Nic

मेरो प्रेमी !

अवसर प्रेम दिवसको थियो ।

दिवसले दिएको रातो गुलाफ मैले ब्यागमा राखेँ । धन्न फूल पसल पनि नजिकै रहेछ । हतार–हतार पहेँलो गुलाफ किनेँ सरसलाई दिन । सरसको बिहे हुनुपूर्व भेट्ने स्थानमा म पहिले पुग्थेँ । आज यतिखेर आधा घन्टादेखि ऊ मलाई पर्खिरहेको छ । हतार–हतारमै पुगेँ । कमलादी मोडको कोर्डयार्ड रेस्टुरेन्टमा ।

‘सरी ढिलो भयो । मान्छे र सवारी साधनहरुले अल्झाइदियो ।’
‘केही छैन ।’

‘बधाई छ,’ भन्दै हात मिलाएँ मैले । उसको बिहेपछिको पहिलो भेट थियो हाम्रो । हत्तपत्त ब्यागबाट पहेँलो गुलाफ झिकेर टेबलमा राखिदिएँ ।
‘जरूरी थिएन यसको ।’

‘प्रेम दिवस मनाएकी होइन । तपाईंको बिहेको बधाईका लागि ।’
सरसले धन्यवाद पनि भनेन । चुपचाप मेनु हेर्न थाल्यो ।

सम्झन थालेँ पहिले–पहिलेका कुराहरुः
१२ कक्षाको परीक्षापछि मेरा दिनहरु सिनेमा हेरेर, इन्टरनेट चलाएर र साथीहरुसँग रमाइला कुरा गरेर बित्थे । कहिलेकाहीँ यसो कथा–उपन्यासका किताब पनि पढ्थेँ । यी सबै कुराहरुले मेरो मनभित्र भने युरिया हालेको बिरूवाझैं अनेक अनेकका रहरहरु हलक्क भएका थिए । त्यसैताका बागबजारको आदर्श इन्स्टिच्युटमा भर्ना भएँ । अङ्ग्रेजी भाषा खार्न ।

पहिले म उसको अनुहार मात्रै चिन्थेँ । पछि आदर्श इन्स्टिच्युटका एम.डी. सरस खतिवडालाई नामले पनि चिन्न थालेँ । पहिले स्थापित साप्ताहिक पत्रिकाको नामी पत्रकार ऊ, सात वर्षदेखि इन्स्टिच्युट खोलेर बसेको रहेछ ।

बिस्तारै–बिस्तारै उसलाई फोन गर्नु, उसको बारेमा खोजीनिती गर्नु मेरो गर्नुपर्ने जरूरी कामहरुको लिस्टमा पर्न थाल्यो । उसको आँखालाई आफ्नो आँखामा टाँसिराख्नु, मसँग भेट्दा उसले बोलेको आवाजलाई आफ्नो मनभित्र गुञ्जाइराख्नु र उसको पूर्णकदको तस्बिर डेस्कटप ब्याकराउन्डमा सेभ गर्नु यी सबै कृत्य पर्याप्त थिए म उसलाई प्रेम गर्छु भन्न ।

‘म त जोगीजस्तै हुँ मलाई माया नगर्नू …।’
‘झन् जोगीलाई त माया गर्नुपर्छ नि !’
‘के अर्थ ? कहीँ नपुग्ने मायाको ?’
‘म तपाईंसँग बिहे गर्छु ।’ म उसका लागि कति निर्लज्ज भइसकेकी थिएँ भने आफ्नो बिहेको कुरा आफैँ गर्दै थिएँ ।
‘बिहे ! मलाई यस्ता कुरामा विश्वास छैन । यी सब झुटा कुरा हुन् । अहिले तिमी बच्चै छौ केही पनि बुझ्दैनौ ।’
‘सबै कुरा बुझ्छु म । तपाईंले ठान्नुभएको जस्ती सानी छैन म । त्यसो त हाम्रो लाइफ पनि त झुटै हो नि त्यसो भनेर…, तपाईंको अरु कोही गर्लफ्रेन्ड छे हो ?’

मलाई यस्तो लाग्दैथ्यो, ऊ सीधा कुरा गरेर मेरो मन दुखाउन चाहिरहेको छैन ।
‘छैन ।’
‘जबसम्म तपाईं बिहे गर्नुहुन्न तबसम्म म पनि बिहे गर्दिनँ ।’
‘फिल्मी कुरा नगर मसँग ।’
‘फिल्मी होइन साँच्चै भनेकी ।’
‘जिन्दगीभर कन्या बस्ने भयौ तिमी ।’
‘साँच्चै तपाईं कसैलाई पनि प्रेम गर्नुहुन्न ?’
‘गर्छु ।’
‘कसलाई ?’

