नेपाली कांग्रेसका नेता प्रदीप गिरी वरिष्ठ समाजवादी चिन्तक हुनुहुन्छ । समाजवादी चिन्तक गिरीले समाजवाद कति सपना कति यथार्थ, समाजवादको भविष्य, समाजवाद पूँजीवाद टकराव, नेपालका दलमा देखिएको सैद्धान्तिक संकट, नेपालको संविधान कार्यन्वयनका चुनौति र पछिल्लो सरकार र सिके राउतबीचको सम्झौताबारे जनता टेलिभिजनको चर्चित कार्यक्रम द भ्यू विचार मन्थनमा अशेष घिमिरेसँग गर्नुभएको कुराकानीको पूर्णपाठ :
आजको समयमा समाजवाद कतिपयको मिठो सपना हो, वा माक्र्सवादीहरुले भन्ने गरेको वास्तविक जीवनमा हुने सत्य हो ?
मिठो सपना त अवश्य हो । समाजवाद भन्ने शब्द र यो अवधारणाको उच्चारण गर्नासाथ उत्पीडित, वञ्चित र दलित वर्गका निम्ति एउटा आशाको विचारधारा वा दृष्टिकोण हो ।
समाजशास्त्र वा अर्थशास्त्रको ज्ञानको हिसाबले यो मानव जातिको जीवनमा आइलाग्ने कति यथार्थ वा वस्तुगत अवधारणा हो ?
शास्त्रीय कोणबाट हेर्दा १९१७ मा बोल्सेबिक क्रान्ति भएपछि साँचो अर्थमा समाजवादको निर्माण गर्ने ऐतिहासिक र उद्दात्त मानवीय प्रयास भयो । र यसमा कुनै शंका छैन कि, कार्लमाक्र्सले अघि बढाउनुभएका प्रस्तावनामा मूलतः आधारित भएर यो भयो । किनभने शोभियत क्रान्ति गर्दाखेरि लेनिनले नेतृत्व गनुभएको बोल्सेभिक पार्टीले देश, काल परिस्थिति अनुसार शोभियत संघमा परिमार्जन गरेको थियो । लेनिनले आफ्नो नेतृत्वको शोभियत युनियनमार्फत आज जुन मानिसमा भ्रान्ति र कम्युनिष्टको नाममा जुन अनेकौं नकारात्मक धारणा छन्, साँच्चै नै सिंगो विश्वलाई थर्काउने र प्रेरित गर्नेगरी एउटा नयाँ युगको थालनी गरेका थिए । लेनिनका सर्मथकले त अत्यन्तै ज्यादा प्रशंसा गर्ने नै भए । तर बिल्कुलै बुर्जुवा पृष्ठभूमिका भरतीय राजनीतीज्ञ एवं विद्धान जवाहरलाल नेहरुले १९२७ मा शोभियत युनियनको भ्रमणपछि, सोभियत रसियाको प्रशंसा गर्नुभएको थियो । उहाँले पनि आफ्नो पार्टीले रुसबाट सिक्नुपर्छ भन्नुभएको थियो ।
त्यो त हिजोको प्रसंग भयो, आजको समयमा चाहीं तपाई समाजवादको भविष्य के देख्नुहुन्छ ?
आज हामीले त्यो झन्डै ७३ वर्षको सोभियत कालखण्ड र समाजवादको उपयोग भएको चीनको शिक्षा बाहेकपनि समाजवादको नाम लिइरहेका तर शोभियत युनियनसंग प्रतिस्पर्धा गरिरहेका बेलायतको लेबर पार्टी, जर्मनिको सोसल डेमोक्रेटीक पार्टी, सोसिलिष्ट पार्टी अफ फ्रान्स, एसियामा बनेको समाजवादी सम्मेलन र नेपालमा समाजवादी गतिविधिरलाई हेर्दा समाजवाद अझैपनि सौभाग्यवश सपनाका रुपमा जिवित छ । तर भूमण्डलीकरणको प्रताप र प्रकोपपछि समाजवाद के हो ? समाजवादको यथार्थस्वरुप कस्तो हुन्छ भन्ने कुरा यसै भन्न सकिने अवस्था छैन ।
त्यसरी हेर्दा आजको समयमा समाजवाद युटोपिया (सपना) मात्र बन्ने खतरा छ भन्न सकिन्छ ?
