काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत बुधबारको खेल कोलकत्ता नाइटराइडर्सले आफ्नो पक्षमा पारेको छ । बुधबार मध्यरातमा सकिएको खेलमा कोलकत्ताले किंग्स इलावेन पञ्जाबलाई २८ रनले पराजित गरेको हो ।
कोलकत्ताको इडन गार्डेन रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टीमले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो । कोलकत्ताका लागि रबिन उथप्पाले सर्वाधिक ६७ रन नटआउट, नितिश राणाले ६३, आन्द्रे रसलले ४८, सुनिल नराइनले २४, क्रिस लिनले १० रन बनाए भने दिनेश कार्तिकले नटआउट रहँदै १ रन बनाए ।
जवाफी ब्याटिङमा उत्रिएको पञ्जाब निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो । पञ्जाबका लागि मयंक अग्रवालले ५८, क्रिस गेलले २० र सरफराज खानले १३ रन बनाएर आउट हुँदा डेभिड मिलर ५९ र मंदीप सिंह ३३ रन नटआउट रहे । खेलको प्लेयर अफ द म्याच कोलकत्ता नाइटराइर्डसका आन्द्रे रसल घोषित भए । उनले २ ओभर बलिङ गरेर ३ विकेट समेत लिएका थिए । आफ्नो टीमका खेलाडीको हौसला बढाउनका लागि कोलकत्ता नाइटराइडर्सका मालिक समेत रहेका शाहरुख खान मैदानमै पुगेका थिए ।
जितसँगै कोलकत्ताले दुवै खेलमा जित हात पार्दा पञ्जाबले १ मा जित र अर्कोमा हार बेहोरेको छ । जितपछि ४ अंकसहित कोलकत्ता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ४ अंक रहेको चेन्नाई सुपरकिंग रनरेटका आधारमा अंक तालिकाको दोश्रो स्थानमा छ । उता पञ्जाब अंक तालिकाको चौथो स्थानमा छ ।
प्रतियोगिता अन्तर्गत बिहिबार रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बइ इंडियन्स बीचको खेल हुनेछ । खेल बेलुकी सवा ८ बजे बैंग्लोरमा रहेको चिन्नस्वामी स्टेडियममा हुनेछ । बैंग्लोर पहिलो खेलमा चेन्नाइसँग ७ विकेटले पराजित भएको थियो भने मुम्बईले पनि दिल्लीसँग ३७ रनले हार बेहोरेको थियो । पहिलो खेलमा हार बेहोरेका दुवै टीम आफ्नो पहिलो जित दर्ता गराउने प्रयासमा रहनेछन् ।