राजदरवार नजिककोे गल्लीबाट आवाज आउँछ, ‘ दुई रुपैयाँको पंखा सय वर्ष ग्यारेण्टी ’ किन्नुस्–किन्नुस् । पंखा व्यापारी मुल्ला नसरुद्दिनको आवाज राजाको कानमा पर्यो । राजाले मुल्ला बोलाउने आदेश दिए, मुल्ला हाजिर भए । राजाले सोधे– पंखा सय वर्ष टिक्छ त ? मुल्लाले भने, ‘झूठा ठहरे मलाई सूली चढाई दिइबक्सियोस् महाराज । राजाले पंखा किने । पंखा प्रयोग गरेको एक सातामै भाँच्चियो । भोलिपल्ट गल्लीमा फेरि सुनियो ‘ दुई रुपैयाँको पंखा सय वर्ष ग्यारेण्टी’ । राजाले मुल्लालाई पक्राउ आदेश दिए ।
बन्दी मुल्लालाई राजाले भाँच्चिएको पंखा देखाएर सोधे – यही हो त सय वर्षको ग्यारेण्टी ? मुल्लाले निर्भीक भएर भने, ‘महाराज मेरो पंखा त सय वर्ष खप्ने ग्यारेण्टी छ ’। तर हजुरले कसरी हम्किबक्सियो ? राजा कडकिए, तिमी मलाई पंखा हम्कीन सिकाउने ? मुल्लाले नडराइ भने, महाराज एक पटक हम्केर देखाइबक्सियोस् । राजाले पंखा हम्के । मुल्लाले भने, प्रभु आधारभूत भूल भयो । हम्कीने तरिका मिलेन । पंखा हातमा स्थिर राखेर टाउको हल्लाउने हो । तर हजुरले त पंखा नै हल्लाइबक्सियो ।
[caption id="attachment_58902" align="alignright" width="150"]
अर्जुन थपलिया[/caption]
समाजवाद । अर्थात् गरिबीको उपचार खोज्ने समकालीन विश्वको एक प्रभावकारी राजनीतिक अवधारणा । समाजवादका अनुयायीहरुले यसलाई पुँजीवादविरुद्ध कालजयी विचारको रुपमा प्रस्तुत गरिरहेका छन् । नेपालको राजनीतिकमा समाजवादको बहस शुरु भएको ६ दशक भयो । राणातन्त्र अन्त्य लगत्तै शुरु भएको समाजवादका अलाप ६ दशकपछि स्थापना भएको संघीय गणतन्त्रले संविधानमा लिपीवद्ध गरेको छ । तर समाजवादी बहस फगत एक साहित्यिक वाङमयमा सीमित रह्यो वा बौद्धिक विलासको हिस्सा बन्यो । गरिबीको चिकित्सा खोज्ने नेताहरुका लागि समाजवाद सत्ताको भ¥याङ बन्यो । राजनीतिक दलका लागि हिंसाको आलोकमा संगठन विस्तार र जनमत बटुल्ने औजार बन्यो । बौद्धिक जमातका लागि लुतो कन्याईको आनन्द । समाजवाद ‘दुई रुपैयाँको पंखा सय वर्ष ग्यारेण्टी’ मै सीमित छ ।
नेपालले सन् १९५३ मा दक्षिण कोरियालाई मकै दियो । नेपालबाट मकै लगेर जीवन धानेको कोरिया विश्वमा आज सम्पन्न मुलुक बनेको छ । तर कुनै बेला मकै दिएको नेपालले भने अहिले जीवन गुजार्न त्यही कोरियाको सहयोग लिनुपरेको छ
सप्तरी र सिरहाबाट सिनो बहिष्कार र भूमि अधिकार आन्दोलनका अगुवाई गरेका स्वर्गीय बलदेव रामलाई एकपटक राष्ट्रिय योजना आयोगको एउटा सेमिनारमा डाकियो । सेमिनारमा उनको उपस्थिति बिपीले सिंहदरवारमा गरिबको तस्विर झुण्डाउनु भनेजस्तै प्रतीकात्मक थियो । पश्चिमा आइएनजिओहरुले खडा गरेजस्तो सहभागितामूलक विकास प्रकृयाको फेनोमेनाले योजना आयोग पनि अछुतो थिएन । बलदेव रामको उपस्तिथि सशरीर थियो तर अर्थपूर्ण वैचारिक उपस्थिति थिएन । कृषकायाधारी बलदेव राम झुत्रे वस्त्रमा थिए तर उनको स्वभाव बोलैया थियो । सेमिनारमा गरिबी निवारणका उपायमाथि दिग्गज विद्वानहरुले बोलिसकेपछि बलदेव रामले समय पाए । उनले भने मसँग एउटा अचुक उपाय छ । यो उपाय गरे केही दिनभित्रै गरिबी निवारण गर्न सकिन्छ । सेमिनारका सहभागीले जिज्ञाशु नजरले बलदेवलाई हेरे । बलदेवले भने गरिब पहिचान गरौं र उसको भुँडी शल्यक्रिया गरेर आन्द्रा झिकेर फालिदिऔं । त्यसपछि गरिबको पेट नै रहदैन । खानै पर्दैन । स्वतः गरिबी निवारण हुन्छ ।
बलदेवको ब्यङ्ग्यवाण मैदालुको काँडाजस्तै बिझ्ने थियो । हलमा सन्नाटा छायो । मञ्चबाट सञ्चालकले भने यो उपाय त्यति प्रभावकारी छैन । गरिबी निवारणको अर्को कुनै उपाय छ बलदेव जी ? बलदेव राम फेरि बोले । अर्को उपाय पनि छ । तपाइँहरु कुर्सी र जमीन मध्ये एउटा छोड्न तयार हुनुस् । कुर्सीमा तपाइँहरु नै बस्नुस् , जमीन हामीलाई जोत्न दिनुस् । गरिबी निवारण हुन्छ । यहाँ कुर्सीमा आसिन हुनुहुन्छ । कहिल्यै हलोको अनौ नसमाते पनि जमीनको स्वामित्व तपाईहरुकै हातमा छ । कसरी हुन्छ गरिबी निवारण र कसरी आउँछ समाजवाद ?