सपना आँफैमा नराम्रो कुरा हैन । दिन र रात कहिल्यै पनि भेटिदैनन् तर दिनको अवधारणा बिना रात सम्भव छैन र रातको अवधारणा बिना दिन हुँदैन । त्यस्तै धुव्रतारालाई नै हेरेर कुनै पथिक वा नाविकले आफ्नो बाटो बनाए जस्तै संसारमा अस्तित्व नै नभएको पोइन्ट सिर्फ सपना मात्र होइन । दुई विन्दुबीचको रेखा त कहीँ देखिँदैन तर रेखा गणित नहुने हो भने एउटा भवन नै बन्दैन । त्यस्तै म सपनालाई पनि अवमूल्यन गर्न चाहँदैन ।
तर सपना पनि कति यथार्थ हुने र कति स्वयरकल्पना हुने भन्ने त हुन्छ होला नि ?
त्यो त परिमार्जन हुँदै जान्छ । म समाजवादलाई एउटा सपनाका रुपमा आज पनि जिवित मान्दछु । जिवित विचार र आदर्श मान्दछु । तर त्यसलाई वस्तुस्थिति अनुसार यथार्थमा परिवर्तन गर्ने हरेक प्रयासका बारेमा हामीले आलोचना र मूल्याङ्कन गर्नुपर्छ । माक्र्सको समयदेखि अहिलेसम्मका अनुभवबाट आज कुनै सरकार, राज्य वा पार्टी विशेषले के गर्दैछ ? भन्ने कुरालाई आजकै सन्दर्भमा मूल्याङ्न गनुपर्छ । यो सपनालाई मजाकमा उडाउन मिल्दैन ।
त्यसोभए समाजवादका चिन्तक प्रदिप गिरीले आजको समयमा समाजवादको भविष्य कति सन्निकट देख्छ वा संघर्षमै देख्दैछ ?
चाहे माक्र्स होस् वा लेनिनले होस्, चाहे पछि गएर माओले नै किन नहोस् । अथवा हिन्दूस्तानको हकमा जयप्रकाश लाहिया वा नेपालमा बिपी काेइराला र मदन भण्डारी नै किन नहोस्, उनीहरु सबैले आ आफ्नो समय अनुसार समाजवाजवादको व्याख्या गरे । मलाई के लाग्छ भने आजको निकट अतित हेर्दा कम्युनिष्ट पार्टी बहुदलीय जनवादबाट बहुदलीय व्यवस्थामा प्रवेश गर्यो । त्यो भन्दा अघि नयाँ जनवाद थियो । तपाईले ३० वर्षमा नयाँ जनवाद, बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादका नाममा तीन वटा उपयोग कम्युनिष्ट पार्टीमा देखिसक्नुभयो । आज त्यो सरकारको नीति, योजना, बजेट, सरकारको समर्थनको पार्टी, त्यसकाे कार्यक्रम र कार्यान्वयनका सवाललाई हामीले हेर्नुपर्यो । आज यथार्थमा समाजवादको प्रयोग देखिदैन् । तर सपना जिवित छ । म सुस्तरी तर निश्चित रुपले आम जनतालाई समाजवादले नै सही बाटोमा डोर्याउनेछ भन्नेमा विश्वस्त छु ।
आजको विश्व पूँजीवादमा पनि संकट बढिरहेका छन् । चाहे अमेरिकामा बर्नी स्यान्डर्सले समाजवादको धक्का दिइरहेको सन्दर्भ होस् या चाहे उता बेलायतमा जेरेमी कोर्बिनको कुरा । यसरी हेर्दा विश्वव्यापी रुपमा देखा परेको समाजवाद र पूँजीवादबीचकाे संघर्ष कुन रुपमा पाउनुभएको छ ?
