कान्ति न्यौपाने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार पद्धति अनुसार नै चलेको बताउनु भएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लोकतान्त्रिक पार्टी हो’ उहाँले शनिबार पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा भन्नुभयो, ‘नेकपाले सधै एकताबद्ध भएर छलफल गरेर सर्वसम्मतिले निर्णय गर्छ। हरेक निर्णय लोकतान्त्रिक विधिबाटै हुन्छ । सरकार पनि लोकतान्त्रिक पद्धतिबाटै संंंचालन भएको छ ।’
प्रधानमन्त्री ओलीले सरकारले काम गरेन भन्नेहरुलाई व्यवहारले जवाफ दिने बताउनु भयो । ‘त्यसको जवाफ व्यवहारबाट दिनेछौ’ उहाँले भन्नुभयो, ‘सरकारको उद्देश्य देश र जनताको हितमा काम गर्ने हो । हामीले काम गरेर देखाउछौँ । विकासका लागि तत्पर छौ र अघि बढ्दै जान्छौ । देशलाई तीब्र आर्थिक वृद्धिदर भएको देश बनाउने संकल्प छ। दिगो विकास लक्ष्यका मापदण्ड पूरा गर्ने उद्देश्यले अघि बढेका छौ । प्रतिव्यक्ति आयमा वृद्धि हुदैंछ ।’
प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरिरहेको तर केही सञ्चारमाध्यमले त्यसलाई बंग्याइरहेको उल्लेख गर्नुभयो । ‘मुलुक सकारात्मक दिशामा अगाडि बढेको छ तर केही सञ्चा माध्यमले त्यसलाई बंग्याएर उल्टो समाचार दिएका छन्’ उहाँले भन्नुभयो, उनीहरुको काम कुरालाई बग्याउने भएको छ।’
प्रधानमन्त्रीले कर्मचारी समायोजन टुंगिएपछि मुलुकमा विकास निर्माणले तीब्रता पाउने बताउनु भयो । ‘मुलुक नयाँ संरचनामा छ, अहिले प्रदेश र स्थानीय सबै तहमा कर्मचारी मिलाउने कार्य भइरहेको छ’ उहाँले भन्नुभयो, ‘कर्मचारी समायोजन सकिएपछि विकासले गति लिन्छ । सरकार आगामी दिनमा सुशासन र विकासमा केन्द्रित हुनेछ। धुलाे लागेकाे चस्माले सफासँग देखिन्न, जताततै तुवालो लागेको जस्ताेे देखिन्छ । फाेहर मात्र देखिन सक्छ। तर त्यही जस्मा राम्रोसँग पुछेर हेर्नुस् , सबैतिर सफा देखिन्छ । अहिले सरकार र नेकपाप्रतिकाे हेराई पनि त्यस्तै भएको छ । धुलाे लागेको चस्माले हेरिएछ । कसरी सफा देखिन्छ ? चस्मा पुछेर हेर्नुस अनि मात्र सफा देखिन्छ । सबैतिर राम्रो देखिन्छ ।’
नेकपाका अध्यक्ष ओलीले पार्टी एकीकरण पनि चाँटै टुंगिने बताउनु भयो । ‘एकीकरणमा केही ढिलाइ भएको छ तर अब चाडैँ सकिन्छ’ उहाँले भन्नुभयो, ‘एकताले अब गति लिन्छ । एकता अब चाँडै टुंगिन्छ ।’
पूर्व सांसद भुसाल नेकपामापूर्वसांसद तीर्थ भुसाल नेकपामा प्रवेश गर्नुभएको छ । पूर्वसांसद भुसाल नेपाली कांग्रेस परित्याग गरी नेकपामा पस्नु भएको हो । कांग्रेस नेता अघिल्लो निर्वाचनमा चितवनबाट सांसद हुनुभएको थियो ।