पहिरोमा परि एकको मृत्यु, चार घाइते

लोकेन्द्रप्रसाद जोशी
दार्चुला । दुहुँ गाउँपालिका वडा नम्बर ३ स्थित निर्माणाधीन दार्चुला–तिकंर सडक अन्तर्गतको राताकाठा पहिरोमा परि एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
सोमबार राती ११ बजेर ३० मिनेटको समयमा खसेको पहिरोमा परी नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ३८ वर्षीय रघुवीरसिंह धामीको मृत्यु भएको हो । घटनास्थलमै गम्भीर घाइते धामीको जिल्ला अस्पताल दार्चुला पुर्याएको एक घण्टा नबित्दै राती २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पहिरोमा परि नौगाड–४ सिप्टीकै ६० बर्षिय उधारो ठगुन्ना, सोहि ठाउँ बस्ने बर्ष ३२ का नरेन्द्र ठगुन्ना सहित थप दुई जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक रवीन्द्र कठायतले जानकारी दिनुभयो । घाइते चारैजनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।
दार्चुला सदरमुकाम खलंगाबाट व्यास क्षेत्रमा भेडाबाख्रा लिएर जानेबेला मृतक धामी सहित ५ जना सडक माथिबाट आएको पहिरोमा परेका थिए । पहिरोमा भेडाबाख्रा समेत पुरिएका छन् । अहिले घटनास्थलमा उद्धारकोलागि नेपाल प्रहरी र शसस्त्र प्रहरी दार्चुला प्रमुखको नेतृत्वमा प्रहरी टोलि खटिएको छ ।
दार्चुला–तिकंर सडकको राताकाठा भिरमा सडक चौडा गर्न आइतबार विस्फोटक पदार्थ विष्फोटन गरिएको थियो । बिस्पोटन गरिएको क्षेत्रमा राती पहिरो खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । राताकाठा क्षेत्रमा एक महिनायता सडक सुधारको कार्य भइरहेकोले आवतजावत र यातायात सञ्चालन समेत प्रभाबित भएको छ । भने दुर्घटनाको जोखीम समेत बढेको छ ।