Nic

बेमौसमी अप्रिय धून र असहज खुड्किला

बेमौसमका धूनहरु जतिसुकै मेहनत गरेर बजाए पनि ती कर्णप्रिय हुँदैनन् । तर पनि आत्मरतिका लागि बेमौसमी बाजा बज्ने गर्दछन् । नेपालको राजनीतिमा पनि यस्ता अरुचिकर बेमौसमी बाजाहरु पटकपटक बज्दछन् । राजनीति प्रत्यक्ष समाज र समकालीन सन्दर्भसँग सरोकार राख्ने विषय भएकाले राजनीतिका बेमौसमी बाजाहरु झनै दिक्क लाग्दछन् । तर पनि जनताले कान खुला, मुख बन्द र मनमा दिक्दारी पालेर त्यो बेमौसमी बाजाको धून सुन्नु परेको छ । विगतमा सुनियो, वर्तमानमा सुनिँदैछ र भविष्यमा पनि यसबाट मुक्त हुने लक्षण देखिँदैन । यस्ता बेमौसमी धूनहरुले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान चरितार्थ गरेको छ ।

लोकतान्त्रिक संविधानको घोषणापश्चात् निर्वाचन भइ पाँच वर्षका लागि स्थायी सरकार बनेपछि सबै दलको यतिबेलाको चासो र चिन्ता संविधान कार्यान्वयनतर्फ हुनपर्ने हो । देशको समृद्धि र विकासमा ध्यान केन्द्रित हुनपर्ने हो । तर चासो र चिन्ता सबै दललाई सत्ताको बढी छ । अहिले पनि संविधान कार्यान्वयनका कुन कुन काम गरियो कुन बाँकी छन् भन्ने हिसाब कुनै दलले गरेको छैन । न त संविधान कार्यान्वयनमा मेरो भूमिका के हुन्छ भनेर नै आँकलन गरिएको छ । बरु सबै नेता कसरी आफूलाई सर्वगुणसम्पन्न देशको निर्माणकर्ता र अरुलाई सर्वगुणहीन देशको संहारकर्ताका रुपमा प्रस्तुत गर्ने भन्ने दौडधूपमा छन् । सत्ता पक्ष सत्ता टिकाउन र आफूले अकल्पनीय काम गरेँ भन्नमा केन्द्रित छ भने विपक्षी दल सरकारले सिन्को पनि भाँचेन भनेर खोट देखाउने दौडमा छ । तर यथार्थमा न सरकारले अकल्पनीय काम गरेको छ न प्रतिपक्षले भने झैँ सरकार सुतेर नै बसेको छ । यी दुवै अतिवादको चेपुवामा देशचाहिँ फेरि पनि दिशाविहीन यात्रामा छ ।

सुन्दर पक्ष भनौँ, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो । संविधान बन्यो । स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन भयो । जतनताको घरदैलोमा नै आफैँले छानेका जनप्रतिनिधिहरुको विजयउत्सव पनि मनाइयो । केन्द्रमा दुई तिहाइको सरकार पनि बन्यो । सिंहदरबारको अधिकार गाउँमा पुगेको घोषणा पनि गरियो, तर विडम्बना अझै पनि सिंहदरबार गाउँलाई अधिकार दिन कञ्जुस्याइँ गरिरहेको छ । हिजो एकात्मक राज्यसत्ताले अधिकारको केन्द्रिकृत ग¥यो भन्नेहरु नै आज तल्लो तहमा अधिकार दिन हिच्किचाइरहेका छन् । संघीयताले अधिकार गाउँमा वितरण गर्ने हो, जनताको घरदैलोमा सेवा पु¥याउनु नै संघीयताको मूलमर्म हो । एउटा व्यक्ति र निकायको सट्टा अर्को व्यक्ति र निकायमा अधिकार सुम्पने संघीयताको मनसाय होइन । तर यहाँ त व्यक्ति, गुट र दलमा केन्द्रित भएर अधिकार बाँडफाँट हुने अभ्यास भइरहेको छ । राजनीतिक मैदानमा आफ्नो स्थान जहाँ सुरक्षित हुन्छ, त्यहीँ अधिकार केन्द्रित गर्नुपर्ने साँघुरो मानसिकता हावी भइरहेको छ । यस्तो संकुचित मानसिकता हुनु अत्यन्तै दुःखद पक्ष हो ।

