रामभरोसी यादव सिरहा । सशस्त्र प्रहरीले अवैध सुन र तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेलगत्तै सिरहाको लहान नगरपालिकाका एक वडाध्यक्षसहित थप तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
सदरमुकामस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको सशस्त्र प्रहरी टोलीले पक्राउ गरिएका तीन जनालाई गणमा सुनसहित शनिबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको एक घण्टा नबित्दै थप तीन जनालाई पनि पक्राउ गरेको दाबी गरेको छ ।
सशस्त्र प्रहरीको सिरहा गणले पक्राउ गरिएका तीन जनाको सूचनाको आधारमा थप तीन जनालाई मिर्चैयाबाट पक्राउ गरेको गणका प्रहरी नायव उपरीक्षक खेमनारायण अधिकारीले बताउनु भयो ।
पूर्व पश्चिम सडक अन्तर्गत गोलबजार नगरपालिका ९ घुर्मी खोला नजिकबाट विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले शनिबार बिहान २ बजेतिर छ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीका डिआइजी प्रवीणकुमार श्रेष्ठले बताउनु भयो । डिआइजी श्रेष्ठका अनुसार छ जनालाई एउटै स्कर्पियोबाट पक्राउ गरिएको भए पनि तीन जनासँग मात्र सुन बरामद भएकाले तीन जनालाई सार्वजनिक नगरिएको हुन सक्ने बताउनु भयो ।
सिरहास्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक सोमबहादुर गुरुङको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले शनिबार बिहान २ बजेतिर काठमाडौंबाट लहानतर्फ आउँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कर्पियोबाट अवैध सुनसहित छ जनालाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरीले एक केजी सात सय ५७ ग्राम सात सय २० मिलीग्राम सुनसहित पक्राउ गरिएका छ जनालाई थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको डिआइजी श्रेष्ठले जानकारी दिए ।
सशस्त्र प्रहरीले पक्राउ गरेकाहरुमा लहान नगरपालिका १९ सोनमति मझौराका निर्वाचित वडाध्यक्ष ४२ वर्षीय मोहमद हकिमसमेत छन् । सशस्त्र प्रहरीका अनुसार वडाध्यक्ष हकिमसहित सोनमति मझौराकै २४ वर्षीय मोहमद रहमान र सप्तरीको खड्क नगरपालिका ३ बनरझुला घर भएका १८ वर्षीय मोहमद अफ्रोज समेत पक्राउ परेका छन् ।
पक्राउ परेलगत्तै सशस्त्र प्रहरीले खानतलासीक्रममा लहान १९ घर भएका स्कर्पियो चालक ३२ वर्षीय मोहमद रियाज राईनको साथबाट चार थान बाला र तीन वटा काँचो सुन, रियाजका छिमेकी २८ वर्षीय मोहमद अमिरुलको साथबाट एउटा बाला र ४५ वर्षीय कैयुम राइनको साथबाट एउटा बाला बरामद भएको छ । पक्राउ परेकाहरुको साथबाट नगद ३४ हजार पाँच सय रुपैयाँ र ६ थान मोबाइल सेट बरामद भएको सशस्त्र प्रहरीको सिरहा गणले जनाएको छ ।