Nic

‘संसारकै पापिनी केटी हुँ’

द्मकन्या क्याम्पस, गेटको दाँया–बाँया झपक्क फूल फुलेका थिए । एउटा बोटमा रातै, अर्को बोटमा अलिअलि रातो मिसिएका फूल थिए । तीन वर्ष त्यही कलेजमा पढे पनि यादै गरेकी रहिनछु, केको फूल हो भनेर । चिन्ने पनि कसरी ? पात एउटै छैनन्, फूलैफूल मात्रै । सेतो बढी भएको बायाँतिरको फूलको बोटमुनि युवती उभिरहेकी थिई । सेतो कुर्ता, हरियो सुरूवाल र हरियै सल पहिरेकी कालो यु कटको सिल्की कपाल कालै हाइहिल र ब्राउन कलरको ठूलो सनग्लासकी रुपढङ्गले त्यस्तै तीस–बत्तीस वर्षकी होली । युवती केही अग्ली–पातली थिई । नराम्री चाहिँ होइन र धेरै राम्री पनि होइन । नजिक पुगेर सोधेँ, ‘यो फूल केको हो ?’ ‘लौ, तपाईंले आरुको बोट पनि चिन्नु भा’छैन ? म त छक्क परेकी थिएँ । आरु त आफैंले टिपेर खाएकी छु । तर यस्तो धुमधामले फुलेको अहँ कहिले पनि देखेकी थिइनँ । ‘आरुको पातै देखिनँ, त्यसैले चिनिनँ ।’ म अर्धलाजमर्दो स्थितिमा अल्झिएँ । स्टाइल पारी भन्ने ठानी होली मनमनै ।

‘तपाईंको नाम के होला ?’ ‘निर्देशिका थापा ।’ ‘वाउ, नाइस नेम ।’  ‘ध्याङस् ! तपाईंको ?’ ‘आधार ।’ ‘पछाडि ?’ ‘किन आधार नै पर्याप्त छैन र ?’ ‘तैपनि …।’ हामी उभिरहेका थियौं ।  ‘बसेरै कुरा गरम् न है ।’ चौरमा बस्ने इसारा गर्दै भनेँ ।  ‘तपाईंसँग समय छ त बसेरै गफ गर्नलाई ?’  ‘मज्जाले छ । बरू तपाईंलाई चाहिन्छ भने पनि दिइदिउँला, चाहिन्छ के ?’ ‘तपाईं रमाइलो हुनुहुँदो रहेछ । मन पर्यो ।’ ‘तपाईं पनि त कति राम्री हुनुहुन्छ । मलाई पनि तपाईं मन पर्यो ।’  म हास्दै थिएँ ।  आधार गम्भीर भएर पो सोध्छे, ‘ओ रियल्ली ?’ ‘हेर्दा मात्र ठूली देखिनुहुन्छ । तपाईं त म जस्तै हुनुहुन्छ ।’  ‘ठूली नै त छु नि म । तपाईं कहाँ ब्याचलरको स्टुडेन्ट जस्तो हुनुहुन्छ । म कलेज पढाउँछु ।’ लाज लाग्यो मलाई । साथी जस्तै पो गर्दै थिएँ । ‘मेरो ब्याचलर त सकियो, रिजल्ट पर्खिरा’छु ।’ हतारहतार भनेँ ।  ‘तिमी भनूँ ?’ ‘हस्,’ रमाइलो लाग्यो मलाई ।

आरुको फूललाई ब्याकराउन्ड बनाएर अनेकअनेक पोजमा फोटोे खिच्यौं । मेरो ब्यागमा जहिले पनि क्यामरा हुन्छ । गएको साल दिदीले मेरो जन्मदिनमा उपहार दिनुभएको ।

‘ला ! घडी हेर्नु त । १२ त अघि नै बजिसकेछ ।’ आधारसँग बस्न मन लागिरहेकै थियो । तैपनि कार्यक्रममा जानु नै पर्छ जस्तो गरेँ ।  ‘चक्लेट खान्छौ ?’ मेरो कुरा सुन्या–नसुन्या जस्तो गरेर ब्यागबाट विभिन्न थरीका चक्लेट पो निकाली । चुपचाप अँजुली थापेँ । चक्लेटभन्दा तीन दिनले जेठी छु रे म । आधारले कसरी पो थाहा पाई होली, कुन्नि ? यति भर्खरकी लेक्चरर, यति मज्जाकी म्याम, म पहिलो पटक अनुभूत गर्दै थिएँ । आधार पनि हाम्रै कलेजकी भूपू विद्यार्थी रहिछे ।

