काठमाडौं । राजधानीबाट प्रकाशित पत्रपत्रिकाले फरक–फरक समाचारलाई प्राथमिकताका साथ छापेको छ ।
कान्तिपुर दैनिकले लगानी सम्मेलनमा चीनको चासो बढी भन्ने शीर्षकमा समाचार छापेको छ । समाचारमा लगानी सम्मेलनमा कुन देशले कति चासो जनाएको छ भन्ने तथ्याङ्क नै उल्लेख गरिएको छ । लगानी सम्मेलनमा बिभिन्न देशका ६ सय २० लगानीकर्ताले सहभागिता जनाउने भएका छन्, जसमध्ये सबैभन्दा धेरै चीनका २ सय ९ लगानीकर्ताले सहभागिता जनाउँदै छन् भने त्यो भन्दा कम भारतका १ सय १० लगानीकर्ताले नेपालमा हुने लगानी सम्मेलनमा सहभागिता जनाउने छन् । फोरम र राजपाको एकताको पहल भइरहेको समाचार पनि कान्तिपुरले पहिलो पेजमा लेखेको छ । यस्तै भारतमा हुन लागेको लोकसभा चुनावमा नेपालको मानमर्दन गरिएको सम्बन्धी समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । आज हुने साफ महिला च्याम्पियनसीप प्रतियोगिताका लागि नेपाल र भारत दुबैले आफ्नो जित हुने दाबी गर्दै आएको समाचारलाई तस्बिरसहितकान्तिपुरले पहिलो पृष्ठमा छापेको छ ।
नयाँ पत्रिका दैनिकले ‘विश्वविद्यालयका विद्यार्थी कोरिया जान रातभरि लाइनमा’ शीर्षकमा तस्बिरसहितको समाचार प्रकाशित गरेको छ । समाचारमा ४ तस्बिरहरु पनि समावेश गरिएको छ, जसमा विद्यार्थीहरु सडकमै सुतेको त्यहि खाना खाइरहेका छन् । रोजगारीका लागि दक्षिण कोरिया जान शुक्रबारदेखि आवेदन खुल्ला हुदैँछ । ‘मेडिकल कलेजले लिएको अवैध शुल्क एक महिनाभित्र फिर्ता गर्ने सहमति’ शीर्षकमा नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा समाचार छ । सरकार, गण्डकी मेडिकल कलेजका सञ्चाल र विद्यार्थीहरुबीच भएको सहमतिमा परीक्षा छुटेका विद्यार्थीहरुको नियमित परीक्षासरहको परीक्षा त्रिविले लिने, एकमहिनाभित्र अवैध रुपमा लिएका शुल्क फिर्ता गर्ने, विद्यार्थीको शान्ति सुरक्षाको जिम्मा नेपाल सरकारले लिने र विद्यार्थीहरुले विश्वविद्यालयमा लगाएको ताल्चा खोल्ने त्यसैगरी आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता गर्ने उल्लेख गरिएको छ । यसैविषयलाई लिएर डा. गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिनुभएको छ । त्रिभुवन र काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुसँगको मिलेमतोमा अवैध विद्यार्थी भर्ना गरेको र बढी शुल्क लिएकाले उनीहरुलाई बर्खास्त गर्नुपने डा. केसीको माग छ । यस्तै प्रधानमन्त्री केपी ओलीले जलविद्युत् आयोजनाको सेयर किन्नको लागि आवेदन दिएको समाचारमा त्रिशुली थ्री बी को सेयर सर्वसाधारणको लागि खुल्ला गरिएको उल्लेख छ ।
‘बालुवाटारको ललिता निवास क्याम्प जग्गा प्रकारणः हडपिएको २ सय ८४ रोपनी सरकारको नाममा ल्याइने’ शीर्षकमा समाचार छापिएको छ । झण्डै ३० वर्षअघि २०४७ सालदेखि हडपिएको राजधानीको व्यस्त र भीभीआईपी बसोबास गर्ने क्षेत्रका रुपमा परिचित बालुवाटार क्षेत्रको सो जग्गा सरकारको नाममा ल्याउन लागिएको हो । गत २८ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठले व्यक्ति विशेषले हडपेको त्यति ठूलो परिणामको जग्गा सरकारको नाममा ल्याउन सबैखाले प्रक्रिया पूरा गर्ने निर्णय गरेको थियो । यो काममा मालपोत कार्यालयका उच्च कर्मचारीहरुको पनि संलग्ना रहेको आशंका गरिएको छ । यस्तै मेडिकल कलेजहरुले निरन्तर विद्यार्थीलाई ठग्दै आएको निरन्तर फलोअपाई राजधानी दैनिकले पनि निरन्तरता दिएको छ । समाचारमा वीरगंजस्थित नेसनल मेडिकल कलेजद्वारा समयमै वार्षिक शुल्क नबुझाएको भन्दै छात्रवृत्तिकै विद्यार्थीबाट चर्को ब्याज लिइरहेको बताइएको छ । त्यसैगरी बीपी राजमार्गको बिजोगको बारेमा लेखिएको समाचारमा धुलिखेलदेखि बर्दिबाससम्म २ सय ६४ ठाउँमा भ्वाङ परेको उल्लेख गरिएको छ । यो सडकलाई १० भागमा बाँडेर राजधानी दैनिकले गरेको सर्वेक्षणका क्रममा यस्तो तत्थ फेला परेको हो ।
