लोकेन्द्रप्रसाद जोशी
दार्चुला । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरदेखी उत्तरी जिल्ला दार्चुला हुदै चीनसम्म जोड्ने निर्माणाधिन महाकाली करिडोर अन्तरगत दार्चुला–तिङ्कर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिन दार्चुलाबाट प्रतिनिधिसभा र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने सासंदहरुले प्रधानमन्त्री केपी ओलीसंग माग गरेका छन् ।
बुधबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर दार्चुलाका संघीय संसद र सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिस्ट पार्टीका जनप्रतिनिधिले चीनको ताक्लाकोट जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरिदिन ज्ञापनपत्रमार्फत लिखित अनुरोध गरेका हुन् । ‘विस्फोटक पदार्थको अभाव र ठेकेदारहरूको ढिलासुस्तीले चीन जोड्ने सडक निर्माण कार्यमा ढिलाइ भएकाले आगामी आर्थिक वर्षबाट दार्चुला तिङ्कर सडक नेपाली सेनामार्फत सञ्चालनका लागि निर्णय गर्नको लागि प्रधानमन्त्री ओलीलाई अनुरोध गरिएको प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
नेपाली र भारतीय हिन्दू धर्मावलम्बीको पवित्र धार्मिक तिर्थस्थल कैलास मानसरोवर जोड्ने र चीनसँगको व्यापारिक दृष्टिले पनि महत्वपूर्ण सडक भएकाले तिङ्कर सडकको निर्माण छिटो होस् भनेर सेनालाई दिन माग गरिएको सांसद ठगुन्नाले बताउनुभयो । बिगत तीन बर्षदेखी विस्फोटक पदार्थको अभावका कारणले सडक निर्माण ढिलाइ भएको र विस्फोटक पदार्थ जिलेटिन नेपाली सेनामार्फत मात्रै प्राप्त हुने भएकाले पनि यो सडक निर्माणको जिम्मा सेनालाई दिनुपर्नेमा सासंद ठगुन्नाले जोड दिनुभयो ।
गोकुलेश्वर बिमानस्थल सञ्चालन गर्न माग
दार्चुलाबाट प्रदेश र संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका जनप्रतिनिधिहरूले बिगत २५ वर्षदेखी बन्द रहेको दार्चुलाको एकमात्र गोकुलेश्वरमा रहेको एयरपोर्ट पुनः सञ्चालनमा ल्याउन प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । लामो समयदेखि क्षतिग्रस्त अवस्थामा रहेकाले त्यो विमानस्थल पुनः सञ्चालनका लागि बजेट व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको प्रदेशसभा सदस्य मान बहादुर धामीले बताउनुभयो ।
जिल्लाकोे आर्थिक, व्यापारीक, पर्यटकीय क्षेत्रको विकासका लागि प्रमुख आधार मानिएको गोकुलेश्वर विमानस्थल सुचारु नहुँदा अहिले नागरिकले कष्टकर रुपमा गाडीको यात्रा गर्नुपरेको छ । जिल्लाको विकास र सम्भावनासँग जोडिएको विमानस्थल द्धन्दकालदेखी सञ्चालन हुन नसक्दा दार्चुलाले ठुलो घाटा बेहोर्नु परेको प्रतिनिधिसभा सदस्य ठगुन्नाले बताउनुभयो । सिगों दार्चुला, बैतडी र बझाङ जिल्लाको आधाभन्दा बढी भू–भागले सजिलै सेवा पाउँने गोकुलेश्वर बिमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाका थुप्रै सम्भाबनाहरु ओझेलमा परेका मात्र छैनन्, आकस्मिक रुपमा रिफर गर्नुपर्ने बिरामीहरुले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेको छ । अहिले उक्त विमानस्थल राजनीतिक दलको कार्यक्रमस्थल, खेलाडीको खेलमैदान र स्थानीयको गौचरण बनेको छ ।
दार्चुलाबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसद गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशी बडाल, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामी र गेल्बुसिंह बोहराले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।