यतिबेलाको प्रमुख एजेण्डा देशको समृद्धि हो । राजनीतिक उपलब्धिपछिको आर्थिक उपलब्धि हासिल मुख्य लक्ष्य हो । सरकारले आफैँले तय गरेको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई मूर्तरुप दिनु हो । तर त्यो मूर्तरुप दिन नारा निर्माण गर्नु जस्तो सजिलो भने छैन । सरकारभित्रका यावत् समस्या, सत्तारुढ दलभित्रको खिँचातानी, जनअपेक्षा र स्रोत र साधनबीच तालमेल नमिल्नु, भएको स्रोत र साधनमाथि पनि भ्रष्टाचार हुनु र सुशासनको अभाव जस्ता कुराले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा कार्यान्वयनमा चुनौति थप्छन् । जुन बेला जे काम हुनुपर्ने हो, त्यो काम हुँदैनन् । नहुनुपर्ने बेलामा हुन्छन् ।

देशलाई दू्रतगतिमा विकासको पथमा लैजान र जनताले चाहे जस्तो परिवर्तनको अनुभूति गर्न परम्परागत बाटोमा हिँडेर सम्भव छैन । तर परम्परागत शैलीमा काम गर्ने ब्युरोक्रेसी परिवर्तन गर्न सरकारलाई ठूलो चुनौति छ । सुशासनको सवाल राजनीतिक नेतृत्वसँग जति जोडिएको छ, त्यो भन्दा बढी प्रशासनिक नेतृत्वसँग जोडिएको छ । नीतिगत तहमा भन्दा कार्यगत तहमा सुशासनको खडेरी छ र यसको निरन्तरता भएसम्म समृद्ध नेपाल सुखी नेपालीको नारा पनि सार्थक निष्कर्षमा पुग्न सक्तैन ।

समसामयिक सन्दर्भमा सबैभन्दा विचित्र चित्रचाहिँ विपक्षी दल कांग्रेसको सडक आन्दोलन देखिन्छ । तोडफोड र सडकमा ननिस्केसम्म आफ्नो काम नदेखिने हिनतारतिग्रन्थीले राजनीतिक दलहरु परम्परागतरुपमा ग्रस्त छन् । यतिबेला त्यो रोग विपक्षी कांग्रेसलाई पनि लागेको छ । विपक्षीको काम विरोध गर्ने हुनसक्छ, तर अवरोध गर्नु होइन । अवरोध गर्नु भनेको लोकतन्त्रविरोधी काम हो । तर सत्तामा भइञ्जेल बन्द, हड्ताल र तोडफोड विरोध गर्ने र तत्कालीन एमाले र माओवादीलाई बन्द हड्ताल र तोडफोडको पर्याय ठान्ने कांग्रेस आज आफैँ त्यसतर्फ उदत छ । कांग्रेसको भ्रातृसंगठन नेविसंघले बिदाका दिन सरकारी गाडी चलाएको निहुँमा गाडी तोडफोड र आगजनी गर्नु यसैको उदाहरण हो ।

सबैलाई चेतना हुनुपर्ने कुरा के हो भने यो समय देश बनाउने हो, भत्काउने होइन । अवरोधले कतै पनि देश बनेको इतिहास छैन । नेपालको सन्दर्भमा नै भन्ने हो भने पनि इतिहासमा विपक्षीका विरोधले कुनै उल्लेखनीय परिणाम ल्याएको छैन । भविष्यमा पनि यसको कुनै परिणाम आउनेवाला छैन । यसकारण विपक्षीको सडक विरोध बेमौसमको बाजाबाहेक केही होइन । जनताको नाम लिएर तोडफोड गर्दैमा अब कुनै जनता नामको मान्छेले पत्याउनेवाला छैन । तोडफोड गर्नेलाई समर्थन त परै जाओस् ‘विचारा सोचाइ र बुझाइ’ भन्न पर्ने स्थिति नआउला भन्न सकिन्न ।

