‘मन परेकीले प्रेमपत्रको जवाफमा ‘बाघझाप्पू’ हानिन्’

–जोसेफ शाही

काठमाडौं । ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको माहोल शुरु भइसकेको छ । कोही बुझेर भ्यालेन्टाइन डे भन्दैछन् त कोही नबुझेरै भन्नुपर्छ भन्दै भ्यालेन्टाइन भन्दैछन् । जे होस्, काठमाडौंसहित देशभर ‘भ्यालेन्टाइन डे’ को रौनक छ । प्रेम जोडीहरु भव्य तयारीमा जुटिसकेका छन् ।

भ्यालेन्टाइन डे को इतिहास केलाउनुपर्दा रोममा युवा प्रेम र विवाह प्रतिबन्धित गरिएको समयमा पादरी भ्यालेन्टाइनले लुकिछिपी जोडीहरुको विवाह गरिदिएको आरोपमा उनलाई जेल चलान गरियो । आफूलाई झुण्ड्याइनुअघि उनले हस्ताक्षर गरेर ‘Love from your Valentine’ लेखिएको नोट जेलरको छोरीलाई हस्तान्तरण गरेका थिए । इस्वी सम्वत् २७० फेबु्रअरी १४ मा रोमका सम्राट क्लाडियसको आदेशमा इटलीका पादरी सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको थियो । उनैको बलिदान र त्यागको सम्झनामा मनाउन थालिएको ‘भ्यालेन्टाइन डे’ले विश्वभर प्रेम दिवसका रुपमा साम्राज्य बनाएको छ ।

‘भ्यालेन्टाइन डे’ अन्तर्गत ‘रोज डे’ मा दिइएको रोजले कतिको मन गुलाब जस्तै रंगीन भइरहेको होला त कतिको मनमा यो मौसमजस्तै कालो बादल मडारिइरहेको होला । ‘प्रपोज डे’ मा जतिले प्रेम प्रस्ताव राखे, सबैको कानले शुभ सन्देश पक्कै सुन्न पाएन होला । कोही ‘भ्यालेन्टाइन डे’को बाँकी तयारीमा जुटिसके होलान त कोही मौसमले च्यालेन्ज दिएको बहानामा मस्त नशामा आफनो भाग्यलाई धिक्कार्दै होलान् । तर व्यस्त रंगकर्मी भोलाराज सापकोटालाई भ्यालेन्टाइन आउनु र जानुले तात्विक अर्थ राख्दैन । हाम्रो आग्रह स्वीकार्दै उहाँले पहिलो प्रेमको आभाषबारे केही भावना व्यक्त गर्नु भएको छ ।

‘हेटौँडामा ७ कक्षा पढ्दा सँगै पढ्ने केटी औधी मन पथ्र्यो,’ भोलाले भन्नुभयो, ‘दुई दशकअघि अहिलेजस्तो सामाजिक सञ्जालको सुविधा पनि थिएन तर उनलाई देख्ने बित्तिकै मन खुशीले बुर्कुसी माथ्र्यो ।’ थप्नु भयो, ‘उनी जता जान्थिन्, त्यतै जान मन लाग्थ्यो, शनिबार बिदाका दिन पनि उनको घर नजिकैको बाटो हिँड्थे तर मनको कुरा भन्न खोज्यो कि डर र अफसोचको पहाडले खसेर थिचिन्थेँ ।’

‘घाइते शब्दहरु नतङिग्रएर होला, बचेका शब्दहरु जम्मा पारेर टुटेफुटेका कविता लेख्न थालेँ,’ भोलाले भन्नुभयो, ‘त्यतिखेर हिरो हिरोइनको फोटो भएको पोष्ट कार्ड दिने चलन थियो । त्यो कार्डमा उनलाई नयाँ वर्षको शुभकामना लेखेर दिएँ तर मनले मन पराएको संकेतसम्म दिन सकेन ।’

‘मनको भाषा बुझिनन् या बुझेर पनि बुझ् पचाइन्,’ सापकोटाले विगत सम्झनु भयो, ‘कोमल मनमा उम्रिन थालेको बालप्रेम निसास्सिएर मर्यो । मायाको भ्रुण नै हत्या भयो ।’

‘एसएलसी उत्तीर्ण गरेर कलेज भर्ना भइसकेँ, तर मनमा उनको याद बेलाबेला उप्किरहन्थ्यो,’ सापकोटाले भन्नुभयो, ‘२०५४ सालतिर काठमाडौं आएँ, नाचघरमा अभिनयको एकवर्षे कोर्स पूरा गरेपछि आरोह नाट्य समुहमा सहभागी भएर विभिन्न नाटकहरुमा अभिनय गर्न थालेँ, कार्यव्यस्तता र भेटघाट पातलिएपछि उनको यादले अर्को कुइनेटा काट्दै गर्दा विश्राम लिइसकेछ ।’

‘२०५९ सालमा गुरुकुलमा ३ वर्षे अभिनय कोर्सका दौरानमा ‘ताराबाजी लै लै’ नाटकमा अभिनय गर्ने थालेँ,’ सापकोटाले बहिकनु भयो, ‘एकाएक उनको यादले मन पानी–पानी हुन थाल्यो, भित्रभित्रै निचोरिन थालेँ, यादको घाउ पाक्लाजस्तो भयो ।’ कस्तो संयोग थियो भने, नाटकमा केटीलाई औधि मन पराउने तर भन्न नसक्ने पात्रको भूमिकामा सापकोटाले अभिनय गर्नु परेको थियो । अन्य सहपाठी पात्रहरु भन्थे, ‘चिठ्ठी लेख न, हामी हुलाकी भइदिउँला !’