तपाईले निकै राम्रो उदाहरण दिनुभयो । लामो समय दक्षिणपन्थबाट आक्रान्त बनेका मुलुक हुन् ती दुबै । ठूला र प्रभावशाली देशमा अहिले ती दुई नेताले वामपन्थी उभार ल्याएका छन् । सायद पछिल्लोपटकको चुनावको बेला पनि हिलारीको ठाउामा बर्नि स्यान्डर्सलाई उम्मेदवार बनाइएको भए उनि जित्थे भनिन्छ । त्यस्तै बेलायतका कोर्बिनको पनि त्यहाँ लामो समयदेखि संसदमा सदस्य भएको इतिहास छ । त्यहाँ अहिलेपनि मजदुर वर्ग छ तर त्यहाँको समाजमा ‘गे’ अधिकार, गोरा कालाको अधिकारका कुरा उठिरहेका छन् । अझ युरोपतिर त आप्रवासीका अधिकारका सवाल उठिरहेका छन् । अजिब गरिब कुरा उठेका छन् । हाम्रो जस्तो रोजगार र मजदुरका समस्या त्यहाँ उठिरहेका छैनन् । साम्राज्यवादी पूँजीले, अहिलेको विश्व पूँजीवादले धेरै संकट पनि थपिरहेको छ । उपभोक्तावादले एउटा नयाँ वस्तुको उपभोग गरिरहेकै बेला अर्को वस्तु बजारमा ल्याइदिन्छ । यसले पनि त्यहाँ संकट थपेको छ ।
यसकारण त्यहाँका नेताले त्यहाँको अन्तद्र्धन्दभित्र जरुर अपेक्षाकृत अग्रगामी यार्डिकल पोजिसन दिइरहेका छन् । तर उत्पादनका साधनको स्वामित्व समेत बदल्ने जुन समाजवादको अवधारणा हो त्यो चाँही उनीहरुको लक्ष्य छैन । तत्कालिन समाजको दायरा भित्र बैंक रेट बढाउने कि घटाउने, फिस्कल पोलिसी कस्तो ल्याउने र मजदुरका छुट्टीको घण्टा कति हुने ? भनेर रेगन र थेचरका पालामा जुन बिल्कुलै जनविरोधी आर्थिक नीति बनेको थियो आजे त्यसमा यिनीले विकल्प दिन खोजेका छन् ।
यसलाई समाजवादी प्रयत्नका रुपमा बुझ्न सकिदैन ?
समाजवाद एकै दिनमा अवतरित हुने कुरा नभएर एउटा बाटोमा जाने यात्रा हो । यो एकै दिन आकाशवाणी हुने कुरा त होइन । यसलाई त्यस दिशातर्फको एक कदम भन्न सकिन्छ ।
तर विश्व पूँजीवादको संकट जुन टर्दै गइरहेको छ, फेरि पनि यो यसैगरी टर्दै जाला त ?
आम जनतालाई संकटको चेतना कति छ ? सरोकालवालाले पूँजीवादले साँच्चै नै विश्वमा संकट ल्याइरहेको छ भनेर कुन रुपमा बुझेका छन् ? त्यसमा निर्भर हुन्छ । क्रान्तिकारी परिस्थिति मात्रै भएर हुँदैन, त्यसका लागि आत्मागत परिस्थिति पनि तयार भएको हुनुपर्छ । सँगसँगै एउटा क्रान्तिकारी संगठन पनि आवश्यक हुन्छ । तर आज विश्वभरि समाजवादीहरु जसरी छरिएर छन् तिनका बीचमा एउटा कमचलाउ सम्पर्क पनि छैन् । तपाईले भर्खरै लिएका नामहरु बर्नि स्यान्डर्स र जेरेमी कोर्बिनहरुसँगै यहाँ हाम्रा कुनै पार्टीले उनीहरुसँग सहकार्यका लागि सम्पर्क गने गम्भीर प्रयत्न कसैले गरेका छन् ? एउटा संस्था छ सोसियल इन्टरनेशनल भन्ने त्यहाँ पनि प्रस्ताव पास हुन्छन् तर प्रस्तावमाथि कसैले छलफल गर्दैन् । त्यसैले मुख्य कुरा के भने आज जुन चरणमा पूँजीवादले हामीलाई ल्याएको छ, एक होइन अनेक क्षेत्रमा यसले संसारलाई बर्बताको युगमा धकेल्दैछ । समाजवाद पूँजीवादको संकटले आउँदैन, कुनैपनि संकटको लोकतान्त्रिक ढंगले समाधान भएन भने फासीवाद र तानाशाह तिर जान्छ । जर्मनमै पनि रोजाको पार्टीले क्रान्ति गर्न सकेन । पछि त्यहाँ हिटलर आयो । इटालीमा क्रान्ति गर्ने प्रयास भयो । ग्राम्सकी त्यसका नेता थिए, उनी मारिए । त्यहाँ मुसुलिनो आए । यसरी देखिन्छ कि क्रान्ति यदि सकारात्मक दिशातर्फ गएन र प्रतिक्रियातर्फ गयो भने तानाशाही आउँछ । नेपालको हकमा पनि यहाँको वर्ग, भाषा लगायतका संघर्षहरुप्रति हामी संवेदनशील भएनौं भने र दबाउन लाग्यौं भने झन् समस्या हुन्छ ।
अब नेपालको कुरा गरौँ, नेपालको संविधानमा समाजवादले विजय प्राप्त गर्यो भन्न सकिन्छ ?