‘आमालाई । म मेरी आमालाई बाहेक कसैलाई पनि माया गर्दिनँ ।’
‘म पनि तपाईंकी आमालाई माया गर्छु ।’
‘इन्जोय योरसेल्फ छायाँजी, बेटर मलाई माया नर्गनुहोला ।’
सरसको यो रुढ व्यवहारले मेरो मन ननिको गरी दुखेको थियो । केही दिनसम्म त बोलिनँ पनि । तर यस्ता कुरा बिर्सिहाल्छु । र, पहिलेको भन्दा अलिकति बढी नै मन पराउन थाल्छु, झन् बढी माया गर्न थाल्छु ।
एक दिन सोधेँ, ‘किन प्रेमप्रति यस्तो विरक्ति तपाईंको ? कहिल्यै पनि कसैलाई मन पर्ने–पराउने भएन ?’
‘अहँ ।’

मैले ठाडै भनेँ, ‘प्लिज, मलाई एसेप्ट गर्नुस् ।’
मेरो कुराले ऊ हाँस्यो मात्र ।
‘प्रेम गरेर के हुन्छ ?’
‘हुनुपर्ने चाहिँ के हो र ?’
मेरो प्रेम फिल्मी थिएन । उसले भनेकै समयमा उसको कोठामा पुगेँ । फर्कंदा त्यो दिन म आफ्नो घर नगई आन्टीकोमा गएँ । घरले पनि के भन्ला भन्ने लाग्यो । मान्छेको सङ्गत खोज्ने अभिलाषाले ‘उसको कोठा’सम्म पु¥याइदियो । नराम्रो कत्ति पनि लागेको थिएन । आफैँदेखि अचम्म भने लागिरहेकै थियो । जीवनको मोहले त्यहाँँसम्म पुगेकी हुँ म । प्रेम प्राप्तिका लागि । पछुताउ कत्ति पनि छैन । त्यसपछि नै त म सरसले नभने पनि निश्चिन्त भएँ, मलाई प्रेम गर्छ भन्ने कुराको । सबै कुरा मुखैले भन्नुपर्छ भन्ने पनि त थिएन ।

मेरी दिदी पढ्न–लेख्न सोखिन मान्छे । पहिले पहिले, उहाँको बिहे हुनु पहिले, उहाँ आफूलाई मन परेका लेख–रचना जतनसाथ सँगालेर राख्नुहुन्थ्यो । उहाँ पहिले एनजीओमा काम गर्नुहुन्थ्यो । अहिले दिदी केही पनि गर्नुहुन्न । सात वर्षअघि अमेरिकन इम्टसमेलसँग बिहे गरेर उतै जानुभएको थियो । दिदीले अमेरिकन भिनाजुसँग डिभोर्स दिनुभयो । केही महिनादेखि दिदी हामीसँगै अर्थात् माइतमै बस्नुहुन्छ । उहाँहरुको पाँच वर्षको छोरा पनि छ । दिदी मभन्दा उमेरमा निकै ठूली हुनुभए पनि म दिदीलाई साथी जस्तै ठान्छु र सबै कुरा सुनाउँछु । दिदी भने मलाई साथी जस्तै गर्नुहुन्न कहिले त रिस पनि उठ्छ मलाई । केही पनि सुनाउँदिनँ भन्छु । म सक्तिनँ ।

मैले सरसको बारेमा बताएँ । चिनेझैँ गर्नुभएन । पछि सरससँग दिदीको बारेमा भनेँ । उसले त चिनेको मात्रै होइन, सँगै कलेज पढेका हौं पाि भन्यो । म मायाकी बैनी भनेर सुन्नासाथ अचम्मको अनुहार लगाएको थियो ।
‘अमेरिकनले हामी नेपालीलाई के चिनिराख्नु त ।’
‘त्यस्तो होइन, दिदी ज्यादै भुलक्कड हुनुहुन्छ ।’
दिदीको पक्ष लिँदै भन्न त भनेँ मैले । दिदी भुलक्कड मान्छे त होइन, किन नचिनेझैँ गर्नु भो होला ? आफैँसँग प्रश्न गरेँ ।
पछि एक दिन दिदीको बुक¥याकको सबैभन्दा तल्लो खण्डमा सरसले लेखेका लेख र उसका छापिएका फोटोे रहेछन् ।
‘दिदी त सरसको यत्रो ठूलो फ्यान हुनुहुँदो रै’छ । फेरि किन चिन्दिन भन्नुभएको ?’ बुक¥याक नजिकै उभिएर सोधेँ मैले ।
‘ए त्यही सरस हो तेरो प्रेमी ? ओहो ! उसले अहिलेसम्म बिहे गरेको रहेनछ ? तँ हिजो भर्खरकी, ऊ त पाको मान्छे हो त ।’
निस्फिक्रीसँग भन्छु म, ‘होस् न त । त्यति धेरै फरक होइन । तपाईंकै उमेरको हो ऊ ।’

