आइन्सटाइनबारे मिथक छः ‘जब उनको मृत्यु भयो । स्वर्गमा यमराजले सोधे, तेस्रो महायुद्ध कहिले हुन्छ पृथ्वीमा ?’ आइन्सटाइनले भने, ‘तेस्रो महायुद्ध कहिले हुन्छ थाहा छैन तर पृथ्वीमा चौथो महायुद्ध कहिल्यै हुने छैन ।’ यमराजले सोधे, ‘किन चौथो महायुद्ध हुँदैन आइन्सटाइन ?’ भने, ‘मैले परमाणु अस्त्र छाडेर आएको छु पृथ्वीमा । तेस्रो महायुद्धमा त्यसको प्रयोग हुनेछ । त्यसपछि पृथ्वीमा प्राणी नै रहँदैन । युद्ध कसले गर्छ ?’
मानव समाजको ५ हजार वर्षीय इतिहासमा लगभग ३ हजार युद्ध लडिए । प्रत्येक युद्धले अर्को महायुद्ध र विनाशको खरखजाना तयारीमा मानिसलाई प्रवृत्त गरायो । युद्धमा पराजित हुने खेमा, समूह, समाज वा राष्ट्र गुमेको गरिमा पुनः हासिल गर्न चाहन्छ । पुनरुत्थान चाहन्छ । एक पक्षले परिस्कृत अझ परिस्कृत हतियार बनाउँछ । अर्र्को पक्ष त्यसलाई छेक्ने ढाल विकासमा लाग्छ । यो सिलसिला चलिरहँदा आम विनासकारी हतियार निर्माण भयो । हुँदाहुँदा मानव सभ्यता पागलपनमा उत्रियो । पृथ्वी त एउटै छ । तर मानवले ५० भन्दा अधिक पृथ्वी नष्ट गर्ने आम विनासकारी हतियार बनाएर भण्डारण गरिसके । एउटा मनुष्य एकपटक मर्छ । तर पचासपटक मार्ने हतियार किन ?
युद्धमा जित्नेको इतिहास लेखिएका छन् । महाभारत युद्धमा दुर्योधनको विजय भएको भए उनले इतिहासकारको कलम कब्जामा लिन्थे र इतिहास लेखाउँथे । जीत पाण्डवको भयो र पाण्डवलाई धर्मरक्षक मानियो । युद्धरत पक्षले आफू सत्य, धर्म र न्यायका पक्षमा भएको दाबी गर्छन् । तर धर्म रक्षकहरु नै युद्धपिपाशु हुन्छन् भने अधर्मीहरुले के गर्लान् त ? धर्मक्षेत्रमै युद्ध हुन्छ भने अधर्म क्षेत्रमा बाँकी रहला ? युद्धभूमि अपराधरहित कहिल्यै हुँदैन । अस्त्रसस्त्रको पहिलो प्रहार नै अपराध हो । त्यसकारण युद्धरत मानिस अपराध र अधर्मको पर्याय हो ।
अन्तस्करणमा कायरता र हिंसाको उदगमस्थल एउटै हो । ती व्यक्तिले हिंसा गर्छन् जो कायर छन् । सस्त्रअस्त्र प्रहारबाट शत्रु पक्षलाई ठहरै मार्न उद्धत हुन्छन् किनकी आफूले मार्न सकेन भने शत्रुले मारिहाल्छ । त्यसकारण युद्धरत पक्ष प्रहारको पहिलो र सफल पहलकदमी आफू लिन खोज्छन् । अरुलाई सिध्याएर आफू जीवित रहने हिंस्रक आकांक्षा कायरता हो । अहिंसाका पथप्रदर्शक महात्मा गान्धीको नाम अगाडि मजबुरी शब्द जोडियो । मजबुरीका नाम महात्मा गान्धी भनियो । तर अरुलाई जोगाउने र आफू मेटिन तयार हुने अहिंसावादी मार्ग मजबुरी होइन मजबुती हो । अहिंसावादी बुद्ध, गान्धी, मण्डेला, गुरजिएफ र लाओत्से सदा आफू निमिट्यान्न हुन तयार भए तर अरुलाई जोगाउन चाहे । विषपान गरेर मृत्युदण्ड तोक्ने न्यायाधीकारीलाई मीराले भनिन्, ‘‘मेराे हत्याको पापबाट तपाईंलाई मुक्त गर्छु ।’ आफूलाई मेटाउन तयार यी महान आत्माका सत्कर्म दिवस मनाउन गोग्य छ । युद्ध आफैँमा दारुण परिणाम दिने विभिषिका हो । जुन कालखण्डमा युद्ध भयो, त्यो समय सुखद थिएन । युद्धले समाजलाई जहिल्यै त्रासदी नै दिन्छ । युद्ध दिवस मनाउने विषय नै होइन । अमेरिकाले हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेर नरसंहारको कहिल्यै नदेखिएको विद्रुप रुप संसारलाई देखायो । अमेरिकाले मनाउने परमाणु परीक्षण दिवसमा सरिक हुने त ? महाभारत युद्धमा शवको संख्या नै गिन्तीभन्दा बाहिर भयो । युद्धमा दगुरेको अश्वको टापले उडाएको धूलोले सूर्यको प्रकाश छेकियो । दिन हो कि रात छुट्याउन गाह्रो भयो । के महाभारत युद्ध दिवस मनाउने हो त ?
