काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव’ समूहको हिंसात्मक गतिविधि पूर्ण रुपमा अन्त्य गरिने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को संसदीय दलको बैठकमा विप्लव समूहलाई हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आउन आव्हान समेत गर्नुभयो ।
‘उहाँहरु सहमतिमा आए ठिकै छ, नत्र अतिविादी क्रियाकलाप अब सकैले सहन्न’ उहाँले भन्नुभयो, ‘विकास निर्माणमा अवरोध,शिक्षा स्वास्थ्यमा अवरोध गर्ने ,चन्दा माग्ने,मान्छे मार्ने अनि अनि हंसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै । त्यसको लागि सुरक्षा संयन्त्र परिचालन भइसकेको छ । उनीहरुचैतभित्र्रै पक्राउ पर्छन् । विप्लव समूहको हिंसात्मक गतिविधि अब पूर्णरुपमा समाप्त हुन्छ ।’
प्रधानमन्त्री ओलीले साँसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिनुभएको छ । ‘तपाईंहरु जिल्ला र क्षेत्र जानुहोस’ बैठकमा उहाँले भन्नुभयो, ‘जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामको बारेमा प्रचार गर्नुस । समाजमा अहिले सरकारले गरेका राम्रा कुरा लुकाएर नभएका, नगरेका, नराम्रा कुरा मात्रै प्रचार गरिएको छ । सरकारविरुद्ध अनेक भ्रम फैलाइएको छ । विपक्षीले लगाएका निराधार आरोप खण्डन गर्नुस् । सत्य कुरा भन्नुहोस । जनताका कुरा सुन्नुहोस ।’
प्रधानमन्त्रीले सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्र घुमेर विकासका योजना लिएर आउन आव्हान गर्नुभयो । जनताले सोधेका हरेक कुराको जवाफ नम्र ढंगले दिनुहोस्’ उहाँले भन्नुभयो, ‘आगामी वर्षको नीति र कार्यक्रमका लागि आफ्नो क्षेत्रका योजना र बजेटको फेहरिस्त बोकेर काठमाडौं फर्कनुहोस् ।’
नेकपाका संसदीय दलका नेता र एवं पार्टी अध्यक्ष समेत रहनु भएका ओलीले स्थानीय तहको पार्टी एकताको बारे जनताले साँसदहरुसँग धेरै प्रश्न सोध्न सक्ने बताउनुभएको छ । ‘केन्द्रमा एकीकरण भएको महिना दिनभित्रै सबै कमिटीको एकता सकिनु पथ्र्यो यसमा अनावश्यक विलम्ब भएको छ’ उहाँले भन्नुभयो, ‘तर अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै एकताका सबै काम टुंगिन्छन् ।’
प्रधानमन्त्रीले नेकपाको लोकप्रियता बढिरहेको उल्लेख गर्नुभएको छ । ‘देशमा नेकपा जस्तो स्पष्ट नीति,लक्ष्य भएको अर्को पार्टी छैन’ उहाँले भन्नुभयो, ‘हाम्रो स्पष्ट लक्ष्य छ समृद्धि सहितका सुखी नेपाली । यहि लक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ ।’