नारायण थापा
भक्तपुर । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत कथा सम्पन्न भएको छ । काठमाडौंको उत्तर पूर्वी भेगको साँखुस्थित शालीनदीमा एक महिनासम्म माघस्नानसहित माधवनारायणको मेला आजबाट कथा सम्पन्न भयको छ । श्रद्धालुहरु बिहानै कठ्यांग्रिदो चिसोको परवाह नगरी स्नानका लागि शालीनदी पुगेका छन ।गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधिअनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ । एक महिनासम्म यो विधिबाट ब्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहगाउने ब्रत विधि छ ।
सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ । यसो गरेमा ब्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आनो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ । यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।