हामी त्यो दिन कार्यक्रममा नबसी बाहिर कफी खान निस्कियौं । फागुन महिना, आकाश सफा थियो । बिहेको अन्तिम अन्तिम लगन बाँकी थियो । बाटो त्यतिकै त जाम हुन्छ त्यसमाथि बिहेका गाडीले, झनै जाम । हिँड्नै असाध्यै अप्ठ्यारो भएको थियो । आधारको मिल्ने साथीको पनि भर्खरै बिहे भएको भन्थी । उसलाई बिहे पटक्कै मनै नपर्ने कुरा गर्दै थिई ।

खेल्न जाने निहुँले उनीहरुसँग जङ्गल पनि पुग्थेँ । एस.एल.सी.पछिसम्म पनि म उनीहरुका पछि लागिरहे 

पुतलीसडकको अलमन्ड क्याफे पुग्न बागबजारबाट ५ मिनेट पनि लाग्दैनथ्यो, झन्डै आधा घन्टा नै लाग्यो । मान्छेहरु खचाखच थिए । पछाडिको झ्यालनिरको टेबल खाली थियो । त्यहीँ बस्यौं । पहिलो पटक भेट भएका प्राणी हौं भन्ने नै लाग्दैनथ्यो । कुरा गर्न यति मस्त थियौं— सबैकुरा आजै सक्नुपर्छ, भोलि त पृथ्वी ध्वस्त हुनेवाला छ । अमेरिकन चप्सी, पनिर चिल्ली र अन्तिममा मिल्क कफी खायौं । विनायोजना क्याफे आएकी थिएँ । बिल कति उठ्ने हो ? ब्यागमा भएको पैसाले पुग्ने हो कि हैन ? अलिकति डरडर लागिरह्यो । आधारले घरमा साँझ ६ बजेअघि नै पुगिसक्नुपर्छ भन्दै आफ्नो घरको कडाइ सुनाएकी थिई । मैले भनेँ, ‘म त कहिलेकाहीँ राति ९ पनि बजाइदिन्छु ।’

मेरो कुरा सुनेर आधारले भनी, ‘तिमी त स्वर्गकी परी जस्तै रहिछौ जे मन लाग्छ, गर्ने ।’  ‘हो त । म त मन लागेको जे पनि गर्छु ।’  ‘मैले त आजसम्म मन लागेको केही पनि गर्न पाएकी छैन ।’

वास्तवमा म चिन्तित थिएँ । तर त्यो बेला भने ठीक उल्टो भएको थियो । म आधारलाई सम्झाउँदै पो थिएँ, आफू चाहिँ खुबै साँच्चिकै परी नै हुँला मैले गरेर ।  कफी पिइसकेपछि हामी घर जान उठ्यौं । आधार रेस्टरुम गई । म काउन्टरमा गएँ । डराई–डराई गएकी थिएँ पैसा पुग्छ कि पुग्दैन भनेर ।

‘बिल दिनु न ।’ ‘पे भैसक्यो ।’ ‘लौ, कस्ले ?’ ‘तपाईंकै साथीले ।’  कस्ती अचम्मकी केटी रहिछे । कति खेर तिरिछे ? गुनगुन गर्दै उसलाई पर्खिएकी थिएँ ।  घर जाने बाटो अलगअलग थियो । तैपनि एउटै बसमा चढ्यौं, नेपाल यातायातमा । उसको घर हात्तीगौंडा भन्थी, म दिदीसँग भाटभटेनीमा बस्थेँ । मैले मेरो दिदीको बिहे हुँदैछ, अब मलाई घर हेटौंडा नै जानुपर्छ होला, म त काठमाडौं बस्न पाउँदिनँ समेत भन्न भ्याइसकेकी थिएँ । उसले ‘मेरो घरमा बस’ भन्दा साँच्चै तिम्रोमा (तिमी भन्ने भइसकेकी थिएँ) कोठा खाली छ भनेर सोधेथेँ । आश पनि लाग्यो । तत्काल खाली नभएको कुरा गरी । चिन्ता नगर तिमी काठमाडौं बस्ने जिम्मा मेरो भयो भनेर मेरो पूरै चिन्ता सापटी लगिदिएकी थिई ।

घर पुग्नेबित्तिकै आधारको मेसेज आयो, ‘हिजो भर्खर साथीको बिहे भयो, जिन्दगी नीरस लाग्दै थियो । आज तिम्लाई भेटेँ । बाँच्ने रहर बढ्यो ।’
‘मलाई पनि तिम्लाई भेटेर असाध्यै खुसी लागेको छ । तिमी घर पुग्यौ ?’ ‘घर आइपुगेर पनि मम्मीको गाली टन्न खाइसकेँ ।’
‘बिचरा…, मम्मीको गाली मलाई पनि सेयर गर न ।’ ‘गाली खाएर के नै भयो र ? साथी त पाएँ । सधैंं खाइरहेको गाली त हो नि । दही–चिउरा जस्तै हो ।’  मैले हाँसेको चित्र पठाइदिएँ । उसले पनि त्यसै गरी ।

सधैं जस्तै अन्तर्राष्ट्रिय महिला दिवसको दिन कलेजमा कार्यक्रम थियो । पहिलेपहिले कार्यक्रम हुँदा कलेज जान्नथेँ । हिजो भने गएँ ।
काठमाडौं बस्ने कि जाने भन्ने कुराले मनमा हलचल मच्चाइरहेको छ । गाउँ फर्कन नै मन छैन मलाई । त्यहाँँ साथीहरु पनि कोही छैनन् । न त बिग सिनेमा नै छ, न त न्युरोड छ, न त सिटी सेन्टर । यस्तो केही पनि त छैन मेरो गाउँमा । घर पनि बजारदेखि हिँड्दै जानुपर्छ । मलाई त काठमाडौंको हावाले छोई पनि त सक्यो । यहाँ आएपछि सुरूसुरूमा घर सम्झेर रून्थेँ म । अब त मलाई घरको याद पनि त्यति आउँदैन । बस्, काठमाडौं भए पुग्छ मलाई । मास्टर्स यहीँबाट गर्छु भन्ने त मेरो बहाना मात्र हो । मेरो कुरै बुझ्दैनन् कोही पनि ।

भुइँचालो गैरहेको थियो मनमा । केहीछिन भए पनि शान्त होला कि भनेर हिजो कलेज गएकी थिएँ । राम्रै भयो, आधारसँग भेट हुनु रै’छ ।
पहिले पो रमाइलो थियो गाउँ । केटाकेटीहरुसँग खोलामा पौडी खेल्न जान्थेँ । उनीहरु ढडिया र डेली लिएर माछा मार्न जाँदा म पनि पछि लाग्थेँ । खेल्न जाने निहुँले उनीहरुसँग जङ्गल पनि पुग्थेँ । एस.एल.सी.पछिसम्म पनि म उनीहरुका पछि लागिरहे । मेरा बुवाआमा खेती–किसानीबाहेक केही गर्नुहुन्न ।

दिदी बैंकमा जागीरे हुनुहुन्छ । उहाँको सरूवा काठमाडौं भयो । त्यो बेला म ब्याचलर भर्ना हुने तयारीमा थिएँ । उहाँले मलाई पनि सँगै काठमाडौं लेराउनुभयो । म दिदीको शानदार फ्ल्याटमा बस्थेँ । मलाई कुनै कुराको पनि चिन्ता थिएन । जसै दिदीको बिहे हुने निश्चित भयो । उसै मेरो चिन्ता सुरू भो । कहाँ बस्ने ? के गर्ने ? निर्णय लिन सजिलो भएन मलाई । हामी बसिरहेकै घरमा एउटा कोठाको कुरा गर्दा, एउटा मात्रै छुट्याएर दिन मिल्दैन भने । चिनेजानेका सबैलाई कोठा खोज्न भने । कसैले पत्याएनन् ।

दिनभर फुर्सद । आधारलाई पनि आधा दिनदेखि फुर्सद नै हुन्थ्यो । दुवैलाई पायक पर्ने नारायणगोपाल चोकको ‘स्वीट हाउस’मा भेट्थ्यौं । कहीँबाट पनि काठमाडौं बसिएला भन्ने लाग्न छाडेको थियो मलाई । त्यो दिन स्वीट हाउसमा हामी मात्रै थियौं ग्राहक भन्नु । दुई हप्ताको बीचमा यो हाम्रो चौथो भेट थियो । चैतको महिना, मिनेट–मिनेटमा मौसम बदलिइरहन्छ । आउँदा घाम लागेको थियो, यतिखेर भने आकाश पूरै कालो भएको छ । बिजुली चम्काइ र चट्याङले पटक पटक तर्सन्छु म । आधार त केही भएकै छैन, मैले कुनै प्रतिक्रिया देखाउँदिन ।
वेटरले कफी लेराइदियो ।

पहिलो सिप तान्दै भनेँ, ‘म त घर जाने स्योर भयो नि ।’ कानै नजिक जस्तो चट्याङ पर्दासमेत कुनै प्रतिक्रिया व्यक्त नगरेकी आधार मेरो कुरा सुनेर एकदमै आत्तिई । मेरा दुवै हात समातेर रून पो थाली ।  म के भन्नु न के भन्नु भएँ । एकछिन टोलाएर उसैसँग रून खोजे । अहँ, पटक्कै आँसु झर्दैन क्यारे ।  ‘म गइहालेकी त छैन नि ।’ रूँदैै भन्न थाली, ‘म कत्ति अभागिनी छु । भगवानले पनि अलिकति दयासम्म गर्दैन मलाई । म त हुँ ।’ आधार रूँदै के–के भन्न थाली, मलाई भने लाज लाग्न थाल्यो ।  ‘नरोऊ भन्या । मान्छेले के भने होलान् ।’  ‘जेसुकै भनून् । तिमी घर नजाऊ न ।’ ‘लौ, मलाई पनि कहाँ जान मन छ र ! यहाँँ मेरो बाउको घर छैन बस्नलाई । नगएर के गर्नु त ।’
‘होस्टलमा बस न ।’  ‘अहो ! होस्टल त यादै नभएको मलाई । अब खोज्नुपर्छ ।’

जिन्दगी नीरस लाग्दै थियो,   तिम्लाई भेट्दा बाँच्ने रहर बढ्यो

आधारको गालाको आँसु टिस्युपेपरले पुछिदिएँ । तत्क्षण नै खुसी भई । अँध्यारै भएपछि घर गयौं ।  म आफूलाई खुब भावुक केटी ठान्थँे । मभन्दा त दोब्बर भावुक लाग्यो आधार । भावुक केटीमध्ये संसारकै एक होली भन्ने निष्कर्षमा पुगेँ म । मलाई कसैले यतिविधि माया गर्छ भनेर विश्वास गर्नै मुश्किल पर्यो । र, म मख्ख र दङ्ग दुवै परेँ ।

हामी भोलिपल्टै होस्टल खोज्न हिँड्यौं । डिल्लीबजार र अनामनगरतिर गयौं । बोर्ड हेर्दै, फोन नम्बर नोट गर्दै होस्टलसम्म पुग्यौं । खोजे जस्तो पाइएन । राम्रो एकदमै महँगो छ । सस्तो हेर्दै नराम्रो छ । त्यस्तोमा कसरी बस्नु ? फर्कंदा कालिकास्थानको मन्दिरमा २ घन्टा जति गफ गरेर बस्यौं । त्यहीँको रुखमुनि बसेर अनि कालिकाको मूर्तिसँग टाँसिएर थुप्रै फोटोे खिच्यौं । बाटोको पानीपुरी र चनाचटपट मैले मात्र खाएँ । आधार त बाटोमा केटामान्छेले बनाएको पानीपुरी र चनाचटपट कहिले पनि खान्न रे । केटीमान्छेले बनाएको भने खान्छे रे । किन भनेको त केटामान्छेले पिसाब फेर्छन् रे ! उसको कुरा सुनेर म खुब हाँसेँ । साँझैसम्म बस्यौं त्यहाँ ।

म दिदीसँग बिछोडिँदै थिएँ भने आधारसँग नजिकिँदै । आधारलाई मैले दिदीसँग पनि भेटाइदिएकी छु । दिदीकै उमेरकी छे तैपनि नामैले बोलाउँछु । यसो गर्न मलाई मन पर्छ । साथी र अभिभावकको महशुस दिलाएकी थिई मलाई । ‘मेरो घरमा बस ।’ दिदी भन्नुहुन्छ ।
‘दाइजोमा बैनी पनि दिए भन्लान् । हुँदैन ।’ ‘उसो भए, चुपचाप घर जाऊ । हेटौंडा पनि काठमाडौंभन्दा कम छैन । त्यहाँ पनि एक से एक राम्रा कलेज छन् ।’ ‘त्यो त मलाई पनि थाहा छ दिदी ! मलाई हेटौंडाभन्दा काठमाडाैं मन पर्छ । यहाँँ असाध्यै रमाइलो छ । दिदी ! काठमाडौंबिना त म बाँच्नै सक्दिनँ अब । अर्को कुरा त मलाई लोकसेवामा लडेर सरकारी जागीर खानु पनि त छ क्या दिदी !’

‘यस्तो दुर्गन्ध ! जताततै फोहोर नै फोहोर छ । मान्छेको भिड नै भिड, हिँड्दा कुनै सार्वजनिक गाडीमा कोचिएर उभिए झै हुन्छ । अटेसमटेस–ठेलमठेल हुन्छ । यस्तो पनि के मन परेको हो यो केटीलाई ?’ ‘तपाईं चाहिँ यस्तो ठाउँमा किन बसिरहनुभएको हो कुन्नि ? जानु नि अन्तै ।’ ‘को बसिरहन्छ र यहाँँ ?’ मेरो हुनेवाला भिनाजु ग्रिनकार्ड होल्डर ! बस्न मन नपरे बस्नु पर्दैन दिदीलाई । मलाई त यहीँ बस्नु छ कुनै पनि हालतमा ।  ‘काठमाडौंसँग मेरो अफेयर चलेको छ । मैले बाग्मतीको पानी छोएर कसम खाएकी छु । सत्ते ! प्लिज दिदी !’म एकदम भावुक भएर बोलिरहेकी छु ।  ‘ए ! हो र ?’ दिदी मेरो कुरालाई सिरियस्ली लिनुहुन्न ।  ‘हो भन्या ।’ म सम्पूर्णरुपमा गम्भीर बन्छु ।
‘गल्स होस्टेल खोजिदिन्छु ।’ ‘होस्टल नबस्ने । म एक्लै बस्छु । एउटा कोठा खोज्दिनु न ।’  ‘सक्छेस् के ?’ ‘सक्छु भन्या । पहिले खोजी त दिनु, बसेर देखाइदिन्छु ।’ बडो उत्साही भएर भनेँ मैले ।  ‘एक महिना पनि टिक्न सक्ने हो कि होइन ? रहर लागेको छ । रहर पूरा गर् न त । सजिलो हुन्छ भन्ने ठानेकी होली ।’ आमाबुवा पनि खालि घरै आइज भन्नुहुन्थ्यो ।

दिदीको कुराले असाध्यै खुसी भएँ । दिदीको कुरा घरमा कोही टार्न सक्दैनन् । मैले बोलेको कोही पनि सुन्न लायक सम्झँदैनन् । उनीहरु मलाई जहिले पनि दूध खाने बालखा सम्झन्छन् । म कति ठूली भइसकेँ, के थाहा र उनीहरुलाई ?

‘आधाआधी’ कथाबाट क्रमश

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज चैत्र १० गते आइतवार प्रसारण हुने कार्यक्रमहरु बिहान ४ः०० आरम्भः राष्ट्रिय गीत र सुमधुर धुनहरु ५ः०० बजे तीर्थ पर्यटनः…

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएको नभई संविधान विरोधी गतिविधिलाई मात्र नियन्त्रण…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अबको मुख्य उद्देश्य मुलुक समृद्धि रहेको बताउनु भएको छ…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संगितले मानिसलाई थप उर्जावान बनाउने बताउनुभएको छ ।…

बिहान५ः०० स्टेशन आइडी/राष्ट्रिय गान५ः०२ योग दर्शन५ः३० तीर्थ पर्यटन५ः५५ विज्ञापन/प्रोमो६ः०० जनता समाचार६ः३० दर्शन दिग्दर्शन६ः५५ विज्ञापन/प्रोमो७ः०० जनता समाचार७ः३० गीतहरु८ः०० किताबका कुरा८ः३० बाइलाइनपुनःप्रसारण८ः५५…

मेष– दौडधुप बढी हुनेछ, पे्रममा प्रगति मिल्नेछ । वृष– नयाँ वस्तु प्राप्ति हुनेछ, मेलमिलापको योग बन्नेछ । मिथुन– सन्तानको सुख…