युद्ध आफैँमा दारुण परिणाम दिने विभिषिका हो । यसले समाजलाई त्रासदी मात्र दिन्छ । त्यसकारण युद्ध दिवस मनाउने विषय होइन
युद्ध सर्वनाशकै महाआयोजन हो । विध्वंशकारी कृत्य हो । सानो वा ठूलो तर युद्ध त युद्ध नै हो । युद्ध किमार्थ सुखद हुँदैन । किन सम्झिने युद्धकालीन विभिषिकालाई ? रक्तरञ्जित जनयुद्धले चुँडेको जिन्दगीको चिहानमा उभिएर प्रधानमन्त्री केपी ओली र प्रचण्डको ‘‘गेट टुगेदर’ किन ? जनयुद्ध देखिजान्ने पुस्ताको मनमा त ती विस्मयकारी दिनको शुल आलै छ । जनयुद्ध नदेख्ने नयाँ पुस्ताको मनलाई नरसंहार र विध्वंशको कथा सुनाएर किन कलुषित पार्ने ? युद्धमा कहाँ छ सौन्दर्य ? मानवीय रोदन, चित्कार र भग्नावशेषको विभत्सतामाथि रमणीयता किन खोजिएको ? भेटिँदैन ।
युद्धलाई सम्झिरहने प्रचण्डको राजनीतिक विवशता छ । जनयुद्धको सार्थकतालाई नेपाली समाजले स्वीकार गरुञ्जेल प्रचण्डको राजनीतिक वजन खदिलो रहिरहन्छ । नेकपाको अध्यक्ष र प्रधानमन्त्रीमा प्रचण्डको पुनरागमनको सम्भावना जीवित रहन्छ । त्यसकारण जनयुद्धलाई वार्षिक तर्पण दिनु उनका लागि बाध्यकारी परम्परा मात्र हो । जनयुद्धको उत्पादन १७ हजारभन्दा अधिक मानव शव र राजनीतिक उपलब्धि तुलोमा राखेर हेर्दा जनयुद्धका उन्नायक प्रचण्डको राजनीतिक ख्याति हलुका हुँदै गयो । दोस्रो संविधानसभाको निर्वाचन परिणामले देखायो, हिंस्रक दर्शनको रङ्ग ढिलोचाँडो फिका हुन्छ–उड्छ । अस्तित्व रक्षाको रणनीतिक योजनाअनुसार नै उनले केपी ओलीको जामामा आफूलाई पनि टाँगेका हुन् । मदन भण्डारीले जनताको बहुदलीय जनवाद अवधारणा ल्याए । जनताको बहुदलीय जनवादको सार होः हिंसारहित कम्युनिज्म । हिंसा वर्जित कम्युनिज्मको सौंन्दर्य थपिएपछि नै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मालेमा आवद्ध विशाल जनपंक्तिलाई धरहरामा चढेर नियाल्नु पर्ने भयो । पार्टी एकताको दुन्दुभी बज्न शुरु हुनुअघिसम्म जनयुद्ध होइन, सशस्त्र द्वन्द्व हो भन्ने केपी ओलीले जनयुद्धको सम्झनामा शुभकामना दिनु निष्ठाबाट विचलन हो । कि त भन्नु प¥यो राजनीति समयानुकुल फाइदा लिने मौकापरस्त तिकडमको कलाबाजी हो । सिद्धान्त र निष्ठाविहीन दंगल हो । अन्यथा जनयुद्ध चलुञ्जेल त्यसलाई अपराध भन्ने केपी ओली अहिले जनयुद्धको वीरगाथा गाउन आफू मात्र लालयित छैनन्, अरुलाई पनि बाध्य पारिरहेका छन् ।
पुरानो उक्ति छ । संसारमा जति युद्ध भए, ती युद्ध सत्ता, धन र नारीका लागि भए । युद्धको नेतृत्व गर्ने कसैको काँधले पनि लाश र विनासको भार उचाल्न सकेन । महाभारत युद्धको व्यूहरचना गर्ने श्रीकृष्ण, चक्रवर्ती सम्राट अशोक वा अन्य महायुद्धको कारक हिटलर, स्तालिन र परमाणु हमलाको आदेशमा हस्ताक्षर गर्ने रुजबेल्ट वा दोस्रो विश्वयुद्ध जित्न अद्वितीय भूमिका खेल्ने चर्चिल कसैको मन क्लेषमुक्त भएन । कोही पनि बुद्ध जस्तो पुजनीय भएनन् ।
समय आफैँमा धमिरा हो । अहंकारको विशालकाय रासहरु समयको धमिराले धुलिसात पार्छ । घटनाक्रमले प्रचण्ड स्वयम्लाई पश्चातापको तपस्थलतिर लैजाँदै छ । सत्ताभोगको लिप्सा र राजकीय सुख सुविधाको रसस्वादन कायाबाट विलय भएको छैन । त्यसकारण जनयुद्धको धङधङी र तुष बाँकी छ । तर प्रचण्डले बुद्धम् शरणम् गच्छामीको अशोक मार्ग अनुशरण गर्न धेरै दिन बाँकी छैन । आशा गरौँ, प्रचण्ड तपोवनप्रस्थ छिट्टै हुनेछन् । प्रधानमन्त्री केपी ओली जनयुद्ध दिवसमा शुभकामना दिएर बिटुलो किन हुने ?
एउटा युग थियो, परिवर्तनका लागि युद्ध मात्र विकल्प भनिन्थ्यो । तर अब मान्यता फेरिएको छ । न्याय र समानतामा आधारित समाज निर्माणका लागि शान्तिपूर्ण मार्ग नै काफी छ । ओशो भन्छन्, ‘‘संसार धार्मिक र प्रेमपूर्ण भएका दिन राजनीतिको अन्त्येष्टी हुन्छ । मानिस अहंकारमुक्त भएका दिन मिडियाले कात्रो ओढ्छ ।’