सिरहा । मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहा र सप्तरीका १४ वटा खानेपानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिमको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका भन्दै ती उद्योगमा शिलबन्दी गरेको हो ।
सप्तरीको विभिन्नका स्थानका पानी उद्योगमा मंगलबार अनुगमन गर्दा निर्देशिका विपरीत सञ्चालनमा रहेको पाइएकाले शिलबन्दी गरेको गुण नियन्त्रण प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो
उहाँका अनुसार शिलबन्दी गरिएका उद्योगहरुमा राजविराजस्थित ओम फुड्स एण्ड वेभेरेजेज इण्डष्ट्रिज, नेपाल वेभेरेजेज, सप्तरी कञ्चनरुप नगरपालिका– २ स्थित वैधनाथ जल उद्योग, कञ्चनरुप नगरपालिकाको ठेलियाँस्थित शिवशङ्कर फुड एण्ड बेभेरेजेज इण्डष्ट्रिज छन् । यसैगरी सप्तरी शम्भुनाथ नगरपालिकास्थित वीरेन्द्र एण्ड सन्स फुड वेभेरेजेज इण्डष्ट्रिज र एसएच एण्ड सन्स पानी उद्योग खोक्सरलाई पनि शिलबन्दी गरिएको छ ।
यसअघि पुसमा मापदण्ड विपरीत सञ्चालनमा रहेका लहान नगरपालिकास्थित फ्रेड इन्टरनेशनल वाटर उद्योग, गोलबजार नगरपालिका– ७ चोहर्वास्थित इन्दिरा जल, आनन्द जल, गोलबजार नगरपालिका– ६ स्थित कमलामाई पानी उद्योग र सीता हेल्दी कुलिङवाटर इण्डष्ट्रिज, लहान नगरपालिका–१ स्थित सीता मिनरल वाटर फैक्र्टी, लहान नगरपालिका–७ स्थित ढलकोट माता मिनरल वाटर उद्योग र कर्जन्हा नगरपालिका– १० स्थित मिथिला पानी प्रशोधन उद्योगमा शिलबन्दी गरेको प्रमुख सिंहले बताउनुभयो ।
मापदण्ड नपुगेको र न्यूनतम सरसफाइ समेत नपाइकाले ती उद्योगमा सिलबन्दी गरी पानीको उत्पादन बन्द गराइएको उहाँले बताउनुभयो ।