काठमाडौं । सरकार र सिके राउतबीचको सहमति र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाको हिंसात्मक गतिविधिप्रतिको प्रतिबन्धले राजनीतिलाई तरंगित पारेको छ । यसबारे विभिन्न पार्टी र समूहले आ आफ्ना धारणा सार्वजनिक गरेका छन् । यसबारे प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि धारणा प्रस्तुत गरेको छ ।
कांग्रेसले मुलुकको समसामयिक परिस्थितिबारे ६ बुँदामा सार्वजनिक गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रकाशित गर्नुभएको ६ बुँदे धारणा यस्तो छ ।
१) नेपाली कांग्रेस सबैखालै विमतिको हल राजनैतिक संवादको माध्यमबाट खोज्न सकिन्छ र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने मान्यता र दर्शनमा विश्वास राख्दछ ।
२) नेत्रबिक्रम चन्दले नेतृत्व गर्नु भएको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन नेपाली कांग्रेस सार्वजनिक अपिल गर्दछ ।
३) नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ ।
४) दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न मुलुकले ऐतिहासिक सफलता हासिल गरेको र त्यस मुल नेतृत्व नेपाली कांग्रेसले गरेको हाम्रो ताजा विगत स्मृति गर्दै, आजको मितिमा हिंसात्मक व्रिदोहमा गएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न नेपाली कांग्रेस अपिल गर्दछ ।
५) सभापति शेरबहादुर देउवाले आज चैत्र २ गते पाल्पाको कार्यक्रम मार्फत ‘निषेधले होइन वार्ताले समाधान’ अभिव्यक्त गरिसक्नु भएको छ भने नेता रामचन्द्र पौडेलले कपिलवस्तुको कार्यक्रम मार्फत ‘विद्रोहीलाई विश्वासमा लिन नेकपाका दुई अध्यक्षलाई विशेष योग्यता प्रस्तुत गर्न’ अपिल गरिसक्नु भएको छ ।
६) नेपाली कांग्रेस पार्टीको साझा विश्वास र साझा धारणा ‘शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान’ रहेको तथ्य पुनः प्रष्ट्याउँदै दुबै कम्युनिष्ट पार्टीलाई लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको सास फेरि रहेको मुलुकमा फेरी नागरिक जीवन माथि खेलवाड नगर्न सचेत गराउँदछ ।