लोकेन्द्रप्रसाद जोशी
दार्चुला । शैल्यशिखर नगरपालिकाको सदरमुकाम गोकुलेश्वर बजारका स्थानिय र व्यापारी नगर कार्यपालिकाको निर्णय विरुद्ध आन्दोलित भएका छन् । सोमबार बसेको बैठकले नगरपालिकाको केन्द्र वडा नम्बर ९ गोकुलेश्वरबाट नक्तड परिगाउँ भन्ने स्थानमा सार्ने निर्णय गरेपछि गोकुलेश्वर बजारका स्थानीय र व्यापारीहरु आन्दोलित भएका हुन् ।
नगरपालिकाको केन्द्र बजार क्षेत्रबाट टाढा र अपायक पर्ने स्थानमा सार्न नहुने भन्दै निर्णय सच्याउन माग गर्दै आन्दोलन थालिएको गोकुलेश्वरका व्यापारी भुवन भण्डारीले बताउनुभयो । नगरकार्यपालिकाको निर्णयको विरोधमा गोकुलेश्वरको बजार बन्द गरिएको छ । गोकुलेश्वर बजारका व्यापारी तथा स्थानियले नाराबाजी गर्दै नगरपालिका कार्यालय घेराउ समेत गरेका छन् ।
अहिलेकै ठाउँमा संरक्षण गरेर नगरपालिका कार्यालय व्यवस्थापन गर्नुपर्ने स्थानीय व्यापारीहरुले माग गरेका छन् । अहिले स्थापित बजारलाई विस्थापित गर्नेगरी नगरपालिका कार्यालय सार्ने निर्णय गरिएकोले विरोध गर्नुपरेको उनिहरुकोको तर्क छ ।
शैल्यशिखर नगरपालिकाले शहरी आवास तथा भवन डिभिजन कार्यालयको ३० करोड आर्थिक सहयोगमा नगरपालिकाको नयाँ भवन निर्माण गर्न लागेको छ । तर जमिन अभावमा रकम नपाइने सम्भाबना बढेको नगरपालिकाले जनाएको छ । भवनको लागि १० रोपनी जमिन आवश्यक रहेकोमा वजार क्षेत्रमा जमिन नपाउँदा केन्द्र नक्तड सार्नुपरेको शैल्यशिखर नगरपालिकाका प्रवक्ता माधबराज भट्टले बताउनुभयो ।
हालको नगरपालिका भवन चौलानी नदीको कटान जोखिममा रहेको कारण नयाँ ठाउँमा भवन निर्माण गर्ने निर्णय गरिएको हो, भट्टले भन्नुभयो, ‘छ महिना अघि नै सार्वजनिक सुचना आह्वान गरेर भवनको लागि १० रोपनी जग्गा खोजी गरिएको हो’ । तर गोकुलेश्वरका स्थानियले जमिन दिन नचाहेको कारण बजार क्षेत्रबाट २ किलोमिटरको दुरीमा रहेको नक्तड सार्ने निर्णय भएको उहाँको भनाइ छ ।
सार्वजनिक सूचनामार्फत पहिलो प्राथमिकतामा गोकुलेश्वर, दोस्रोमा गाजरी, नक्तड र बगर क्षेत्र प्राथमिकता दिएर जमिन दिन आह्वान गरीएकोमा नक्तडका स्थानीयले जग्गा उपलब्ध गराउँने प्रतिबद्धता जनाएपछि नगरकार्यपालिकाले नक्तडकै निर्णय गरेको हो ।
तर स्थानीय र व्यापारीहरुले निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । बजार व्यवस्थापन समितिले बुधबार समेत आम हड्तालको घोषणा गरेको स्थानीय जिज्ञासु खत्रीले बताउनुभयो ।