काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ताको प्रस्ताव राखेका छन् । टेलिभिजन सम्बोधनमा पाकिस्तानी प्रधानमन्त्री खानले यस्तो अभिब्यक्ति दिएका हुन् ।
इमरानले भने, ‘पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे। त्यसलाई झारिदियौं। पाइलट हामीसँग छन् । म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न जरूरी छ।’ं
उनले दुबै देशसँग रहेका हतियारलाई ध्यानमा राख्दा ‘कसैले पनि भूलको परिणाम थेग्न’ नसक्ने बताएका छन् । ‘यदि त्यसो हुन दियौं भने न त्यो मेरो न नरेन्द्र मोदीको नियन्त्रणमा हुनेछ।’ उनले भने, ‘हामी बसौँ र कुरा गरौं। सम्वादबाट यो मुद्दाको हल गर्नुपर्छ।’
प्रधानमन्त्री खानले भारतलाई उसले पाकिस्तानी सीमा उल्लङ्घन गरेको र उनीहरूको भूभागमा जान आफू पनि सक्षम रहेको जानकारी दिने आफूहरूको कदमको उद्देश्य रहेको बताएकाे बीबीसीले जनाएकाे छ ।
उनले भने, ‘प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो, कुनै पनि सार्वभौमसत्ता सम्पन्न देश यस्तोमा चुप लागेर बस्न सक्दैन। हामी चुप लागेर आफूलाई अपराधी बनाउन सक्दैनथ्यौं। बुधवारको जबाफ दियौं र भन्यौँ तपाईँ हाम्रो देशमा आउन सक्नुहुन्छ भने म पनि तपाईँको देशमा जान सक्छु ।’
भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया दिएका छैनन् । तर उनले सुरक्षा र जासुसी संस्थाका उच्च अधिकारीहरूसँग परिस्थितिबारे छलफल गरिरहेको बताइएको छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो देशले ‘जिम्मेवार र संयम’ कदम चाल्ने बताएकी छन् ।
चीन र रूसका विदेशमन्त्रीसँग चीनमा भएको वार्तास्थलबाट उनले भनिन्, ‘भारत अवस्था थप बिग्रिएको देख्न चाहँदैन।’