा स्थापित भएको सय वर्षपछि मात्र दास क्यापिटल छापिएको कुरा । तिनका साम्यवादी आदर्शको घोषणापत्र आउँदा विशाल नेपालको क्षेत्रफल तीन लाख बर्गकिलोमिटर पुगेको थियो भन्न तिनलाई लाज लाग्छ ।

लाल र श्वेतहरुको चश्मामा अजीब रङ्ग छ । तिनलाई क्रान्तिका नाममा भएका सबै रक्तपात जँच्छ । परिवर्तनका नाममा भएका कत्लेआम पनि जँच्छ । विद्रोहका नाममा भएका नरसंहारले तिनलाई पोल्दैन । जसै तात्कालीन समाज र विश्व परिस्थतिअनुसार राजा राजाबीचको लडाईं, राज्य राज्यबीचको युद्धको कुरा आउँछ अनि तिनको छाती पोल्छ । दुनियामा गणराज्य र कबिलालाई एउटा नायकको नेतृत्वमा एकीकृत गर्ने कुनचाँहि युद्धमा रगत बगेको छैन ? कुनचाँहि युद्धमा शत्रुको टाउको भेदन भएको छैन ? अरुले गरेको युद्ध चाँहि क्रान्तिकारी संघर्ष, पृथ्वीनारायण शाहले गरेको चाँहि रक्तपात?शाहवंशको राजा भएकाले चाँहि बेठीक ?

यही हो सोचको दरिद्रता भनेको । त्यो पनि तात्कालीन इतिहासको स्वभाविक गति हो भनेर स्वीकार्दा तिनलाई ग्लानी महशुस हुन्छ । टुक्राटुक्रा राज्य जोडेर राष्ट्र बनाउने उनको अभियान अरु देशमा जस्तै युद्धमै आधारित हुनु नाजायज हैन भन्दा तलब आउँदैन ?अनि फेरि राष्ट्रवादको वान्ता गर्ने पनि तिनै छन् बजारमा । स्वाधीनता र सार्वभौमताको पखाला पनि तिनलाई बढी चल्छ । जातको अचार र धर्मको शितन हात पारेपछि तिनलाई के पृथ्वीनारायण, के बहादुर शाह !इतिहासको अस्तीत्व स्वीकार गर्न पहिला आफूमाथि गर्व गरौं । राष्ट्रनिर्माताको रुपमा पृथ्वीनारायण शाहलाई स्वीकार गर्न हृदय खोलौं ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…