विमल खड्काकाठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम संञ्चालनका लागि शुक्रबारदेखि रोजगार संयोजक भर्ना प्रक्रिया शुरु गरिने भएको छ । ७ सय ५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्त गर्न लागिएको हो ।
मन्त्रिपरिषद्ले रोजगार संयोजक नियुक्तिका लागि दरवन्दी र रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधा सम्बन्धी मापदण्ड २०७५ स्वीकृत गरिसकेपछि मन्त्रालयले भर्ना प्रक्रिया अघि बढाएको हो । मन्त्रालयका सहसचिव तथा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख प्रकाश दाहालले १ बर्षका लागि करारमा रोजगार संयोजक रहने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १० हजार भन्दा कम जनसंख्या भएका ४८ वटा स्थानीय तहमा राजपत्रअंकित प्रथम श्रेणी(नासु सरह) त्यो भन्दा बढी र जनसंख्या भएको स्थानीय तहमा शाखा अधिकृत सरहको दरबन्दी तोकेको छ । कार्यक्रम संयोजक नियुक्तिको लागि अनलाइन फारम भर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले लोकसेवा आयोगले तोकेको शैक्षिक योग्यताकै आधारमा संयोजक भर्ना गर्न लागेको हो । रोजगार व्यवस्थापन सूचना प्रणाली भएकाले मन्त्रालयले सामान्य कम्युटर प्रणालीबारेको शिक्षालाई अनिवार्य बनाएको छ ।
रोजगार संयोजक छनौट तीन चरणमा गरिने र सबै चरण कम्युटर प्रणालीबाट गरिने भएको छ । न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्रमा प्राप्त गरेको प्रतिशतवापत ७० अंक, माथिल्लो तहको शैक्षिक योग्यता बापत थप २० प्रतिशत, २ बर्ष भन्दा बढी अनुभव भएकालाई थप १० प्रतिशत अंक दिइनेछ ।
पहिलो चरणमा सबै मापदण्ड अनुसार सफ्टवेयर प्रणालीबाट प्रत्येक स्थानीय तहमा ३ जनाको दरले २ हजार २ सय ५९ जनाको नाम सर्टलिस्टमा निकालिने छ । त्यसपछि २५ वटा बहुबैकल्पिक प्रश्न राखेर सर्टलिस्टमा छानिएका उम्मेदवारको अनलाइनमार्फत कम्युटर ज्ञानको परीक्षा लिइनेछ । कम्युटर ज्ञानको नतिजा सफ्टवेयरमार्फत नै तत्काल निस्कने मन्त्रालयले जनाएको छ । मन्त्रालयले फागु भित्र सबै प्रक्रिया पुरा गरि रोजगार संयोजक नियुक्ति गरिसक्ने र चैत्रदेखि बेरोजगारको सुचीकृत गर्ने काम हुनेछ ।
रोजगार संयोजकले वेरोजगार, रोजगारदाता, रोजगार दिने संस्था लगायतको सूचना संकलन गर्नेछन् । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैया बजेट विनियोजन गरेको छ ।