लामो समयदेखि एकताको बहस चल्दै, सेलाउँदै र पुनः चलिरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई विद्यार्थी संगठन अनेरास्ववियु र अखिल (क्रान्तिकारी) स्ववियु निर्वाचनको सन्निकटमा छन् । पार्टीले एकताका लागि निर्माण गरेको कार्यदलले समेत एकीकरण प्रक्रिया अघि नबढाएपछि दुवै संगठनका कार्यकर्ता तहमा नैराश्यता पनि बढेको देखिन्छ । दुई अखिलको एकता, स्ववियु निर्वाचन तथा विद्यार्थी आन्दोलनका विविध प्रसंगमा केन्द्रित रहेर अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जीत तामाङले जनता समाचार डटकमका नरेश न्यापानेसँग कुराकानी गर्नु भएको छः
दुई अखिलको एकता खास किन रोकिइरहेको छ ? कहिले टुंगिएला ?लामो समय फरक राजनीतिक आस्था र कित्तामा रहँदै भिन्न पृष्ठभूमिबाट हुर्केका विद्यार्थी संगठन भएकाले एकता प्रक्रियामा विलम्ब हुनु अन्यथा होइन । तथापि एकताको स्पिड केही सुस्त भएको हो कि भन्ने चैँ अनुभूति भएको छ । एकता रोकिइरहेको भन्दा पनि तिव्र गतिमा अघि नबढ्नुमा चाहिँ खासगरी सरकार सञ्चालनमा नेताहरुको व्यस्तता मुख्य कारण हो र यस्तै देखिएको छ । एकीकरणको जिम्मा पाएका र कार्यदलमा रहेका नेताहरु समेत राज्यका विभिन्न जिम्मेवारीमा रहनुभएकाले ढिलाइ भइरहेको भन्ने बुझाइ छ । दुवै संगठनका नेताहरुको योग्यता र क्षमताका आधारमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पार्टीमा समेत गहिरो र मसिनो छलफल चलिरहेका कारण एकतामा ढिलाई भइरहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । त्यस्तै, एकीकृत संगठनपछिको नेतृत्वको विषयमा पार्टीको पनि नेतृत्व तहमा छलफल चलिरहेको होला, त्यसकारण चाँडै टुंगिने कुरामा विश्वास गरौँ ।
एकता पछि बन्ने संयुक्त अखिलको संरचना कस्तो हुनेछ ? सम्भावित मोडालिटीबारे बताउन मिल्छ ?जसरी पार्टी एकताका लागि कार्यदल बनेको थियो, ठीक त्यसैगरी हाम्रो पनि कार्यदल बनेर नै धैरै विषय टुंग्याउँदै आएका छौँ । दुवै संगठनलाई पार्टीका तर्फबाट समन्वय गर्ने नेताहरु रवीन्द्र अधिकारी र रमेश मल्ल तथा नवीना लामाजी र म रहेको कार्यदलले संगठनको नाम अनेरास्ववियू (दीर्घ) राख्ने र विधान तथा भावी कार्यदिशा जस्ता एकताका आधारस्तम्भमा सहमति भइसकेको छ । संयुक्त अखिलको केन्द्रीय समिति अखिलका तर्फबाट २६० र क्रान्तिकारीका तर्फबाट २३९ जोडिएर ४९९ सदस्यीय बनाउने विषय पनि टुंग्याइसकेका छौँ । त्यस्तै, मुलुकको शासकीय स्वरुपअनुसार नै प्रदेश कमिटीलाई कार्यकारी बनाउने, जिल्ला एवम् स्थानीय कमिटी बनाउने र सबै कमिटीको सुझबुझपूर्ण नेतृत्व बाँडफाँड गर्ने लगायतका संरचनागत विषय टुंग्याइएका छन् । इतिहासमै हामीले गरेका व्यवस्था परिवर्तनलगायतका सबै संघर्ष र आन्दोलनहरु समयसापेक्ष रहेको निष्कर्ष निकाल्दै अबको विद्यार्थी आन्दोलनलाई जनजीविका, राष्ट्रियता, आर्थिक विकास र जनवादी शिक्षा प्राप्तितर्फ केन्द्रित गर्ने विषयमा हाम्रो एकमत छ । त्यस्तै, अब बन्द, हड्ताल र चक्काजामलगायतका हामीले देशको राजनीतिक परिवर्तनका लागि विगतमा अपनाएका विरोधका शैलीसमेत त्यागेर रचनात्मक र सिर्जनात्मक दबाब समूहको भूमिका निर्वाह गर्दै अघि बढ्ने हाम्रो निष्कर्ष छ । शैक्षिक कार्यदिशाका रुपमा समाजवादी शिक्षाको स्पष्ट गन्तव्यमा पुग्ने लक्ष्यमा त झन दुईमत नै भएन ।
