Logo बैशाख २८, २०७८ मंगलबार


पात्र फेरियो तर चालचलन उस्तै

०६२/६३ को आन्दोलनपछि अधिकारका लागि आन्दोलन गर्न पर्दैन, राजनीतिक आन्दोलन पूरा भयो । राजतन्त्र समाप्त भयो, अब विकास र समृद्धिका लागि अघि बढ्ने र समाजवादको बाटो तय गर्दै त्यसतर्फ अघि बढ्ने विषयमा सबै राजनीतिक दल, बुद्धिजीवी, पत्रकार र सरकारले हरेक सभासमारोह र कार्यक्रममा भाषण ठोक्दै हिँडे । तर आज जनताको अपेक्षाअनुसार विकास र समृद्धि भएको छैन । सरकार र सत्तापक्ष यो विषयमा रक्षात्मक परिस्थितिमा उभिएको हामी पाउँछौँ । विकास आजको भोलि हुँदैन तर लक्षण त देखिनु पर्ने । काम शुरु त हुनु पर्ने । नीतिनिर्माण त हुनु पर्ने । जुन विषयमा दखल राख्छ, उसलाई त्यो जिम्मेवारी दिनु पर्ने । विषयगत दखल राख्नेलाई परिचालन गर्नु पर्ने । तर किन यसो भइरहेको छैन ? किन चाहेर पनि यो हुन सकेको छैन ? एउटा वाक्यमा उत्तर भन्न सकिन्छ, ‘पात्र फेरियो तर चालचलन फेरिएन ।’

शक्ति र सत्तामा आसिनको रवाफ पुरानै शैलीमा
नेता होस् या कार्यकर्ता, सरकारी कार्यकारी पदमा आसीन नेता होस् या कर्मचारी सबैको मुखमै झुण्डिएको वाक्य हो, ‘सेवा दिनु हाम्रो धर्म हो ।’ कतै कर्तव्य पनि हो भन्छन् । राज्यबाट तलब र भत्ता खाएर धर्म गर्ने र पुण्य कमाउनेहरु धेरै छन्, जसले आफ्नो कर्तव्य ठान्दैनन् । जसले मुखले कर्तव्य हो भनिरहेका छन् तर व्यवहार ठीक उल्टो छ । सबै क्षेत्रका इमानदारहरु जो छन्, तिनीहरु ओझेल परेका छन् । ओझेल परेकाको समाजमा गिन्ती र चर्चा नहुने, जसले तिनीहरुको वास्तै हुँदैन । भ्रष्टाचार गर्ने शैली उही पुरानै शैली त छदैँछ अझ समयअनुसार प्रविधि र नयाँ तरिकाले भ्रष्टाचार झांगिँदै गएको छ । रातो कार्पेट, सलामी, सवारी, फूलको गुच्छा, स्वागतद्वार, सलामी, जयजयकार, सेनामेना, अगुवापछुवा र साष्टांग दण्डवत् हिजोका दिनमा भन्दा आज अझ धेरै हुन थालेको छ ।
नेपालका वामपन्थीहरुले चर्को आलोचना गर्ने एउटा विषय थियो सामन्तवाद । राजतन्त्र हटेपछि सामान्तवादी युग अन्त्य र पूँजीवादी युग शुरु भएको विषय राजनीतिक दलका प्रतिवेदन अनि लेखकले छापामा छापेका छन् । तर सामन्ती शैली जिउँका तिउँ छन् नेपालमा। व्यवहारिकरुपमा सामन्तवाद नेपालमा जिउँदै छ । राजनीतिक दलमा सामन्ती सोच र अझ व्यवहारमा हिजो भन्दा अझ बढी झांगिँदै गएको छ । सरकारी कर्मचारीमा त झन तँ ठूलो कि म ठूलो ? को माथिल्लो दर्जाको, कुन तल्लो दर्जाको ? कसले कसलाई काम लगाउने रु ठूलाले सानालाई माया गर्नु पर्छ र सानाले ठूलालाई आदर र सम्मान गर्नुपर्छ भनेर नैतिक शिक्षामा उल्लेख छ । तर ठूलाले सानालाई सम्मान र आदर गर्ने कुरा उल्लेख छैन । आफूभन्दा सानाले भनेको कुरा नमान्ने र सानालाई आदरसम्मान नगर्नु सामन्ती सोचाइ हो । त्यसैले पात्र फेरिए पनि सोचाइ र व्यवहार परिवर्तन भएको छैन । यसलाई परिवर्तन जरुरी छ ।