नेपालको संविधानमा समाजवाद शव्द लेखिएको छ । यति ज्यादा अधिकार भएको दुनियाँमा अन्य कुनै संविधान नै छैन । अर्को कुरा हाम्रो संविधान निकै सशंकित वातावरणमा लेखिएको छ । सार्वभौमसत्ता भन्ने शब्द हामीसंगै छ भनेर मात्रै कयौं ठाउँमा लेखिएको छ । कसैले खोसिहाल्ला कि भन्ने डर भए जसरी लेखिएको छ । खास गरेर छिमेकी भारतको शंकाकै वातावरणमा हतार हतारमा हाम्रो संविधान लेखियो । यो निर्माणमा झण्डै ८ वर्ष त लागेको हो तर हतारमा नै संविधान आयो । त्यसैले कयौं कुरामा अस्पष्टता छ ।
[caption id="attachment_101121" align="aligncenter" width="900"]
Ashesh Ghimire with Pradip Giri[/caption]
यी त भाषाका कुरा भए । अवधारणाका हिसाबले यो संविधानमा समाजवाद विजयी छ भन्न सकिन्छ कि सकिन्न ?
समाजवाद छोडिदिनोस् के लोकतन्त्र विजय भयो ? के गणतन्त्र विजय भयो ? विश्वव्यापी नागरिक अधिकारका ४ वटा स्वतन्त्रता छन् । पहिलो व्यक्तिलाई अनाहकमा पक्राउ नगरिने अधिकार । दोस्रो स्वतन्त्र अभिव्यक्तिको अधिकार । तैंले यस्तो सोध्ने, यस्तो बोल्ने ? यस्तो गाना गाउने ? भनेर कसैलाई कसैको स्वतंत्रता खोस्नु भएन । तेश्रो स्वतंत्रतापुर्वक भेला भई सभा गर्ने अधिकार । अनि संगठन गर्ने अधिकार ।
यी त अभिव्यक्तिकै रुप भए, के आर्थिक अधिकारका विषय चाँही हुन्नन् ?
म आउँदै थिए । त्यो चाहिन्छ नै तर मुख्य त यी चार नागरिक अधिकार नेपालमा मात्र होइन, भारत र अमेरिकामा पनि, हामीले २१ औं शताब्दीमा पनि सुरक्षित गर्न सकिरहेका छैनौं । यसकारणे नेपालको संविधानमा पनि समाजवादले विजय प्राप्त गरेको भन्न मिल्दैन ।
तर समाजवाद लेखिएको र नलेखिएकोले यो संविधानलाई केही फरक पारेको छैन त ?