स्ववियु चुनावको तयारी गर्नुपर्ने बेला एकीकरणकै अन्योलतामा फस्नुभयो । निर्वाचनमा तपाईंहरुको पर्फमेन्स कमजोर हुने हो कि ?त्यस्तो हुँदैन, किनभने हामी एक हुने भन्ने कुरा त टुंगिइसक्यो नि । एकता भइसकेकै रुपमा बुझ्दा हुन्छ । किनकी केवल औपचारिकता मात्रै बाँकी हो । औपचारिकता पाउने बित्तिकै हामी सबै कमिटी मर्ज प्रक्रिया थाल्छौँ । धैरैमा एक हप्ताभित्र हामी कमिटीहरु मर्ज सक्छौँ । सकिएन भने पनि स्ववियु निर्वाचनमा देशैभरि हामीले जित्ने वातावरण बनाउन संयुक्त कार्यदल बनाएर जान सक्छौँ । त्यसैले स्ववियुअघि एकता नटुंगिदा पनि मनोविज्ञान एक भइसकेकाले हाम्रो पर्फमेन्समा कुनै कमी आउँदैन । अहिलेको हाम्रा मूलभूत कार्यभारहरुमा पहिलो एकता हो भने दोस्रो स्ववियु निर्वाचन नै हो ।
तर संगठन एकताको अन्योलताले क्याम्पसहरुमा दुवै संगठनका गतिविधि सुस्त छन्, यही अवस्थामा निर्वाचन हुँदा तपाईंले भनेजस्तै जीत हासिल गर्न कठिन हुँदैन र ?हो, केही सुस्तता देखिएको पक्कै हो । हाम्रो एकता अनिवार्य हुने भएकाले क्याम्पसहरुमा साथीहरुमा पनि एकता के, कसो र कहिले हुने हो भन्नेमा केही अन्योलता देखिएको छ । एकता नटुंगिएकाले प्रष्ट कार्ययोजना बनाएर चुनावमा केन्द्रित हुन हामीलाई पनि अलिकति असजिलो भइरहेको सत्य हो । तर दुवै संगठनहरु आआफ्नै ढंगले विद्यार्थीबीचमा गतिविधि गरिरहेका कारण कुनै कठिनाइ आउँदैन । क्याम्पसमा गतिविधि गरिरहेको छौँ, तिनलाई औपचारिक एकतामा कसेर संयुक्त फोर्स निर्माण गर्ने बित्तिकै हामी निकै बलियो भइहाल्छौँ ।
यसपटकको स्ववियु निर्वाचनमा तपाईंहरुका एजेण्डाहरु के के हुन् ?नेपाली विद्यार्थी आन्दोलनले लामो समयदेखि उठाउँदै आएको राजनीतिक परिवर्तन हामीले सम्पन्न गरिसकेका छौँ । अब हामीले त्यही परिवर्तनमा टेकेर मुलुकमा व्याप्त बेरोजगारी, अशिक्षा, गरिबीलगायतका समस्या निराकरणका लागि समृद्धिको अभियान शुरु गर्नुपर्ने बेला आएको छ । खासगरी, शिक्षामा आमूल परिवर्तनको एजेण्डा आज पनि उत्तिकै उठाइरहनुपर्ने देखिन्छ । शिक्षामा समानता कायम गर्नुपर्नेछ, सरकारी शिक्षालाई निशुल्क बनाउनुपर्नेछ, निजी शिक्षाको नियमन गर्नुपर्नेछ र प्राविधिक शिक्षालाई देशको दूरदराजसम्म पु¥याउनुपर्नेछ र उच्च शिक्षामा सबैको पहुँच आवश्यक छ । यसरी नेपालको शिक्षा क्षेत्रमा युगान्तकारी परिवर्तन गर्नुपर्नेछ । यसरी हामीले अहिले खासगरी शैक्षिक परिवर्तन, संविधानमा व्यवस्था गरिएका शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका मौलिक हक कार्यान्वयन र दक्ष रोजगारी बढाउनुपर्ने विषयलाई उच्च प्राथमिकताका साथ उठाइरहेका छौँ ।
