कम्युनिष्ट नेता माउत्सेतुङको नेतृत्वमा चीनमा साम्यवाद स्थापना भएको सन् १९४९ देखि सन् २०१६ सम्मको ७० वर्षमा चीन विश्वको शक्तिसम्पन्न राष्ट्रको सूचीमा उभिन पुगेको छ । समयको गति चिनेर माउत्सेतुङपछि चिनियाँ नेता तेङ स्याओपिङको नेतृत्वमा खुला नीति अवलम्बन गरेर साम्यवादको सफल कार्यान्वयनपछि चीनले संसारमा चमत्कार देखाएको छ । तीनवर्षअघि पत्नी सानुबाबासँग चीन भ्रमणमा गएको थिएँ । यो निजी भ्रमण थियो । ४४ वर्षअघि बे्रजनेबका समयमा सोभियत रुस भ्रमण गर्ने मौका पाएको थिएँ । तर भ्रमणको १३ औँ दिनमै प्रतिशोध राखेर फिर्ता पठाइयो किनकि मैले नेपालको राष्ट्रियता समर्थन गरेर विश्व शान्ति सम्मेलनमा बोलेको थिएँ । र, केही वर्षपछि सोभियत रुस ढल्यो ।
सोभियत रुसको दाँजोमा चीनको भ्रमण अत्यन्तै न्यानो थियो । चीन र चिनियाँ जनताको विकास, समृद्धि र सच्चाइका लागि महान कार्य भएका छ । चीन विश्वको समृद्ध राष्ट्रको रुपमा देखिदँैछ । बेलायती साम्राज्यले चीनमा पसेर चिनियाँहरुलाई कमजोर र गरिब बनाएर चिनियाँ स्रोत तथा सम्पत्ति लुटेकाले चीनमा साम्यवादी व्यवस्थापछि चीनले साम्राज्यवादीको खोइरो खन्यो । चीन सरकार र चिनियाँ जनता चीनको सार्वभौमसत्ताको सुदृढीकरणमा सधैँ जागरुक रहन्छन् । चीनको सम्पूर्ण, जमीन, उद्योग, भवन, जनता बस्ने घर, निवास सरकारको अधीनमा हुन्छन् । कुनै पनि चिनियाँले आफ्नो इच्चाअनुसार स्वतन्त्रतापूर्वक काम गर्छन् । तर हरेक चिनियाँले आफू बसेको घर र आफूले उत्पादित सामग्रीको सरकारलाई कर बुझाउनु पर्छ । कर तिर्न कसैले धाँधली गर्न पाउँदैनन् ।
चीनमा राष्ट्रवादी नेता माओत्सेतुङले सम्राज्यवादविरुद्ध चिनियाँ जनता संगठित गरेर ठूलो संघर्षकासाथ सन् १९४९ मा जनगणतन्त्र घोषणा गरेर त्यसैबाट चीनलाई आधुनिककरण गर्ने महायक्षमा समाहित हुन पुगे । तेनमेन स्क्वाएरको सम्पूर्ण घर, झुप्रा भत्काएर आधुनिक मैदान बनाए । तेनमेन स्क्वाएरको अर्कोपट्टि ग्रेट हल अफ चीनको निर्माण गरेर राष्ट्रपति, मत्रिन्परिषद्, अन्तर्राष्ट्रिय भेटघाटलगायत सरकारी कामकाजको केन्द्र बनाए । ग्रेट हलले धेरै भूभाग ओगटेको छ । चीन साम्राज्यवादी शक्तिसँग डराएन । चीनमा ठूलो उथलपुथल आयो । चीनको नेतृत्व तहमा रहेका देशभक्त र राष्ट्र निर्माणमा सधैँ सरिक छन् । कुनै पनि भ्रष्ट र देशद्रोही भेटियो भने त्यस्ताको कत्लेआम हुन्छ । चीन अहिले भौगोलिकरुपमा मात्र होइन, भौतिक उन्नतिका हिसाबले संसारकै उच्चकोटीको समृद्ध राष्ट्रका रुपमा देखा परेको छ । माओले करिब तीन दशक शासन गरे । माओत्सेतुङको शव बडो सम्मानका साथ तेनमेन स्क्वाएर छेउको ऐतिहासिक घरमा राखिएको छ । माओपछि तेङ सियाओ पिङ सत्तामा आएपछि उनले समाजवादी अवधारणाबाट खुला अर्थतन्त्र निजीकरण गराएर चीनको विकासमा ठूलो परिवर्तन ल्याउने काम गरे ।
