भनिन्छ ‘एउटा तस्बिर एक हजार शब्दको वजन’ बोकेको हुन्छ । सामाजिक सञ्जालमा दिनमै लाखौंलाख तस्बिर पोष्ट हुन्छन् । समाजमा चित्रात्मक परिवेश छ । अक्षरमा विचार र ज्ञान खोज्ने र धारणा बनाउने क्रम घट्यो । अक्षरको स्थान चित्रले लियो । छापा माध्यम, पुस्तक वा सम्भाषणप्रति अनुराग घट्यो । चित्रातत्मक दृश्यमा दर्शकको आँखा अभ्यस्त हुँदैछ । सुन्ने कला हराउँदैछ । हेर्ने कला बढ्दैछ । श्रोता घट्यो र दर्शक बढ्यो । सामाजिक सञ्जालले समाजलाई चित्रमय बनाउँदैछ ।
टेलिभिजनमा समेत शव्द कम चित्र बढी देखाइँदैछ । त्यसले धारावाहिक शो घट्दैछ तर रियालिटी शो वृद्धि हुँदैछ । ग्यालमर र सामाजिककै कारण विद्युतीय सञ्चार माध्यम पनि त्रसित छन् । विद्युतीय सञ्चारमाध्यमको ब्रेकिङ र फल्यासको ग्यालमर सामाजिक सञ्जालले खोस्दैछ । हरेकको हातमा मोबाइल छ र अविच्छिन्न इन्टरनेट छ । घटनास्थलमा दृश्य क्लिक गरेर सामाजिक सञ्जालमा पोष्ट गर्न निमेष लाग्दैन । विद्युतीय सञ्चार माध्यमले सामाजिक सञ्जाललाई स्रोत बनाउनु पर्ने विवशता आइलागेको छ । छापाका पाठक हातहातमा हुने विद्युतीय पर्दामा पढ्न सकिने अनलाइनमा झुम्मिरहन बाध्य छन् । समाजको ठूलो हिस्सा टेलिभिजन भन्दा सामाजिक सञ्जालमा व्यस्त छन् ।
यसको फाइदा राजनीतिक नेतृत्वले उठाउँदैछ । भारतीय चर्चित पत्रकार रबीस कुमार भन्छन् ‘पहिले आँखामा छारो हाल्ने भनिन्थ्यो’ । तर प्रविधिले परिस्थितिमा परिवर्तन ल्यायो । अब ‘आँखामा छारो होइन तस्बिर हाल्ने हो ’। डिजिटल प्रविधिले सुन्दर र आकर्षक तस्विर बनाउन सक्छ । नयन सुखदायी त्यस्ता तस्विर बनाएर सामाजिक सञ्जालमार्फत ठूलो जमातलाई क्षणभरमै एकसाथ देखाउन सकिन्छ ।
समाजवाद उन्मुख समाजको परिकल्पना समेत काँचको पर्दामा झुल्किने तस्बिरमार्फत बाँडिदैछ
विकास होस्,नहोस् तर तस्बिर विकासका सपना कोरलिएको हुन्छ । रेल, मोनो रेल, ग्यासको पाइप लाइन, सडक र सुन्दर हराभरा शहरको आर्किटेक्ट सबै तस्बिर स्क्रिनको रिकापीमा पस्किने क्रम बढ्दो छ । नेतालाई आलोचनाबाट बच्ने कवच प्राप्त भयो । भाषण र आचरणमा फरक पर्दा ‘सिरुबारी बयली खेलेको ’ उपमा दिइन्थ्यो । तर सामाजिक सञ्जालमार्फत प्रवाहित तस्बिरकाे आलोचना गर्न अर्को उपमाको खोजी गर्नुपर्ने भयो । संविधानमा उल्लेखित समाजवाद उन्मुख समाजको परिकल्पना समेत काँचको पर्दामा झुल्किने तस्बिरमार्फत बाँडिदैछ । एउटा तस्बिर आँखाभरी हेरी नसक्दै अर्को पाेज स्क्रिनमा झुल्किन्छ । तस्बिरको बाढी कम हुँदैन ।अब शब्दमा वर्णन गरिएको कुनै विचार भाइरल हुँदैन । तस्बिर भाइरल हुन्छ ।
तरकारीवाली वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दलितको गोडा धोएको तस्बिर भाइरल बन्यो । कुनै विद्वान मनिषीबाट अभिव्यक्त खँदिलो विचारसँगै तस्बिर आउनुपर्छ । नत्र लाइक र कमेन्ट आउँदैन । शव्द र वाक्यको महत्व घटेको कारण अखवारको महत्व र क्रेज घट्दै गयो । किनकी शब्द र वाक्यप्रतिको आकर्षण घट्यो । चित्रात्मक प्रस्तुतिप्रति समाज आकर्षित भयो । ५ वर्ष अघि जनतासँग गरिएका वाचा पूरा भएन भन्दै भारतमा नरेन्द्र मोदीको लोकप्रियता घटेको महशुस गरियो । आसन्न चुनाव जित्न मोदीले मतदाताको आँखामा मनमोहक तस्बिर हाल्नुपर्ने बाध्यता थियो । जनताको मनमा गर्विलो बीज छर्नु थियो । त्यसका लागि नै पाकिस्तानको भूमिमा भारतीय लडाकू विमानले बम खसाल्ने दृश्य पैदा गरियो । काँचका पर्दामा ती दृश्य भाइरल भए । भारतीय मतदाताको अभिमान तृप्त पारियो ।
इन्टरनेट र सामाजिक सञ्जालले राजनीतिमा कार्यकर्ताको उपयोगिता घट्दै गएको छ
राजनीतिक दलका कार्यकर्ता पनि प्रयोगविहीन हुने भए । पार्टीको प्रचारमा अहोरात्र खटिने कारणले कार्यकर्ता नेताको आवश्यकता हुन्थ्यो । नेताले कार्यकर्ताको उपयोगिता देख्थे । उपेक्षा र मानमर्दन गर्दैनथे । अब सन्देश छर्ने र जनमत बनाउने कार्य इन्टरनेट मार्फत हुन्छ । सामाजिक सञ्जालले कार्यकर्ताभन्दा पनि तेज–तर्रार गतिमा सन्देश प्रवाह गर्छ । सुन्दर र आकर्षक तस्बिर छर्छ । हात–हातमा रहेको मोबाइल स्क्रिनमा प्रकट हुन्छ । कार्यकर्ताभन्दा छिटो जन–जनमा पुग्छ । उहिले माता पिताबाट सीप सिकेर पुख्र्यौली पेशा धान्ने र जीविका चलाउने बाध्यताले पुत्र पिताप्रति पुत्री माताप्रति कृतज्ञभावले भरिएको हुन्थ्यो । तर अब प्रविधिले त्यो दिनलाई बिदा गर्यो । मेसिन चलाउन र द्रुतगतिमा काम निपटारा गर्ने सीप पछिल्लो पुस्तासँग छ । त्यसकारण पछिल्लो पुस्ता अघिल्लो पुस्ताप्रति आश्रित अनुगृहित छैन ।
ठीक त्यसैगरी नेता पार्टीका कार्यकर्ताप्रति अनुगृहित र आश्रित रहने परिस्थिति छैन । पार्टीको हाइकमाण्ड उच्च प्रविधियुक्त मिडियातिर लहसिए । कार्यकर्ता प्रति अनुराग घट्यो । काँचका पर्दाले समाजको मनोविज्ञान चित्रात्मक बनायो । राजनीतिको साइनो र सम्बन्ध बदलियो । कार्यकर्ता उपेक्षित भए । विद्युतीय सञ्चारमाध्यम र पर्दा नेताका लागि प्रिय भयो ।