राजनीतिक गतिविधि समय र परिस्थितिअनुसार चल्नुपर्छ तर त्यसको केन्द्रमा भने देश र जनता हुुनुपर्छ । जुन राजनीतिज्ञले आफूले टेकेको धरातल चिन्छ त्यो राजनीतिज्ञ नै भविष्यमा सफल हुन्छ । अन्यथा जनतालाई झुक्याउने काम गर्दा कालान्तरमा नेताहरु आफैँ झुक्किन्छन् । अर्कोपटक सांसद वा मन्त्री हुने नहुने पक्का छैन, पा’को बेला खाइहालौँ न त भन्ने संकुचित मानसिकता राख्ने र विपक्षी बेञ्चकाले पनि आफूले मन्त्री पाइएन अरुलाई चैनले काम गर्न किन दिने भन्ने सोच राखेर गतिविधि गर्ने हो भने त्यस्तो व्यक्ति भविष्यमा राजनीतिक मैदानबाट ‘रिङ आउट’ हुन्छ । त्यसैले हरेकले रिस राग नराखी आफूलाई जनताको दिएको जिम्मेवारी देश र जनताई सम्झेर इमानदारपूर्वक गर्नुपर्छ । कसैले पनि बेमौसमी बाजा बजाउनु हुँदैन । बेमौसमी बाजाको परिणाम पनि सकारात्मक आउँदैन । बेमौसमी बाजा नबजाउँ । जुन बेला जे गर्नुपर्ने हो त्यही गरौँ । जेलाई प्राथमिकता दिनुपर्ने हो, त्यसैलाई प्राथमिकता दिउँ । एक अर्काबीच रिसराग, घोचपेच र असहयोग होइन, सहयोग र सदाचारको नीति अवलम्बन गरौँ ।

बेमौसमी खेतीले गतिलो फल दिँदैन । कहिलेकाहिँ रहरले गरिएका बेमौसमी खेतीले फल दिइहाले पनि त्यो फल झरिलो हुँदैन । टाक्सिएको फल मात्र दिन्छ । यस्ता बेमौसमी खेतीका फल दीर्घकालीन हुन पनि सक्तैनन् । आत्मरतिमा रमाउनेबाहेक बेमौसमी खेती काम लाग्दैन । बेमौसमी काममा जोड गर्नुभन्दा ठीक काम, ठीक समयमा, ठीक व्यक्तिद्वारा, ठीक तरिकाले गर्नु नै बुद्धिमतापूर्ण कार्य हुन्छ । सही तरिकाले सही समयमा गरिएको कामको परिणाम मात्र सही हुन्छ । विगतको लामो समयदेखिको राजनीतिक अस्थिरता ठीक समयमा ठीक तरिकाले काम नगर्दाको परिणाम हो । हामीले विगतका गल्तीबाट सिक्ने हो दोहो¥याउने होइन । समस्याको जड नागरिकमा होइन, राजनीतिक नेतृत्वमा छ । यसमा राजनीतिक नेतृत्वको समयमै ध्यान पुग्नु जरुरी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मोहनप्रसाद ओली फोनको प्रतिक्षामा थिए । जनता समाचार डटकमले केही दिनअघि सामाजिक सञ्जालमा आएको अन्तरवार्तालाई अनलाइनमा उतारेको थियो…

काठमाडौं । प्रधानमन्धी केपी ओली आजबाट ६८ वर्ष प्रवेश गर्नुभएको छ । ६८ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले वृक्षारोपण गर्नुभएको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…