काठमाडौं । काठमाडौमा शुक्रबारदेखि शुरु भएको तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न बिषयमा छलफल भइरहेको छ । सम्मेलन शनिबार जलविद्युत तथा पूर्वाधार विकास आयोजनामा केन्द्रित भएको छ ।
सम्मेलनमा सरकारले देशका ८ वटा ठूला जलविद्युत परियोजना प्रस्तुत गरेको छ । प्रस्तुत परियोजनाबाट ५ हजार ९ सय ९३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । विद्युत उत्पादनमा ९ हजार मिलियन अमेरिकी डलर लगानी आवश्यक पर्ने परियोजनाको डिपिआरमा उल्लेख छ ।
सम्मेलनमा नलसिंह गाँड, एसआर–६ स्टोरेज, सुनकोशी –२,सुनकोशी –३, तमोर स्टोरेज,पश्चिम सेती र एसआर –६ ज्वाइन्ट स्टोरेज,पश्चिम सेती स्टोरेज र तल्लो अरुण जलविद्युत आयोजना प्रस्तुत गरिएको छ । समापनसम्म जलविद्युत परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ता आकर्षित हुने आशा गरिएको छ ।
नेपालमा कूल जलविद्युत उत्पादनको सम्भाव्य क्षमता ८३ हजार मेगावाट रहेको र ४३ हजार मेगावाट विद्युत उत्पादनको प्राविधिक अध्ययन भइसकेको छ । विद्युत विकास विभागका अनुसार मुलुकमा अहिले ९० वटा जलविद्युत परियोजनाबाट १ हजार १६ दशमलव ७ मेगावाट विद्युत उत्पादन भइरहेको छ । १ हजार ५ सय ६८ मेगावाट विद्युत उत्पादन गर्न सम्भाव्यता अध्ययन तथा डिपिआर तयार गरेर २७ परियोजनाले उत्पादन अनुमति पत्र लिएर निर्माण शुरु गरिसकेको छ ।
विभागले १७ हजार ९ सय २२ मेगावाट विद्युत उत्पादन गर्ने सर्भे अनुमति पत्र लिन २ सय ८७ वटा परियोजनाका लागि आवेदन परेको जनाएको छ । विभागले ७ हजार ६ सय ९५ मेगावाट विद्युत उत्पादनका लागि २ सय परियोजनालाई सर्भे अनुमति पत्र प्रदान गरिसकेको छ । सरकारले ‘नेपालीको पानी जनताको लगानी– हरेक नेपालीको जनतामा लगानी ’भन्दै ६ प्रदेशमा १९ वटा जलविद्युत परियोजना निर्माण गर्ने परियोजना अघि सारेको छ ।
५ वर्षमा निर्माण पूरा गर्ने लक्ष्य लिइएको १९ वटा परियोजनामार्फत ३ हजार ४ सय ७९ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । प्रस्तुत परियोजनाको निर्माण सम्पन्न भए एक दशकभित्र १५ हजार मेगावाट विद्युत उत्पादन हुनेछ । २०६५ सालमा पुष्पकमल दfहाल प्रचण्ड प्रधानमन्त्री हुँदा एक दशकभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने घोषणा गरिएको थियो ।