काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस अत्यन्त अप्ठेरो परिस्थितिमा गुज्रिरहेको बताउनु भएको छ ।
जनता टेलिभिजनको कार्यक्रम ‘द भ्यू विचार मन्थन’मा कुरा गर्दै नेता कोइरालाले भन्नुभयो, ‘२००७ देखि २०६२ सम्मको आन्दोलनको नेतृत्व नेपाली कांग्रेसले नै गरेको हो । संविधान जारी हुँदा पनि हाम्रै सरकार थियो । तर अहिले हामी कता कता पुग्यौँ, संगठन अप्ठेरोमा छ । बाटो नै पहिल्याउन गाह्रो भइरहेको छ ।’
कोइरालाको कथन छः ‘नेपाली कांग्रेसको विरासत त धानिन्छ । तर नेतृत्व कसले हाँकिरहेको भन्ने मुख्य विषय हुन्छ, नेतृत्वकै कारण कांग्रेस अप्ठेरोमा छ ।’
‘स्थानीय निर्वाचनमा जति राम्रो गर्नुपथ्र्यो, सकेनौँ, प्रदेश र केन्द्र निर्वाचनमा सोचे अनुसार भएन, सोचेअनुसार नभएपछि के कारण हो भनेर समीक्षा हुन ढिलाइ भयो,’ कोइरालाले भन्नुभयो, ‘जुन भूमिका हामीले खेल्नु पथ्र्यो, सडकमा पनि भएन, संसदमा पनि भएन । अझ भनौँ नेतृत्वबाटै भएन ।’
‘हामीले धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताबारे पनि बुझाउन सकिरहेका छैनौँ,’ कोइरालाले भन्नुभयो, ‘महासमिति सदस्यहरुले केन्द्रीय सभापतिले नै तलबाट लडेर आउनु पर्छ भने । एजेन्डा बनाए । त्यो एजेन्डा नै लुकाइयो ।’
‘राष्ट्रिय राजनीतिक घटनाक्रम जनतामा लैजान सकेनौँ । निर्मला पन्त, बुढीगण्डकी, सुनकाण्ड, वाइडबडीका मुद्दामा बुझाउन सकेनौँ, यसमा जोसुकै नेता परे पनि नेपालको छवि भ्रष्टाचारमा जोडिएको छ,’ कोइरालाको संकेत थियो, ‘वाइडबडीमा ४ अर्ब ३७ करोड भ्रष्टाचार भएको कुरा आएको छ, राजनीति गर्नेमा नैतिकता र संस्कार नहुँदा हामी संकटमा छौँ, कांग्रेसमै नैतिक चरित्र छैन । नेतृत्वमा नैतिकता कमी हुँदा कांग्रेस यो अवस्थामा आइपुग्यो ।’
नेपाली कांग्रेसमा अधिवेशनले नयाँ नेतृत्व ल्याउँछ, त्यो बाहेक कांग्रेस सुध्रने विकल्प छैन,’ नेता कोइरालाको प्रश्न छ, ‘नेतृत्व लिने मान्छेले जिम्मेवारी लिने कि नलिने ? केन्द्रीय समितिमा, पार्टीमा कयौँ कुरा छलफल हुन छाडे, सभापतिले नै यो काम गर्नु भयो ।’
पूरा कुराकानी हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=frengYXMWq0