काठमाडौं । सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको छ । सभामुख महराले मंगलबार नेपाल एशोसिएशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औं साधारणसभामा मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
‘विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल आउन अभिप्रेरित गर्ने कार्यमा सक्रिय नाट्टाले खेलेको भूमिका सराहनीय छ’ उहाँले भन्नुभयो, ‘ मुलुकको पर्यटन विकासको लागि केही नीति सुधार्न आवश्यक छ । ‘पर्यटन नीति सुधार्न सङ्घीय संसद् तयार छ ।’
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्रतिनिधि सभाको सदस्यको हैसियतमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पर्यटक मात्र आएर नहुने बताउँदै गुणस्तरीय पर्यटक ल्याउनका लागि सरकारले पूर्वाधारको विकास गर्नु जरुरी रहेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले धार्मिक पर्यटकीय दृष्टिकोणले पनि नेपाल महत्वपूर्ण गन्तव्यका रुपमा रहेकाले यसको प्रवद्र्धनमा लाग्न पर्यटन व्यवसायीलाई आग्रह गर्नुभयो । ‘आर्थिक क्षेत्रको महत्वपूर्ण पाटो पर्यटन क्षेत्र भएकाले यसको विकासका लागि सबै जुट्नुपर्छ’ उहाँले भन्नुभयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले निजी क्षेत्रसँग सहकार्यमा अगाडि बढे मात्र पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो । ‘सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठूलो सहयोग गरेको छ’ उहाँले भन्नुभयो ।
नाट्टाका अध्यक्ष सिएन पाण्डेले विशाल जनसंख्या भएका भारत र चीनको पर्यटक ल्याउन सकेमात्र पनि पर्यटन क्षेत्रले मुलुकको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । ‘सन् २०१८ मा झण्डै १२ लाख पर्यटक नेपाल आएकाले नेपालमा पर्यटन क्षेत्रमा थप उत्साह जागेको छ’ उहाँले भन्नुभयो ।
अध्यक्ष पाण्डेले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि सरकारले पूर्वाधार क्षेत्रमा लगानी गर्नु जरुरी रहेको बताउनुभयो । हवाई र विमानस्थलको विकास भएमात्र पर्यटन क्षेत्रको विकास हुने उहाँको भनाइ छ ।
कम्पनी सचिव भट्टराई सम्मानितनाट्टाले ५२ औँ साधारणसभामा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेको छ । नाटा एचिभमेन्ट अवार्डबाट पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ, सगरमाथा अवार्डबाट बुद्ध एयर कम्पनी प्रालिका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत र भाष्कर अवार्डबाट पर्यटन व्यवसायी योगेन्द्र शाक्य र जनता प्रसारण तथा प्रकाशन लिमिटेडका कम्पनी सचिव विष्णु भट्टराई सम्मानित हुनुभएको छ ।
मिडिया अवार्डबाट राष्ट्रिय समाचार समितिका समाचारदाता अच्युत रेग्मी, नेपाल टेलिभिजनका पत्रकार प्रदीप चापागाईँ, रिपब्लिका न्यूज डेलीका समाचारदाता अर्पणा आले, टुरिजम अनलाइनका सम्पादक प्रशान्त प्रधान र दैनिक नेपाल अनलाइनका सम्पादक माधव तिवारी सम्मानित हुनुभएको छ । उहाँहरुलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।