गोरखापत्र दैनिकमा ‘तीन आकर्षक परियोजना प्रस्ताव’ शीर्षकमा समाचार छापिएको छ । समाचारमा औद्योगिकीकरणका लागि राष्ट्रिय पुँजी मात्र पर्याप्त नहुने भएकोले तीनवटा महत्वपूर्ण आयोजनामा वैदेशिक लगानी प्रस्ताव गरिएको उल्लेख छ । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हतियार र हिंसा त्यागे सरकार वार्ताको लागि तयार भएको बताउनुभएको छ । बिहिबार सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले विप्लव समूहले हतियार त्यागे वार्ता गरिने स्पस्ट पार्नुभयो । प्रधानमन्त्रीद्वारा त्रिशुली थ्री बी आयोजनाको १० हजार कित्ता सेयर खरिद आवेदन गरेको समाचार पनि गोरखापत्रको पहिलो पृष्ठमा छ ।
‘सुुकुम्बासीका नाममा फेरि जग्गा बाँड्दै सरकार’ शीर्षकको समाचार नागरिक दैनिकमा समाचार छ । समाचारमा सरकारले विवाद आउन नदिनको लागि कानुन संसोधन गरेर सरकारी जग्गा बाँड्ने चलखेलमा लागेको जनाइएको छ । अव्यवस्थित बसोबास र सुकुम्बासीका नाममा राजनीतिक दलनजिकका कार्यकर्तालाई जग्गा बाँड्दा विरोध आउन सक्ने देखेर सरकारले विधेयकमा आयोग बनाउने र त्यसको सिफारिसमा जग्गा पाउने व्यक्तिले मूल्यको २५ प्रतिशत तिनुपर्ने उल्लेख गरेको छ । विरोधबाट बच्नको लागि सरकारले आयोग बनाउने र २५ प्रतिशत मूल्यको व्यवस्था ल्याई चलाखी गर्न खोजेको टीप्पणी भएको छ । यस्तै रेल किन्न बजेट थपिएको समाचार पनि नागरिकले छापेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँमा दुईवटा रेल किनी जनकपुर–कुर्था खण्डमा चलाइने भएको छ । चिँनिया सामाजिक सञ्जाल विच्याटमा चीनका लागि नेपाली राजदूत लिलामणि पोखरेलले नेपालको बारेमा चिँनियामा भाषामा लेखिएका लेख, भिडियो सेयर गरेर नेपालको पर्यटनको प्रवद्र्धन गरिरहेका छन् । चीनमा फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जाल प्रयोग नहुने भएपछि राजदूत पोखरेलले चीनकै सामाजिक सञ्जाल विच्याटमार्फत देशको प्रचारप्रसार गरिरहेका छन् ।
अन्नपूर्ण पोस्टमा छापिएको समाचारमा चीनमा आयोजना हुन लागेको बोआओ फोरममा नेपाल सहभागी नहुने बताइएको छ । नेपाललाई निम्ता नआएकाले नेपाल फोरममा सहभागी नहुने भएको हो । मंगलबारदेखि शुरु हुने फोरममा नेपालको सहभागिताबारे कुनैपनि तयारी नभएको बताउनुभएको छ । प्रधानमन्त्री सहभागी नहुने भएपछि निमन्त्रणा नगरिएको हुनसक्ने कुटनीतिज्ञहरुको अनुमान छ । मंसिरमा परराष्ट्र सचिवस्तरीय बैठकमा बोआओ सम्मेलन र बीआरलाई फोरम सम्मेलनमा नेपाललाई निमन्त्रणा गरिने बताइएको थियो । यस्तै प्रदेश ३ का सांसदलाई खल्तीका आयोजना शीर्षकमा समाचार छापिएको छ । प्रदेशमा वित्तीय अनुशासन उल्लंघन गर्दै एक सांसदलाई दुई आयोजना दिइएको छ भने अपारदर्शी र जथाभावी ढंगले खर्च हुने जोखिम बढेको छ । त्यस्तै कतिपय सांसदहरुले यसलाई संघीयता नै असफल हुने खतराको संज्ञा दिएका छन् ।