लोककल्याणकारी राज्य भनेर राजा महेन्द्रको पालामा लेखिएको थियो । यहाँ पनि माओवादीले आफ्ना सारा एजेण्डा छोडिसकेको हुनाले मैले केही गरें भनेर कार्यकर्तालाई फकाउन प्रचण्डलाई बाहाना चाहिएको थियो । त्यसैले जिद्धि गरेर उहाँले त्यो शब्द लेख्न जोड गर्नुभएको थियो । त्यसमा अरु कसैलाई खासै चासो पनि थिएन । तर यति हुँदाहुँदै पनि यदि साँच्चिकै हामीले समाजवाद हालेका नै हौं भने खासगरी मान्छेको काम गरेर खाने अधिकारको ग्यारेण्टी गरिनुपथ्र्यो । हाम्रो सरकारले भूमण्डलीकृत पूँजीवादका कारण केही गर्नै सकेको छैन । सरकारले आजपनि रोजगारलाई प्राथमिकतामा राख्न सकेको छैन र राखे पनि कार्यान्वयन गर्न सकेको छैन । बडो जोखिममा छौँ हामी ।
हाम्रो सरकारले भूमण्डलीकृत पूँजीवादका कारण केही गर्नै सकेको छैन । सरकारले आजपनि रोजगारलाई प्राथमिकतामा राख्न सकेको छैन र राखे पनि कार्यान्वयन गर्न सकेको छैन । बडो जोखिममा छौँ हामी ।
समाजवादको व्याख्या जति गरेपनि जगतले देख्ने गरि प्रदिप गिरीले नेपाली कांगेसलर्ई समाजवादी दिशातर्फ मोड्न हस्तक्षेप गर्न सकेनन् भन्ने प्रश्न उठिरहेको छ नि ?
पहिलो कुरा त समाजवादको यही रुप हुन्छ भन्ने भनाई नै गलत हो । हामीले पार्टीभित्र आरक्षणको कुरा उठायौं । नेपाली कांग्रेस त्यस्तो पार्टी हो जसले सबभन्दा पहिले नेपालमा दलित, महिला, जनजाति, मधेसीको आरक्षणको कुरा उठाएको छ । त्यस्तै सद्भावना पार्टी बाहेक नेपालमा सबैभन्दा पहिले संघीय राज्यको विषय हामीले नै उठाएका हौं । यो दुई वटा पक्षमा म गर्व गर्दछु मेरो प्रस्तावमा गरिएका काम हुन् । मैले हस्तक्षेप गरें वा गरिन भन्ने कुरा यहाँबाट बुझिएला । त्यस्तै हाम्रो संविधान बनिरहेका बेलामा मलाई बोल्न दिइएन किनभने मधेसलाई चित्त बुझाएर बोल्नुपर्छ भन्ने मेरो अडान थियो । मैले संविधानसभा नै बहिष्कार गरें । साथसाथै आजको जुन संविधान छ त्यसमा मैले हस्ताक्षर पनि गरिन । तपाईले यदि कार्लमाक्सले कम्युनिष्ट घोषणापत्रमा लेखेका प्रस्ताव हेर्नुभयो भने पनि उहााले त्यहाँ आजका मितिमा यो यो गर्नुपर्छ भन्नुभयो । मैले नि सकेको गरेँ ।
कार्लमार्क्सले त झन वैज्ञानिक समाजवादको कुरा गर्नुभएको छ नि ?
हजारौं माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ भनेझैं वैज्ञानिक समाजवादको दिशामा जाने पहिलो कदमको रुपमा माक्र्सले मजदुरको कामको घण्टाको कुरा गर्नुभएको छ नी । प्रत्येक व्यक्तिले योग्यता अनुसारको काम पाउने र आवश्यकता अनुसार प्राप्त गर्ने विषय नै वैज्ञानिक समाजवाद हो । तर आजको समाजवाद भनेको संघीय राज्यलाई मजबुत बनाउने र राष्ट्रिय पूँजीको विस्तार गर्नु हो ।
यी नै कुरामा तपाईको भूमिका नेपाली काँग्रेसभित्र मान्छेहरुले खोजिरहेका छन् नि ?
हामीले समाजवाद कुनै गोलाकार वा कुनै यस्तो प्रकृतिको चिज हो भनेर बुझ्ने होइन । देश काल परिस्थिति अनुसार आज यसमा राजनीतिक, सामाजिक र आर्थिक प्यासहर हुने गर्छन् । जब राजा ज्ञानेन्द्रले तानाशाही लागू गरे त्यसबेला जुन व्यक्तिले सबै दल एकहुनुपर्छ र माओवादीसँग पनि वार्ता गनुपर्छ भनेर त्यसबेला कसले बोल्यो ? नेपाली काँग्रेसभित्र माओवादी राजनैतिक शक्ति हो र यससँग छिटोभन्दा छिटो वार्ता गनुपर्छ भन्ने, त्यो विषयमा लेख्ने व्यक्ति स्व.चक्र बास्तोला, नरहरि आचार्य र म थियौं । देशमा फोहोर सफा गरे मात्रै मच्छर हट्छ भनेर माओवादीका बारेमा सबैभन्दा धेरे लेख्ने व्यक्ति म हुँ । दिल्ली सम्झौता त्यसपछि भएको हो । त्यहाँ कहाँ छ समाजवाद भन्नुहोला तपाई फेरि । त्यतिबेला गरिएको यी प्रयत्न समाजवादकै लागि थिए । तर आज मलाई सोध्नुहुन्छ भने हाम्रो पार्टीमा अन्यौल छ ।
के यो अन्यौल कांग्रेस भित्रको सैद्धान्तिक संकट हो वा होइन ?
यो मुख्य तः सैद्धान्तिक संकट नै हो । कांग्रेसभित्र पनि र बाहिर पनि यो संकट छ । आजको सत्तारुढ पार्टीमा पनि यसको ठूलो संकट छ । बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवाद मिलेपछि अबको नयाँ जनवाद के हो त ? हिजोको कम्युनिष्ट प्रशिक्षणमा विदेशी पूँजी ल्याउन हुंदैन भन्ने छ तर अहिले विदेशी पूँजीलाई बढावा दिइरहेको देखिनछ । यो भनेको के हो त ? तपाईलाइ थाह छ हिजोको कम्युनिष्ट परम्परामा जनवादी परम्परा भनेर केन्द्रबाट सबकुरा गाइड हुन्थ्यो । तर आजको नयाँ परिस्थितिमा यसको विकल्प के छ त ?के हामी आतमनिर्भर अर्थव्यवस्था बनाउन सक्छौं ? एउटा भेनेजुयलाको बारेमा प्रचण्डको वक्तव्य जुन त्यति बेठीक थिएन भन्ने लाग्छ मलाई । तर त्यो बक्तव्यको यत्रो होहल्ला भो । प्रधानमन्त्रीले नै त्यो वाक्य च्युत भयो भन्नुभयो । त्यसैले मैले तपाईलाई के भन्न खोजेको भने आज समाजवाद चारैतर्फबाट आक्रमणमा परेको छ । नेपालले मात्रै त बचाउन सक्दैन ।
तर समाजवादको एउटा दूरीसम्म कांग्रेस र कम्युनिष्ट सँगसँगै हिड्नुपर्ने थियो होला नी त ? प्रयत्न पनि देखिदैन ?
बिल्कुल । तपाईले निकै राम्रोकुरा उठाउनुभयो । यदि हामीले नयाँ सभ्यता बनाउनु छ भने आजको साम्राज्यवादी पूँजीको त्यसको केन्द्र पश्चिममा छ । भारत, चिन, ब्राजिल, रुस यी देश भूगोलमा ठूला भएपनि यी देशको अर्थतन्त्र एकप्रकारले प्रारम्भिक खालको छ । चीनले धाक लगाएपनि श्रम नै ज्यादा छ त्यहाँ । विदेशी पूँजीमै अड्किराखेको छ । यो भन्दा ठूलो कुरा आज विश्व जुन प्रयावरणको समस्याले ग्रसित छ, उपभोत्ताको स्तर छ र आणविक हातहतियारको जुन प्रयोग र अनुसन्धान बढेको छ यसले समाजवादलाई पर पर पुर्याइरहेको छ । यसबेला नेपालका कांग्रेस र कम्युनिष्टको मात्र कुरा गरेर पुग्दैन । सबै समाजवादी एक हुनुपर्छ ।
नेपाली कांग्रेसमा सिद्धान्तभन्दा नैतिक संकट ज्यादा रहेको काँग्रेस नेता डा. शेखर कोइरालाले भन्नुभयो । यहाँलाई के लाग्छ ?
नैतिकता पनि सैद्धान्तिक विषय नै हो । हामीले सिद्धान्तकै क्षेत्रमा काम गर्दा नैतिकता भनेको के हो भनेर खोज्छौं । नैतिकताको पनि दुई सवाल हुन्छन् । पहिलो आफूलाई चित्त नबुझेको कुरा विरोधि वा प्रतिपक्षका रुपमा बोलने र अर्को सिंगो देश र जनताको पक्षमा बोल्ने । कुनै भ्रष्टचार वा एकदुई वटा परिघटनाको कुरा भन्दा पनि समग्रमा देशमा सबै पार्टीमा सिद्धान्तलाई हामीले गम्भीर रुपमा लिएको देखिदैन ।
तर सिद्धान्त प्रेमी प्रदिप गिरी आक्रामक देखिनुपर्ने भन्ने मान्छेहरुको बुझाई पाइन्छ नि ?
अहिले तपाईले मलाई मौका दिनुभयो र म आक्रामक हुँदैछु । आजभोलि सञ्चारकाे व्यापक विस्तार भएकोले सिद्धान्त केही हैन, सिद्धान्त केही हैन भन्ने गरिन्छ । मेडियामा पनि यस्तै देखिन्छ । सिद्धान्तविरोधी ज्ञानको प्रचारप्रसार बढी छ । इण्ड अफ आइडियोलोजि, इण्ड अफ हिष्ट्री भनेर लेखिन्छ । यो ज्यादै बेठिक कुरा छ । केही दिन अघिमात्रै प्रधानमन्त्री र प्रचण्डले सिके राउतसँग सम्बन्ध बनाएको कुरा आएको छ । र फेरि विप्लवविरुद्ध कठोर भाषण गरेको देखिन्छ । यस्तै हो भने भोलि ओलीले विप्लवमात्रै होइन प्रचण्डकाविरुद्ध कठोर भाषण गर्ने समय आउनेछ । किनभने संसदीय माध्यामबाट चुनावबाट समाजवाद ल्याउन सकिदैन भन्ने एउटा धार र सकिन्छ र यसका लागि सोसियल डेमोक्रेटिक धार नै चाहिन्छ भन्ने अर्को धार । चुनावबाठ सकिदैन भन्नेले चुनाव जितेर बनाएको सरकारले त पुलिस, सेना र न्यायलय केही पनि छुनै सक्दैन भन्ला । लेनिनले पुरानो राज्य नष्ट गरेर नयाँ राज्य बनाउने हो भने जस्तै । त्यसैले यहाँ जटिल सैद्धान्तिक समस्या छ ।
झापा आन्दोलनमा विचारमा बहस नभएकोले एमाले र मदन भण्डारीलाई सजिलो परेको थियो । त्यतीबेला उनको पार्टी आउनु भन्दा ७,८ वर्ष पहिले नै पार्टी स्वतन्त्रता की राजनीतिक स्वतन्त्रता भन्ने बहस त थियो । तर पार्टीभित्रै सिपी मैनालीदेखि टंक कार्कीहरु नयाँ विकल्पबारे छलफल गरिराखेका थिए । तर प्रचण्डले त अस्तिसम्म हामीले सबै हतियार बुझाएका छौं पनि र अर्कातिर लुकाएर राखेका छौं पनि भन्दै थिए । यसकारण समस्या के हो भने नेताहरुले कार्यकर्तालाई अझैपनि हामीले जाने भनेको संसदीय राजनीतिमै हो भनेर सम्भाउन सकेका छैनन् । पुन प्रशिक्षणको जरुरत छ ।
मैले भन्न खोजेको तपाई सैद्धान्तिक रुपमा आफ्नो पार्टी नेपाली कांग्रेसभित्र त आक्रामक हुनुभएन नि ?
