काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न सचेत गराउनुभएको छ । रिपोर्टर्स क्लबको २१ औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्रसँग तुलना नगर्न आग्रह गर्नुभएको हो ।
बाँस्कोटाले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ । स्वतन्त्रता अपहरित हुँदैन । केही पनि हुँदैन । ज्ञानेन्द्रसँग तुलना नगर्नु होला ।’
ज्ञानेन्द्रको पृष्ठभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्ठभूमि, निष्ठा, लक्ष्य, उद्देश्य, लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलन र जनताको नागरिक आन्दोलनका लागि विल्कुल भिन्न पृष्ठभूमि हो । बाँस्कोटाले प्रेस स्वतन्त्रताका नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी गर्नुभयो।
उहाँले भन्नुभयो,‘प्रतिष्ठित पत्रकारहरु वास्तविक पत्रकारहरु अहिले लज्जित हुँदैछन् । रुलिङ पार्टीको अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भिजिटमा के–के सम्म समाचार छाप्नुभयो ? आफ्नो समाचार हरेर उहाँलाई यहाँ देख्दा आफैलाई लाज लाग्दैन अहिले ? के लेखियो भनेर ? आफ्नो धोति फुस्केको थाहा छैन । सरकारमाथि ख्याउ ख्याउ अचम्म लाग्छ ।’
नियमन र नियन्त्रण फरक विषय भएको भन्दै उहाँले आलोचना र विश्लेषण गर्नुभन्दा पहिले सरकारले ल्याएका सबै नीति, कार्यक्रम र योजनाहरु पढ्न आग्रह गर्नुभयो । सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा आएका टिप्पणीप्रति पनि उहाँले आक्रोश पोख्नुभयो । उहाँले आगामी वर्षमा समानुपातिक विज्ञापन प्रणाली र क्लिन फिड विज्ञापन प्रणाली लागू हुने उद्घोष गर्नुभयो ।