२०१३ सालमा राष्ट्रिय योजना आयोगको स्थापना भयो । हाल १४औं पञ्चवर्षीय योजना चालु छ । पहिलो योजना शुरु हुँदा नेपालले भारततर्फ खाद्यान्न निर्यात गथ्र्यो । कोरिया विभाजनपछि दक्षिण कोरियामा खाद्यान्न संकट भयो, सहयोगको लागि विश्वका केही मुलुकमा सहयोगको लागि हात फैलायो, नेपालले सन १९५३ मा कोरियालाई मकै दियो । नेपालबाट मकै लगेर जीवन धानेको दक्षिण कोरिया विश्वमा आज सम्पन्न मुलुक बनेको छ । तर कुनै बेला मकै दिएको नेपालले भने अहिले नागरिकको जीवन गुजार्न त्यही कोरियाको सहयोग लिनुपरेको छ । जीवन धान्नकै लागि वर्षेनी १५ हजार नेपाली कोरिया गइरहेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा नेपालले ५४ अर्बको खाद्यान्न आयात गरेको छ । एउटा योजनाको समाप्ती र अर्कोको शुरुवातमा रणनीतिक सुधारको दुहाई दिइन्छ । योजना आयोगको विकास दुई रुपैयाँको पंखा सय वर्ष ग्यारेण्टी भन्ने स्वतः सावित हुन्छ ।
बिपी कोईरालाले एउटा टहरो, गोठमा दुहुनो गाई र एकहलको मेलो खेत सबै नेपालीको हुने समाजवादी पंखाको विज्ञापन गरे । उनकै सहपाठी प्रदीप गिरी र नरहरि आचार्य नेपाली कांग्रेसभित्र र बाहिर ५० वर्षदेखि निरन्तर बौद्धिक विलास गर्दैछन् । कांग्रेसका आँखा भनेर चिनिने यी दुई चिन्तकको विचार र प्रयास रामशरण महतको अर्थनीतिको अगाडि घुँडा टेक्न विवश भयो । कांग्रेसमा चुनाव अगाडि प्रदीप गिरी र नरहरि आचार्य हावी भए पनि सरकार बनेपछि विश्व पूँजीवादका ठेकेदार विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकका सच्चा अनुयायी रामशरण महत अर्थनीतिज्ञ हुन्छन् । नेपाली कांग्रेसको लागि समाजवाद शब्द हरेक साउन ६ गते बिपीलाई तर्पण दिने मन्त्र बनेको छ । कांग्रेसको राजनीतिक गल्लीमा समाजवाद दुई रुपैयाँको पंखा सय वर्ष ग्यारेण्टी ।
संविधानमा समाजवाद र दुई तिहाईको कम्युनिष्ट सरकार एकसाथ उदय भएको छ । यो कागताली परेको होइन । सुझबुझपूर्ण जनादेशबाट यो परिणाम आएको हो । समृद्ध नेपाल र सुखी नेपालीको प्रीतिकर सपनाले कम्युनिष्ट छापमा अभिमत प्रकट भएको हो । तर दुई तिहाईको अजंग शक्ति भएको कम्युनिष्ट सरकारमा छ । अर्थमा दिग्गज व्यक्ति अर्थमन्त्री छन् उपभोक्तावादी खुला बजार अर्थतन्त्रका हिमायती युवराज खतिवडा । मष्तिष्कमा माक्र्सवादी अर्थशास्त्र र समाजवाद भएका पाखा लागे । विश्व पूँजीवादको क्याप्टेन विश्व बैंक, एसियाली विकास बैंक र अन्र्तराष्ट्रिय मुद्रा कोषले थुप्रै रामशरण महत युवराज खतिवडा जन्माएका छन् । एमाले र माओवादी केमिष्ट्रीपछि पनि ट्रेडमार्क ‘हँसिया हथौडा’ झण्डामा टाँस्ने खोटो बन्यो समाजवाद । सिंहदरवारको गल्लीमा समाजवादको परिणतिः ‘दुई रुपैयाँको पंखा सय वर्ष ग्यारेण्टी’ ।
राष्ट्र समृद्ध हुनु एउटा पक्ष हो । यसको आवश्यकता पनि छ । आर्थिक समृद्धि विना समाजवादमा पुग्न सकिदैन । तर अर्थतन्त्र समृद्धितर्फ लम्किहाले पनि समाजवाद आउँदैन । समाजवाद मुख्यतः उपलब्ध श्रोत र साधनको न्यायपूर्ण वितरण हो । स्वाधीनता प्राप्त गरेपछि संविधानको मस्यौदा लिएर भारतका तत्कालीन राष्ट्रपति डा. राजेन्द्रप्रसाद महात्मा गान्धी समक्ष पुगे । मस्यौदा हेरर गान्धीले डा. राजेन्द्रप्रसादलाई भने, गरिबको पक्षमा खोई प्रावधान ? समाजवादका प्रणेता महात्मा गान्धीले भनेका थिएः विश्वमा उपलब्ध श्रोत र साधनले जीविका चलाउन पुग्छ तर विलासी र ऐयासी गर्न पुग्दैन । तसर्थ श्रोत र साधन औद्योगिक प्रयोजन र मुनाफा कमाउनेहरुको हातमा होइन , जनताको हातमा पुग्नुपर्छ । संविधानमा समाजवादको मूर्त प्रावधान राख । श्रोत र साधन जीविकाको लागि तोक । यद्यपि विश्वको पाँचौ ठूलो अर्थतन्त्र भारतमा पनि समाजवाद ‘दुई रुपैयाको पंखा सय वर्ष ग्यारेण्टी’कै हविगतमा छ ।
कांग्रेसमा चुनाव अगाडि प्रदीप गिरी र नरहरि आचार्य हावी भए पनि सरकार बनेपछि विश्व पूँजीवादका ठेकेदार विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोष र एसियाली विकास बैंकका सच्चा अनुयायी रामशरण महत अर्थनीतिज्ञ हुन्छन् । नेपाली कांग्रेसको लागि समाजवाद शब्द हरेक साउन ६ गते बिपीलाई तर्पण दिने मन्त्र बनेको छ
नेपालमा शासनतन्त्र फेर्ने राजनीतिक दलले भूमिको सवाल उठाए । भूमि वितरणको लोभ देखाए । जनआधार बनाए । जनता भूमिको सवालमा संगठित भए । हिंसा जस्तो निर्मम राजनीतिक लाइन स्वीकार गर्न ललायित भए । तर सत्तारोहणपछि दलले भूमिको सवाल नै परित्याग गरे । २०२८ सालमा सशस्त्र जमर्को गर्ने नेपाली कांग्रेस, जमिन्दारको टाउको काटेर झापा विद्रोहबाट उम्रिएको एमाले, १२ वर्षमा १७ हजार नेपालीलाई जनयुद्धको बलिवेदीमा हाल्ने माओवादी । सत्तारोही राजनीतिक दल भूमिको सवाल त्यागेर ‘दुई रुपैयाको पंखा सय वर्ष ग्यारेण्टी’मै ओर्लिए ।
धुम्बाराहीमा फागुन १ गते जनयुद्ध दिवस मनाएर १२ वर्षको हिंसात्मक गतिविधिको अनुमोदन गरिन्छ । ओली र प्रचण्ड सुखानी पुगेर भूमिको सावलमा उठेको झापा विद्रोहको हिंसात्मक आलोकलाई सम्झिन्छन् । काठमाडौं फर्किएर विप्लवलाई प्रतिवन्ध लगाउँछन् । भूमि सुधार नेपाली समाजवादको आधार हो भन्ने कुरा बिर्सिन्छन् । पञ्चायतले समाजवाद नभने पनि लोककल्याणकारी राज्य भनेको थियो । तर आधारभूत राजनैतिक स्वतन्त्रता र मानव अधिकार नभएको निरंकुशतन्त्रमा लोकको कल्याण हुने कुनै सम्भावना थिएन । यद्यपि पञ्चायतका जनक राजा महेन्द्रले २०२२ सालमा भूमि सुधार कार्यक्रम ल्याएर समाजवादी तानाशाह देखिने प्रयास गरेका थिए । ओली र प्रचण्डलाई त्यति पनि हेक्का छैन । संविधानको प्रस्तावनामै उल्लेखित समाजवाद वाक्यांश १७ हजार नेपालीको ज्यान जानेगरी मच्चाइएको हिंसात्मक विद्रोहका उन्नायक प्रचण्ड र उनका सहयोगीहरुका लागि शान्तिपूर्ण राजनीतिक अवतरण र सत्तारोहणका लागि लाज छोप्ने मजेत्रो बनेको छ । खोई १७ हजार २ सय ४६ जनाको बलिदान भन्दा प्रचण्ड संविधानमा उल्लेखित ‘समाजवाद ’ शब्द देखाउँछन् । तर समाजवादविमुख राज्य आचरण ‘दुई रुपैयाँको पंखा सय वर्ष ग्यारेण्टी’ को विज्ञापन बन्दैछ अर्थात लोकतान्त्रिक गणतन्त्रको अनुहारमा मसो ।