मैले व्यक्तिगत रुपमा कति गर्न सकें वा सकिन त्यो छुट्टै कुरा हो । मेरो उमेर वा विभिन्न् कारणले त्यस्तो भयो होला । तर राजासँग घाँटी जोडिएको छ भन्ने कांग्रेसलाई आजको ठाउँमा कसले ल्यायो ? मेरो राजनीतिक जीवनमा राजासँग घाँटी जोड्रने लाइन करेक्ट हो भनेर एकदिन लेखेको छैन र राष्ट्रिय मेलमिलाप भनेको आत्मप्रवञ्चना मात्रै हो भन्दै आएको छु । कम्युनिष्टसँग मिल्नैहुन्न भन्ने कांग्रेस मिल्नुपर्छ भनेर हामीले हाम्रो पार्टीभित्र अत्यन्तै अल्पमतमा भएपनि लडिरह्यौं । अर्को आजको भूमण्डलीकृत पूँजीवादबारे हाम्रो पार्टी पनि अलमलमै छ म ढाँट्दिन । हामीले यसकारे छलफल चलाइरहेका पनि छौं । यस्तो बहसको संस्कृति नेपाली कांग्रेसमा एकदम कम छ म स्विकार्छु । बहस गर्ने मान्छे एक्लो बृहस्पति झूठा भनेजस्तै बनाइन्छ । हामी धेरै मध्यम वर्गीय छौँ । मेरो कहिले घर होला, गाडी घोडा होला, मेरो छोरा कहिले अष्ट्रेलिया जाला भन्ने ज्यादा चिन्ता छ हामीलाई ।
नेपाली कांग्रेस मात्र हैन नेकपा समेतका दल यसरी सैद्धान्तिक संकटमा भएपनि उनीहरूको आकर्षण त घटेको छैन किन होला ?
हैन मान्छेका गुनासा पनि छन् । पहिलाका पुराना नेताहरु सिद्धान्तमा धेरै कुरा नलेखेपनि नभनेपनि उनीहरुको सादा जीवन शैली देख्दा त्यो समाजवादी लाग्दथ्यो । आज हामीले मान्छेलाई गरिखाने वातावरण दिनुपर्नेछ ।
मान्छेलाई गरिखाने बनाउनका लागि सहकारी, सार्वजनिक र नीजिको थ्री पिल्लर इकोनोमि भनिदैछ नि ?
सिद्धान्तको रुपमा म यसलाई मान्छु ।सहकारीले इज्रायल बनायो भन्छन् । तर हाम्रा गाउँका सहकारीले कति प्रतिशत ब्याज लिन्छन् । कस्ता ठाउँमा लगानी गरेका छन् त । तर हाम्रा प्रयासलाई आइएमएफ र वल्र्ड बैंकको सपोर्ट हुन्छ त ? हिजो हामी कति कुरा निर्यात गथ्यौँ आज मान्छेमात्र निर्यात गर्छौ अरबमा । अलि प्रतिभाषाली चाँही अमेरिका अष्ट्रेलिया जान्छन् ।
प्रसंग फेरौँ, पछिल्लो सरकार सिके सहमतिले संविधान कार्यान्वयन हुँदैन कि भन्ने डर सकिएको हो ?
यो डर त कहिल्यै सकिँदैन । ०४७ सालको संविधान पनि त चलेन । सिके राउतकै कुरा गर्ने हो भने, संविधान कार्यान्वयनको विषयसँग यो खासै जोडिएको कुरा हैन । विखण्डनकारी वा कुनै पनि हिंसाको राजनीति गर्नेले राष्ट्रको मूलधारमा आउँछु भन्छ भने त्यो राम्रो कुरा हो । सिके राउतले त्यो छोडेको हो भने, अस्ति प्रधानमन्त्री ओलीले जति प्रचण्ड र उनको प्रशंसा गर्नुभयो त्यो भन्दा ज्यादा म नै प्रधानमन्त्रीको प्रशंसा गरिदिन्छु । तर कुरा यति मात्र छैन कि प्रधानमन्त्रीले सिके राउतलाई अंकमाल गर्नुभयो र सब ठिक भैहाल्यो । मूल कुरा त पृथ्वीनारायण शाह देखि अहिले ओली प्रचण्ड वा शेरबहादुर वा गिरिजासम्म कसैले उच्च वर्ग वा वर्णमा रहेको शक्ति जनजाति, महिला वा उत्पीडितसँग साझेदारी गर्न तयार छ ? संघलाई बलियो बनाउन तयार छ । लोकतन्त्रको कुरा घरबाट शुरु हुन्छ । के तपाईँ र म छोराछोरीलाई, पत्नीलाई बोल्न दिन तयार छौँ ? अहिले त्यो देखिँदैन । केन्द्र सरकारले अहिले बनाएका कानुन त्यसमा तयार देखिदैन र पावर शेयरिङमा जाने मानसिकता देखिदैन । यिनै बिषयमा केन्द्र सरकारले संघलाई सौतेनी व्यवहार गरेको देखिन्छ । तसर्थ संविधान कार्यान्वयनको एजेण्डा सकिएको छैन ।