‘म पनि राम्रै हुस्सु बनाइएको रहेछु,’ सापकोटाले अतीत उग्राउनु भयो, ‘साथीहरु त चिठ्ठी मैले मन पराएको केटीलाई नदिएर आफैँ जवाफ लखेर फर्काउँदा रहेछन् ।’ ‘मनकी रानीको चिठ्ठीको जवाफले मख्ख परेर एकदिन आफैँ चिठ्ठी लखेर पुर्याउन जाँदा त केटीको बाघझाप्पु भेटिहालेँ,’ सापकोटाले भन्नुभयो, ‘बाघझाप्पु खाएर फर्किँदा साथीहरु हाँसेर उडाए ।’ नाटकमा अभिनय गरेको भूमिकाले स्कुलमा मन पराएको केटीको याद खोल्सा बनेर मात्र सुसाएन । सागर बनेर ठूलो नीलो रहमा डुबिरहनु भयो भोला ।

‘रंगमञ्च यात्रामा समय बित्दै गयो र घरमा बिहेको कुरा चल्न थाल्यो,’ भोलाले भन्नुभयो, ‘सहकर्मीहरुको पनि धमाधम बिहे हुन थालेपछि केटी हेर्न हेटौँडा गएँ । केटी हेर्न गएको पहिलो घरमा बाठो भएर ‘रंगमञ्चमा अभिनय गर्छु’ भन्दा ‘ज्वाइँ हुने’ पहिलो चरणको मौखिक परीक्षामा फेल भएँ ।’ त्यसपछि ठूलो बुबाको छोरासँग अर्को घरमा केटी हेर्न पुग्नु भयो भोला ।

‘साधारण केटी मन पथ्र्यो, पर्दा गाउँमा भैँसीको भकारो सोहोर्न सक्ने र शहरिया वातावरणमा पनि समायोजन हुँदा सुहाउँदिली हुन सक्ने,’ सापकोटाले भन्नुभयो, ‘झट्ट हेर्दा उनी गाउँको परिवेश बुझेको र पढेलखेको भएकाले शहरमा पनि समायोजन हुनसक्ने लाग्यो ।’ ‘८ वर्षअघि मागी विवाह भयो,’ सापकोटाले भन्नुभयो, ‘विवाह गरेपछि विस्तारै पहिलेको याद डाँडाको जून भइन् ।’ बाटो अलग भइसकेपछि मनको दूरी बढ्दै जाने भोलाको भोगाइ छ । ‘विवाह भएको ३–४ वर्षपछि उनलाई मन पराएको भनुँ–भनुँ जस्तो लागेको थियो तर भन्न जरुरी ठानिनँ,’ भोलाले भन्नुभयो, ‘विवाहपछि मायाको आभाष आफ्नै बूढीसँग हुँदै गयो ।’

‘गाउँमा हुँदा ‘भ्यालेन्टाइन डे’बारे अन्जान थिएँ,’ भोलाले भन्नुभयो, ‘काठमाडौं आएपछि थाहा पाएको हँु । तर भ्यालेन्टाइन डे आउनु र जानुले मेरो जीवनमा तात्विक अर्थ राख्दैन ।’ विवाह भएको ९ वर्ष पार भएका छन् । भोलाले भन्नुभयो, ‘आजसम्म ‘ह्याप्पी भ्यालेन्टाइन डे बूढी’ भनेको छैन ।’ युवा पुस्ता आफ्नै कला, संस्कृति भन्दा बढी विदेशी संस्कृतिमा रमाइरहेकोमा चिन्ता छ भोलालाई । आफ्नै नयाँ वर्षलाई महत्व नदिने तर तर ‘ह्याप्पी न्यू इएर’ भन्ने सन्देश एकमहिनाअघि नै मोबाइलमा बज्न थाल्छ ।

रंगकर्मी एवम् अभिनेता भोलाराज सापकोटाले ५० भन्दा बढी नाटकमा अभिनय गर्नु भएको छ । उहाँले नेपाली चलचित्र सानो संसार, झुम्की, कुम्भकर्ण, पिञ्जडा ब्याक अगेन, पण्डित बाजेको लौरी, रणवीर, गोपी, माछा–माछा, र हिन्दी चलचित्रमा ‘बर्फी’ मा रणवीर कपुरको साथीका भूमिकामा अभिनय गर्नुभएको छ ।

चर्चित अभिनेता सौगात मल्ल, दयाहाङ राई, कमलमणि नेपाल, सरिता गिरी, अरुणा कार्की, राजकुमार पुडासैनी, सुरेश चन्द, सुवास थापालगायतका कलाकारहरु उहाँका रंगमञ्चदेखिको सहकर्मी हुनुहन्छ । अभिनय के रहेछ भन्ने प्रश्नको जवाफमा उत्तर थियो, ‘अभिनयको परिभाषा भेटेकै छैन ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रहरी हिरासतमा रहेका पत्रकार रवि लामिछाने पक्राउ प्रकरणमा कलाकारहरूले निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।

रमेश शुभेच्छुको संकलन र सम्पादनमा ‘वर्ष साहित्य पुस्तक–२०७४’ प्रकाशित भएको छ ।

वडा नम्बर ७ का सचिव चेतबहादुर कुँवरलाई बलात्कर आरोप लागेको हो ।

सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीभित्रै  पनि समस्या छन् ।

सर्वसाधारण नागरिकले नेपाली सेनाको पोशाक लगाए कारबाही गरिने भएको छ ।

बूढीगङ्गा नगरपालिकामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ ।