काठमाडौं । सडकमा जथाभावी राखिएका सवारीसाधनको पाङ्ग्रामा अकस्मात् ताल्चा लाग्ने गरेको छ । गाडी रोकेर बाहिर निस्केको केहिबेरमै पाङ्ग्रामा ताल्चा लागेपछि सवारीधनीलाई कसले यस्तो गर्यो ? भन्ने जिज्ञासा समेत हुने गरेको छ । तर यस्तो ताल्चा अरु कसैले नभइ ट्राफिक प्रहरीले नै लगाएको हो ।
ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न सवारी साधनमा ‘ह्वील लक’ लगाएको हो ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाएको बताउनुभयो । बाटोमा जथाभावी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई कारवाहीस्वरुप ह्वील लक लगाएर कारबाही गरेका हौँ’, उहाँले भन्नुभयो ।
मङ्सिर ८ गतेदेखि शुरु गरिएको अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारवाही गरिँदै आएको हो । महाशाखाले सडकलाई अवरोध पु¥याउने गरेर जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै र ५ सय देखि एक हजार रूपैयाँसम्म जरिवना गर्दै आएको छ ।
ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाही अन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ ।
महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्थासमेत गरेको छ ।
यस्तै महाशाखाले लेन अनुशासन कारवाही, मादकपदार्थ सेवन ९मापसे० कारवाही, सिसीटिभी कारवाही, गोप्रो बडिवान क्यामरालगायतका कारवाही गर्दै आएको छ ।