‘धेरै होइन जम्मा १३ वर्ष नै त फरक हो । होइन के ? फेरि ऊ त बाजे हो । हाम्रो परिवारका कसैलाई मन पर्दैन बाहुनहरु ।’
‘जातमा के राख्या छ ? म मन पराउँछु । सकियो ।’
‘तँलाई दिवसले मरिहत्ते गर्छ । पाप लाग्छ हेर त्यसलाई नरुवा ।’
‘दिवस सिवस जाओस् जतासुकै । मलाई मन पर्दैन त्यो केटो ।’
दिदी मेरो कुरा सुनेर मज्जाले हाँस्नुभयो । बसिरहेको ठाउँबाट उठ्दै भन्नुभयो, ‘घरमा बोलाऊ कफी खान ।’
‘कसलाई ?’
‘तेरो प्रेमी सरसलाई ।’
‘किन ? मम्मी बाबाले…’
‘मेरो साथी भनौंला ।’ निर्धक्कसंँग भन्नुभयो दिदीले ।
घरमा बोलाउनु, दिदीको साथी भन्नु । यी सब जरूरी किन प¥यो म बुझ्दिनँ ।
‘किन ?’
‘लौ, हुनेवाला ज्वाइँसाहेबको इन्टरभ्यु लिनु परेन ?’
दिदी मात्रै भएको दिन मैले सरसलाई घर लेराएँ ।
यसपछिका दिन मम्मी–बाबा नभएको दिन कहिलेकाहीँ सरस हाम्रो घर आउँथ्यो ।
सिटिङ रुममा दिदी र ऊ मात्रै हुन्थे । दिदी पटक्कै बोल्नुहुन्थेन सरस केही बोल्थ्यो क्यारे । म भने किचनमा चिया, खाजा पकाउँदैमा ठीक्क ।
दिदीलाई भेटेपछि नै उसले भनेको थियो ।
‘मेरो छोरा र श्रीमती छ ।’
म तीनछक्क मात्र होइन, चारछक्कै परेकी थिएँ । बिहे नै नगरेको मान्छेको…?
एकाएक सरसले ‘बिहे गर्दै छु’ भन्यो । पत्याइनँ मैले ।
मेरो प्रेम ? उसको छोरा र श्रीमती ? अब यो बिहे ?
यहीबेला म कलेजबाट दिल्ली टुर गएँ । फर्कंदा सरसको बिहे भइसकेछ मेरी दिदी अर्थात् माया कार्कीसँग ।
दिदीको पहिलो बिहे आफ्नै रोजाइको थियो । बाबा–मम्मीले निकै चित्त दुखाउनुभएको थियो त्यो बेला । यो बिहे त बाबा मम्मीले नै मन्दिरमा लगेर गर्दिनुभएको रहेछ । मलाई पर्खनसमेत जरूरी ठानेनन् । कति हतार भएको होला त ?
सरसको परिवार खुसी छैनन् रे । बिहेमा कोही पनि आएनन् रे ।

‘यहाँँ एकदमै ढिलो गर्छन् । हेर न, कफी पनि आइपुगेन अहिलेसम्म ।’ सरसको आवाजले झस्किएँ म । पूरै रेस्टुराँ बेलुन र फूलहरुले सजाइएको छ । रेस्टुराँ मण्डप जस्तो देख्छु म । दिदी हुनुपर्ने ठाउँमा म किन छु ? मैले बोलेको हर कुरालाई ‘फिल्मी’को ट्याग लगाइदिन्थ्यो सरस । ऊ आपैmँँले फिल्मभन्दा चर्को ग¥यो । अब फेरि किन १४ फेबु्रअरीकै दिन मलाई यहाँँ बोलाएको हो कुन्नि ? म हतारहतार आइपुगेकै छु । के भन्ने हो सुन्न बाँकी नै छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ राष्ट्रिय गीत ५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तीर्थ पर्यटन ६ः५५…

मेष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ । वृष– कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ…

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…