पुष्पराज अधिकारी
हेटौंडा । आधुनिक नेपालको एकीकरणदेखि हालसम्म महत्वपूर्ण भूमिका खेल्दै निरन्तर सेवारत् नेपाली सेनाको पुरानो गोरख गणले २५६ औं स्थापना दिवस मनाएको छ । शुक्रबार सुपारेटार ब्यारेकमा विभिन्न साँस्कृतिक तथा मनोरञ्जनात्मक खेलसहित दिवश मनाइएको हो ।
कार्यक्रममा तानडोरी, म्युजिकल चियर, तेक्वान्दो मार्सल आर्टस् र सैनिक नृत्यलगायत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा कर्णेल कमाण्डेण्ट एवम् युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा पृतनापति सुवर्णबहादुर शाह, पुरानो गोरख गणका गणपति प्रमुख सेनानी अनिल बुढाथोकी, पृतना चिफ, बाहिनीपतिलगायतको उपस्थिति थियो ।
नेपालको एकीकरणका दौरान नुवाकोट तथा मकवानपुर राज्य विजय र वि.स १८१९ माघ १० गते मिरकासिमको फौजलाई मकवानपुरगढीमा पराजित गर्दा उक्त अभियानमा मगरहरुले देखाएको अदम्य साहस, बहादुरीता, युद्धकौशलता तथा अनुशासनबाट प्रभावित भएर राजा पृथ्वीनारायण शाहद्वारा गुरगिन खाँको फौजबाट प्राप्त हतियार प्रयोग गरी मगर जातिलाई मात्र भर्ना गर्ने गरी १८१९ फागुन १० गते गोरखनाथ बाबा र गोरखकालीको सम्झनामा गोरख कम्पनी स्थापना गरेका थिए ।
१८४० मा खडा भएको अर्को कम्पनीको नामसमेत गोरख नै जुर्न गएकोले पल्टनको नाम पुरानो गोरखमा परिवर्तन भएको हो ।
गण स्थापनासँगै जोडिएको मकवानपुरगढीमा माघ १० गते गढी गाउँपालिकाको सहकार्यमा २५६ औं विजयोत्सव मनाइएको थियो । नेपाली सेनाको पहिलो जातीय पल्टनका रुपमा गणलाई चिनिन्छ । हाल गणमा करिब ९३ प्रतिशत मगर जातिका सेना कार्यरत् छन् । विभिन्न समयहरुमा कार्यरत् गरी करिब ९९ मगरका उपजातिहरु गणमा रहेको इतिहासले देखाएको छ ।