‘सीपमूलक शिक्षा पाठ्यक्रममै राख्नुपर्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ माधवकुमार नेपालले मुलुकबाट युवा पलायन रोक्न सीपमुलक शिक्षा पाठ्यक्रममै राख्नुपर्ने बताउनु भएको छ ।
सरोकार समाजद्वारा आइतबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले शिक्षा सीपमुलक नहुँदा शिक्षित युवा समेत बेरोजगार हुनुपरेको उल्लेख गर्नुभयो । ‘शिक्षा सीपमूलक नभएकै कारण एकतातिर पढेलेखेका युवाले काम पाइरहेका छैनन, अर्कोतिर मुलुकको विभिन्न क्षेत्रको लागि आवश्यक दक्ष शक्ति भारतबाट ल्याउनु परेको छ । बेरोजगारी अन्त्य गर्नको लागि सीपमूलक शिक्षा पाठ्यक्रमै राख्नु आवश्यक छ ।’
नेता नेपालले कुनै पनि पेशामा दक्ष हुन युवामा सकारात्मक सोच हुनुपर्ने उल्लेख गर्नुभयो । ‘आँट गर्यो भने जुनसुकै काम गर्न सकिन्छ, आँट नहुनेलाई लाछी भन्छन्’ उहाँले भन्नुभयो, ‘कुनै पनि काम सफल हुन सकारात्मक सोच चाहिन्छ । नकारात्मक सोच नराख्नूस् । कसैको पनि कुभलो नसोच्नूस् । त्यसपछि मात्र तपाईले गरेको योजना सफल हुन्छ ।’

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले संविधानले स्थानीय तहलाई प्रयाप्त अधिकार दिएको स्मरण गराउनुभयो । ‘अहिलेको स्थानीय तहलाई प्रयाप्त अधिकार दिएको छ’ उहाँले भन्नुभयो, ‘नागरिकको हरेक समस्या अब स्थानीय तहबाटै समाधान हुने स्थिति बन्दै गएको छ । स्थानीय तहले रोजगारीको लागि विभिन्न योजना समेत बनाइरहेका छन् ।’

माध्यमिक परीक्षा (एसईई( परीक्षालाई आधार मान्दा मुलुकमा वर्षेनी ५ लाख भन्दा बढी युवा श्रमका लागि तयार हुने गरेका छन् । विभिन्न क्षेत्रमा वार्षिक १ लाखलाई रोजगार दिन सक्ने अवस्था छैन । मुलुककमै रोजगारी सृजना नहुँदा रहेक वर्ष ४ लाख भन्दा बढी युवा विदेशिने गरेका छन् ।