कैलाली । प्रधानमन्त्री केपी ओलीले सुशासनलाई सरकारले प्राथमिकता दिएको बताउनु भएको छ । ‘भ्रष्टाचारीलाई कुनै पनि हालतमा छोडिन्न’ सुदूरपश्चिम प्रदेश संसदमा बुधबार उहाँले भन्नुभयो, ‘भ्रष्टाचारीको त्यान्द्रो समात्दै जाँदा अख्तियारमै पुगेको छ । जो सुकै भए पनि कारबाही हुन्छ, छोडिन्न । आयुक्तले राजीनामा दिएका छन् । उनलाई पनि कारबाही हुन्छ ।’
प्रधानमन्त्री ओलीले नेपालको संघीयता अरु देशको भन्दा फरक रहेको बताउनु भयो । ‘हाम्रो मुलुकको संघीयता अरु मुलुकको भन्दा फरक छ’ उहाँले भन्नुभयो, ‘संघीयता मुलुकै लागि नयाँ, अनौठो व्यवस्था हो । त्यो अहिले कार्यान्वयनको चरणमा छ । यसको कार्यान्वयन कसरी गर्ने भन्ने अनेक बहस भए, छलफल भए । यसको आधार तयार पार्दैे एकवर्ष बित्यो । अहिले भने आधार तय भइसकेको छ । मुलुकमा संघीयता र लोकतन्त्रको जग बसिसकेको छ ।’
प्रधानमन्त्रीले सरकार हत्या, हिंसा र बलात्कार निर्मुल पार्न प्रयत्नशील रहेको उल्लेख गर्नुभयो । ‘अपराधीले उन्मुक्ति पाउँदैन, जो सुकै होस् अपराधीलाई कारबाही हुन्छ’ उहााले भन्नुभयो, ‘निर्मलाका हत्यारा पत्यारा पनि पत्ता लाग्छ । कारबाही हुन्छ । त्यसका लागि विभिन्न छानविन समिति बनाएर गहिरो अनुसन्धान भइरहेको छ ।’
प्रधानमन्त्रीले सुदूरपश्चिमको राजधानी गोदावर उपयूक्त भएको बताउनुभयो । ‘राजधानी त तोकियो, अब त्यसलाई सार्न खर्च धुमधाम खर्च हुन्छ’ उहाँले भन्नुभयो, ‘भौतिक संरचना निर्माण र कार्यालय व्यवस्थापन खर्चको जोहो गर्न आम्दानीको स्रोत जुटाउन आवश्यक छ । सुदूरपश्चिम प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भरता बनाउन सकिन्छ । त्यसको लागि उन्नत जातको विउ र प्रविधिको प्रयोगबारे ध्यान दिन आवश्यक छ ।’
प्रधानमन्त्रीले महाकाली, सेती, कर्णाली लगायतका ठूला नदीबाट जलविद्युत तथा सिँचाई आयोजना अघि बढाउन सकिने उल्लेख गर्नुभयो । ‘पञ्चेश्वर परियोजनाको पहिल्यैदेखि चर्चा हुँदै आएको छ’ उहाँले भन्नुभयो, ‘तर त्यो अघि बढ्न सकेको छैन । त्यसको लागि प्रयत्न भइरहेको छ । रानी जमरा कुलरिया सिचाई आयोजना अघि बढिसकेको छ । प्रधानमन्त्रीले छाउपडी प्रथा, जातिय छुवाछुत लगायतका विकृति र विसंगति अन्त्य गर्न अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।