विकास निर्माण शैली र भ्रष्टाचार
विकास निर्माणको शैली पनि पुरानै छ । यहाँ प्रविधिलाई प्राथमिकता दिएको छैन बरु प्रवृत्ति कसरी दीर्घजीबी बनाउनेतर्फ बढी ध्यान दिएको पाइन्छ । तडकभडक र प्रचारमा बढी समय र पैसा खर्चिइएको छ । एउटा कुनै निर्माणका लागि पहिला शिलान्यास, त्यसपछि निरीक्षण, अनि उद्घाटनसहित कम्तीमा तीनपटक फजुल खर्च गरिन्छ । शिलान्यास, निरीक्षण र उद्घाटन गर्ने व्यक्तिले आफ्नो पेवा सम्पत्तिले बनाएको झैँ गरी ठूलै स्वरमा भाषण गर्छ । सबै स्वामित्व आफैँले लिने कोसिस गरिन्छ । राज्यको लगानीमा आफ्नो नाम जोड्न चाहन्छ, जनतालाई भ्रममा पार्ने कोसिस हुन्छ र ताम्रपत्रमा नाम लेखेर टाँस्ने गरिन्छ । स्तर अनुसारको भ्रष्टाचार भइरहेको हुन्छ तर नियन्त्रणमा कसैको पहल हुँदैन । कुनै योजना निर्माण सम्पन्न भएपछि त्यसमा भएको भ्रष्टाचारको विषय ढाकछोप गर्न र वैधता प्रदान गर्न ठूलै ओहदाका व्यक्तिलाई उपस्थित गराई उद्घाटन गरिन्छ । कर्मचारी र सबै नेतालाई एउटै दृष्टिमा हेरिनु हुँदैन । हामीले बुझ्न आवश्यक र बुझाउने कुरो के हो भने नेताले चाहेर मात्र भ्रष्टाचार हुँदैन । नेता भ्रष्टाचारमा परे कर्मचारीको संलग्नता पनि हुने गर्छ । तर कर्मचारीले नेताबिनै भ्रष्टाचार गर्न कुनै आइतबार पर्खिनु पर्दैन । यसलाई निर्मूल पार्न सकिने उपाय आवश्यक छ।

मापदण्ड, नियमावली र गुणस्तर
विकास निर्माणमा हरेक कुराको मापदण्ड तोकिएको हुन्छ । त्यही मापदण्ड आधार मानेर विकास निर्माणको काम अघि बढ्ने हो । अहिले कस्तो मापदण्ड छ र यसले किन गुणस्तर दिन सकिएन ? यस विषयमा नियमावली परिवर्तन हुन आवश्यक छ । विशेष गरी नेपालको सडक निर्माणमा मापदण्ड तोकी गुणस्तर तोकिनु अनिवार्य गरिनु पर्छ । हामी सबैले देखेर भोगेको कुरा हो, कुनै विदेशीले बनाएको सडक २० वर्षमा पनि केही हुन्न तर हाम्रै अगाडि निर्माण गरेका सडक २० दिनमै उप्किन्छ र खाल्टाखुल्टी र धूलोमैलो शुरु हुन्छ । विकास निर्माणको जिम्मा सबैभन्दा सस्तोलाई दिने तर उसले गरेका कामको गुणस्तर ध्यान दिइदैँन । न्युनतम मापदण्डका आधारमा निश्चित समय तोकी समयभित्र मर्मतसम्भार जिम्मा जसले गरेको हो, उसैले लिने गराउन आवश्यक छ । आधुनिक जमानामा हरेक बस्तुको निश्चित समय तोकी त्यसको जिम्मा लिने गरिन्छ । यदि सडककै कुरा गर्ने हो भने सामान्य भाषामा उल्लेख गर्दा भित्रीसडक (रेसिडेन्सियल रोड) लाई कम्तीमा १० देखि १५ वर्ष, मध्यभाग सडक (रेसिडेन्सियल, कमरसियल एरियाको सडक) कम्तीमा १५ र उच्च भारको (हाइवे लेव) सडक कम्तीमा २० वर्ष ग्यारेन्टी गरी निर्माण गर्ने नियमावली बनाउन सकिन्छ । पुलहरु कम्तीमा ५० वर्ष ग्यारेन्टी गरी निर्माण थालनी गर्न सके नेपालको बजेट सदुपयोग हुन सकिन्छ।