दुईसय वर्षअघि नेपोलियनले भनेका थिए, ‘चीन सुतिरहोस् तर जब चीन निद्राबाट ब्युँझिन्छ तब उसले विश्वलाई हल्लाउँछ ।’ यो भविष्यवाणीले चीनको चमत्कारी विकासले झक्झक्याइरहेको छ । चीन भौगोलिकरुपमा संसारकै ठूलो देश हो । तर गरिबीका कारण चीन संकटमा थियो । नेपाल जस्तो चीन सुगमभूमि होइन । जाडोमा अत्यन्त जाडो, गर्मीमा अत्यन्त गर्मी रहने चिनियाँ जनताले सशक्त देशभक्त नेतृत्व पाएपछि चीन धपक्क बलेको छ । घरघरमा जाडोका लागि कोठामै तातो हिटरको व्यवस्था र गर्मीमा एयर कन्डिसन उपलब्ध छ । शहर र गाउँमा केही फरक परे पनि जनताका लागि सबैलाई समान व्यवहार गर्ने चिनियाँ नीति देखियो । चीनको सत्तामा हरेक नेतृत्वको समय अवधि ५ वर्ष र बढीमा १० वर्ष तोकिएकाले हरेका १०–१० वर्षमा चीनको सत्ता परिवर्तन हुने परिपाटी बसेको छ । माओत्सेतुङको मार्गदर्शनलाई नबिगारी चिनियाँ जनताको इच्छा बुझेर तेङ सियाओ पिङबाट जुन योगदान भए, त्यही नै अहिलेको चीनको चमत्कार हो । तेङ सियाओ पिङको समयदेखि विश्वमा चीनको अर्थतन्त्र उजागर भएको र यसले चीनले विश्वमा वाणिज्य तथा व्यापार मात्र होइन, विश्वमै विज्ञान र प्रविधि क्षेत्रमा चमत्कारी विकास गरेको देखियो । समयअनुसार चल्ने चिनियाँ कम्युनिष्ट पार्टीले लक्ष बनायो ।
तेङ सियाओ पिङले सन् १९७७ मा नेपाल भ्रमण गरेका थिए । त्यसबेला स्वागत गर्ने मौका पाएको थिएँ । भ्रमण अवसरमा उनले भनेका थिए, ‘नेपाल आफ्नो संस्कृति र इतिहासमा धनी छ । नेपाल जनता सार्वभौमसत्ताका र राष्ट्रिय स्वतन्त्रताका धनी छन् । नेपाल साम्राज्यवादविरुद्ध सधँै सक्रिय संघर्षरत छ ।’ तेङ सियाओ पिङको १० वर्षपछि जीन जमीन सत्तामा आएपछि ब्रिटिस र पोर्चुगलसँग सुमधुर मित्रता बढाएर सन् १९९९ मा मकाउ पोर्चुगलको उपनिवेश र बेलायतको उपनिवेशबाट हङकङलाई चीनमा गाभ्ने काम गरे । तर चीनका कम्युनिष्टको दाँजोमा नेपालमा कम्युनिष्टको तुलना गर्न सकिँदैन । नेपालका कम्युनिष्ट भारतपरस्त ठहरिएका छन् । नेपालको राष्ट्रियता तथा यसका पहिचानलाई ध्वस्त बनाएर देशको सार्वभौमसत्ता माथि नै आक्रामक हुने, माओवादीको नाममा नेपालका कम्युनिष्टले नेपाली जनताको अपहरण, हत्या, आतंक, लुट मच्चाएर जसरी हुन्छ पैसा कमाउने, ठूल्ठूला भवन बनाउने, लुटका पैसाले दादागिरी गरेर शक्ति प्रदर्शन गर्ने, देश डुबोस् वा जेसुकै होस् वा नेपाली जनता मरुन् त्यसको चासो नेपालका माओवादीले लिएनन् ।
जीन जमीनपछि हु जीन ताओ राष्ट्रपति बनेर चीनको अर्थतन्त्र विश्वसामु चुनौतिपूर्ण बनाउने काम गरे । चीनले धर्म स्वतन्त्रताको नीति लिए पनि हु जीन ताओ पश्चिमा राष्ट्रले चीनलाई इसाई साम्राज्यवाद ध्वस्त गर्ने नीति लिएकाले उनी क्रिस्चियनप्रति अनुदार थिए । जीन ताओको अवधि समाप्त भएपछि सी जीनफिङ्् चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेता र राष्ट्रपति बनेपछि उनले महान नेता माओ र तेङ सियाओ पिङको बाटो समातेर बडो उदार नीतिबाट विश्वभर राम्रो समझदारी बनाउन सफल बनेका छन् । तेङ सियाओ पिङको समयदेखि १०–१० वर्ष चिनियाँ राष्ट्रपतिको पदावधी निर्धारित गरिएको थियो । तर सी जीनफिङ्् लोकप्रिय भएकाले ५ वर्षको अवधि बितेपछि सी जीनफिङ्् जीवनभर राष्ट्रपति बन्नसक्ने चीनको सर्वोच्च महासमितिले निर्णय गरेपछि सी जीनफिङ्् विश्वभर चर्चाको शिखरमा छन् । नेपालको सार्वभौमसत्ता सुदृढ रहिरहोस् भन्ने चीनका नेता माओ र तेङ सियाओ पिङको चाहना थियो । माओ र तेङ सियाओ पिङहरु नेपालको राजसंस्थालाई साम्राज्यवादी शक्तिसँग भिड्न सक्ने शक्तिको रुपमा लिन्थे ।
तर अहिले चीनको अमेरिकामा बढ्दै गएको प्रभाव देखेर राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामग्री घटाउने नीति घोषणा गरे । त्यसलगत्तै चीनले २५ प्रतिशत भन्सार बढाइदिएकाले अमेरिकी जनताको टाउको दुःखेको छ । किनकी चिनियाँ सामान अत्यन्त सस्ता छन् । अमेरिकाले जति नै चिनियाँ दैनिक उपभोग्य सामग्री बन्द गराउन खोजे पनि अमेरिकाको केही चल्नसक्ने देखिँदैन किनकी अमेरिका हतियार लिएर आप्mनो साम्राज्य स्थापना गर्न बाहिरी विश्वमा हिँडेको छ भने चीन अमेरिकालाई आफ्नो बजार बनाउन सफल हुँदैछ । अमेरिकी राष्ट्रपति ट्रम्प राष्ट्रपति बनेपछि सी जीनफिङ््ले टेलिफोनबाट बधाई दिएर अमेरिकी आक्रोश निस्तेज बनाइदिएका थिए । अमेरिकाको निर्देशनमा चीनको उग्र विरोधमा उत्रेका दलाइ लामा र फ्रि तिब्बतवाला हेरेका हे¥यै भए । सी जिङफिङ यस्ता नेता हुन् कि चीनमा साम्यवाद स्थापना भएपछि सन् १९५२ मा जन्मेका युवा नेता हुन् । चीनमा जीवनपद्धति तीन किसिमको छ । नेतृत्व तह, व्यापारी र उद्योगपति र किसान । नेतृत्व तहमा बसेकाहरु आआफ्ना कर्तव्यसँग अत्यन्त सचेत र जिम्मेवार रहन्छन् । किसानहरुले सरकारबाट जग्गा र बस्ने घर पाउँछन् । घर र जमीनको कर तिरेर जति उत्पादन गर्न सकिन्छ, त्यो चिनियाँ किसानको सम्पत्ति हुन्छ । किसानहरु किसानबाहेक अन्य काम गर्न, हिँडडुल गर्न व्यक्तिगतरुपमा स्वतन्त्र हुन्छन् । उद्योगपति नयाँ उद्योग निर्माण र उत्पादनमा सक्रिय भएका छन् ।
चीनमा ठूल्ठूला भवन निर्माण भएका छन् । हरेक भवन ठेकेदारहरुले तोकिएको नियमकानुन अनुसार लगभग ७० वर्षसम्म लिजमा निर्माण गरेका हुन्छन् । ६०–८० तले भवन ठडिएका छन् । हरेक तलामा अनेकौँ कार्य भइरहेका छन् । व्यापारी जो जहाँ छन् । जसले उत्पादन गर्छन् । ती सबैले तोकिएको कर बुझाउनु पर्छ । राष्ट्रपति सी जीनफिङले चीनमा भ्रष्टहरुलाई कडा दण्ड दिएकाले चीनमा चौतर्फी उनको समर्थन छ । चीनमा पानीको अभाव भएको थाहा हुन्न, लोडसेडिङ हुँदैन । पानीको कर महिना नाघेपछि बुझाउनु पर्छ । तर बिजुलीको पहिला नै रकम बुझाउनु पर्छ नत्र बत्ती निभ्छ । चीनमा सबै बाटा बगैँचा, पार्क सधैँ सफा र सुन्दर रहन्छन् । आवश्यक ठाउँमा निःशुल्क शौचालय राम्रो व्यवस्था छ । चिनियाँ जनता जुनसुकै तहको हुन् मिलनसार र मदतकारी छन् । चीन भौगोलिकरुपमा संसारकै ठूलो देश हो । चीनमा हर व्यक्ति ढुक्क बनेर रातभर हिँडेका हुन्छन् । साम्यवादको समर्थक नभए पनि चीनको चौतर्फी चमत्कार देखेर अत्यन्त प्रभावित भएको छु । अब नेपालले पनि चीनबाट सिकेर प्रजातान्त्रिक व्यवस्थाका माध्यमबाट नेपालको सार्वभौमसत्ता जोगाएर चीन, भारतबीचमा सन्तुलित सम्बन्ध कायम राख्दै नेपालको राष्ट्रियता, प्रजातन्त्र जोगाउने स्रोत तथा आधार जोगाएर सत्तापक्ष, प्रतिपक्ष वा हामी नेपाली जो जहाँ छौँ समृद्ध नेपाल बनाउन कतिवद्ध हौँ ।