प्रसँग बदलौं, दुई तिहाई जनमतसहितको सरकारले जनअपेक्षा बमोजिम काम गर्न नसकिरहेको प्रश्न सर्वत्र उठिरहेका बेला विद्यार्थी संगठनहरुको खबरदारी कतै सुनिएन, किन होला ?पहिलो कुरा, जनताले यो सरकारलाई केही गर्न भनेर ५ वर्षको समय दिएका छन् । सरकार निर्माण भएको एक वर्ष पुगेको छ । त्यसैले अहिले हतार गरेर सरकारको आलोचना गर्नुपर्ने बेला भइसकेको जस्तो लाग्दैन । सरकारले मुलुकको विकासको आधार तय गरिरहेको पनि सबैलाई थाहै छ । अर्को कुरा, खबरदारी भनेको के हो ? आज पनि ढुंगा, मुडा, बन्द र हड्ताललाई मात्रै खबरदारी गरेको मानियो भने त्यो मूर्खता हुनेछ । समय बदलिएको छ । विद्यार्थी संगठनलाई सडकमा नदेखेर केही मानिसलाई त्यस्तो लागेको होला । नेकपाको सरकार बन्नेबित्तिकै एकै चोटी फूमन्तर गरेर दशकौँदेखि अस्तव्यस्त बनाइएको मुलुक अचानक बन्ने पनि होइन । यद्यपि हामीले सरकारका केही अस्वाभाविक गतिविधि देखिँदा नेताहरुलाई र सरकारलाई सचेत बनाउने काम पनि गरिरहेकै छौँ । तर नेकपाले जे गर्छ, त्यो अरु कसैले गर्न सक्दैन ।
तर विद्यार्थी आन्दोलनले आफ्नो प्रतिपक्षीय भूमिका छोड्दै गएकाले यसको विघटन नै गरिनुपर्ने विषयमा जोड दिनेहरु पनि बढेका छन् नि ?त्यस्तो होइन, नेपालको विद्यार्थी आन्दोलन मूलतः ३ वटा एजेण्डा बोक्दै आजसम्म आएको छ । राष्ट्रियता, जनतन्त्र र जनवादी शिक्षाका सवालहरुमा यो आन्दोलनले विगतदेखि नै अगुवाई गर्दै आइरहेको हो । आज त झन टड्कारोरुपमा नेपाली युवालाई आत्मनिर्भरतामा जोड्नुपर्ने विषय थपिएको छ । ९२ प्रतिशत परनिर्भरतामा रहेको हाम्रो मुलुकमा स्वाधीन अर्थतन्त्र विकास गर्नु छ । आज पनि हाम्राअगाडि यस्ता तमाम एजेण्डा छन् । तराईमा सीमा समस्या जस्ताको तस्तै छ । जनजीविकाका मुद्दा उत्तिकै ज्वलन्त देखिइरहेका छन् । मुलुकमा भ्रष्टाचारको समस्या विकराल बन्ने खतरा छ । आज यस्ता सयौँ एजेण्डाले सशक्त विद्यार्थी आन्दोलन र खबरदारीको अपेक्षा गरिरहेका छन् । त्यसकारण आज पनि समाजमा वाचडगको भूिमका निर्वाह गर्न विद्यार्थी संगठनको आवश्यकता बढेको पूर्व विद्यार्थी नेता, बुद्धिजिवी र विश्लेषक सबैले बुभm्न आवश्यक छ ।
अन्त्यमा, देशभरका दुवै संगठनका कार्यकर्तामा एकतापछि अखिलको अध्यक्ष को बन्ला ? नेतृत्वको बाँडफाँड कसरी हुन्छ भन्ने जिज्ञासा छ, रञ्जीत तामाङको सम्भावना कति छ ?हो, एकताको संघारमै रहेकाले संगठनको अध्यक्ष को बन्ला भन्ने कौतुहलता साथीहरुमा छ । साथीहरुलाई के पनि थाहा हुनुपर्छ भने आजको नेकपाले राणाशासन वा राजतन्त्रकालको जस्तो कसैलाई टिपेर नेतृत्वमा ल्याउँदैन । पार्टीले व्यक्तिको योग्यता, क्षमता र ओहोदाका आधारमा दोहोरो जिम्मेवारीलाई समेत ध्यान दिएर नेताकार्यकर्ता व्यवस्थापन गर्ने मापदण्ड बनाएको छ । पार्टीको मापदण्डअनुरुप नै अन्य जिम्मेवारी कतै पनि नभएको र अखिलको अध्यक्ष नवीना लामा सांसद बनिसक्नु भएकाले मेरो सम्भावना कति छ, आफैँ पनि आंकलन गर्न सक्नुहुन्छ । त्यस्तै, अन्य नेतृत्वको हकमा पनि पार्टीको जस्तै ९ जनाको कार्यालय बनाउने कि केही संख्या थप्ने भन्ने सन्दर्भमा नेतृत्वसँग छलफल भइरहेको छ । कार्यालयको ‘वान थर्ड’ स्थायी कमिटी र स्थायी कमिटीको ‘वान थर्ड’ सचिवालयसहितको केन्द्रीय कमिटी बनाउने मोटामोटी सहमति भइसकेको छ ।
यो पनि पढ्नुहोस्ः
https://45.77.241.73/2019/01/88948https://45.77.241.73/2019/01/88021