समस्या र समधान
समस्या महसुस गरिन्छ । समस्याबारे छलफल र गोष्टी हुन्छन् । तर समाधान सही तरिकाले कहिल्यै हुँदैन । नेपालको राजधानीबासीले मेलम्चीको पानी पिउने सपना देखेको झन्डै दुई पुस्ताको पनि उत्तराद्र्ध भइसकेको छ । समस्य के हो ? समाधान किन हुँदैन ? सरोकारवाला कसैले चुँ पनि गर्दैन । अहिले काठमाडौँमा सडकको धूलो बढार्ने मेसिनवाला गाडीको ठूलो प्रचारप्रसार गरिएको छ तर जति पैसा त्यो मेसिनमा खर्चिएको छ, धूलो कहाँबाट आयो ? कसरी आयो ? कसरी नियन्त्रण गर्ने विषयमा कसैको चासो गएको देखिदैँन । धूलो नियन्त्रणको सट्टा अब हिउँदमा धूलो तात्ने मेसिन आयो तर वर्षायामका लाग हिलो तान्ने पनि मेसिन आउला भनेर आसा गर्नु पर्ने भो । नत्रभने यो सडक बढार्ने विषय अस्थायी हो । स्थायी धूलो हुन नदिनु नै प्रमुख हो । विकसित मुलुकको सडकमा धूलो पाइँदैन, जहाँ न दैनिक बढारिन्छ न पानीले पखालिन्छ । तर सडक टल्केकै हुन्छ । हाम्रा नेता कर्मचारीले विदेशका सडक नदेखेका त छैनन् नि !

राजधानीका व्यस्त सडक दरबारमार्ग र ठमेललगायतका सडक बेलुका र बिहान सबेरै हेर्ने हो भने फोहोरको थुप्रोले सजिएको हुन्छ । के यसको व्यवस्थापन सम्भव छैन र ? करोडौँको घरमालिकले हजार पर्ने फोहोरको भाँडो किनेर फोहोर भाँडामा हाल्न सकिदैँन र ? विकसित मूलका नदीनालाका छेउमा महँगा घर र रेष्टुरेन्टले भरिएको हुन्छ । तर हाम्रोमा किन मुखमा माक्स लगाएर, नाक थुनेर हिँड्ने ? किन फोहोर प्लाष्टिकका पोकाले भरेका छन् ? हाम्रा नदी किनार ? सायद वातावरण मन्त्रलयले नदेखेको हो कि ? कि वरिपरि बसोबास गर्नेले पनि नदेखेका ? फोहोर व्यवस्थापन चुनौतिकै विषय छ नेपालमा । शरीरको कुनै भागमा क्यान्सर उपचार नगरे विस्तारै शरीरभर फैलिँदै जान्छ । त्यस्तै गरी फोहोरको समस्यले गाउँघरलाई विस्तारै समस्यामा पारेका छन् । फोहोरको क्यान्सर गाउँघरमा पाइला टेकिसकेको छ । फोहोर व्यवस्थापनका लागि नर्सरीदेखि नै अनिवार्य पाठयपुस्तक लागु गर्नु पर्ने देखिन्छ । सडक र गल्लीमा हिँड्दा थुक्ने हाम्रो चलन छ । जहाँ उभियो वा हिँडियो, त्यहीँ थुक्ने बानी छ । बदाम खादा होस् वा मिठाई वा बिस्कुट, पानी होस् वा जुस, जे खाए पनि खाइसकेपछि फोहोर त्यहीँ फालिन्छ । यी सबै विषयमा सबैलाई सचेत गराइ फोहोर व्यवस्थापनमा सबैको सहभागिता गराउनु पर्ने देखिन्छ।

अन्त्यमा समय जति परिवर्तन भए पनि हामी आफू परिवर्तन हुनसकेको छैनौँ । विकास, समृद्धिसँगै हामी व्यक्तिको आचरण, सोचाई र व्यहारमा पनि परिवर्तन आउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

देशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान रहेको छ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण…

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको…

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।

 बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजना बाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय गरेको छ । साथै अबको निषेधाज्ञा  थप कडा…

सहभागी प्रशिक्षार्थीहरुमा डेनमार्क, बेल्जियम, स्पेन, स्वीडेनलगायतका युरोपेली मुलुकमा रोजगारी तथा अध्ययनमा रहेका १८ युवा रहेको क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरका…