टीकापुर घटनाः थारु अगुवाको यस्तो निष्कर्ष

बर्दिया । टीकापुर घटनामा कैलाली जिल्ला अदालतले गरेको फैसला न्याय संगत नभएको भन्दै पुनरावेदनका लागि उच्च अदालत जाने थारु अगुवाहरुको भेलाले तय गरेको छ ।
कञ्चनपुरदेखि झापासम्मका थारु अगुवाको ठाकुरबाबामा भएको भेलाको निष्कर्ष सार्वजनिक गर्न आइतबार गरिएको पत्रकार भेटघाटमा बोल्दै थारु अगुवा लक्ष्मण थारुले राजनीतिक आन्दोलनकारीलाई अपराधी घोषणा गरी भएको फैसलाका विरुद्धमा पुनरावेदन जाने बताउनुभयो ।
टीकापुर काण्ड एउटा दुर्घटना भएको भन्दै थारु अगुवाहरुले घटनालाई राजनीतिक रुपमा समाधान गरिनुपर्ने र फैसलापछि जेलमा राखिएका सबै आन्दोलनकारीलाई जेलमुक्त गर्नु पर्ने माग गरेको छ । भेलाले टीकापुर मुद्धालाई राजनीतिक रुपमा समाधान गर्नका लागि जनजागरण अभियान चलाउने पनि निष्कर्ष निकालेको छ ।
संविधानको धारा २ सय ७४ मा भएको राज्य पुनःसंरचनाको सिमांकनको व्यवस्था संशोधन गरी थारुहरु क्लस्टरको राज्य घोषणा गर्न दवावमुलक कार्यक्रम ल्याउने र वैशाखबाट आन्दोलनका चरणबद्ध कार्यक्रम घोषणा गर्ने सहमति भएको थारु कल्याणकारिणीका जिल्ला सभापतिहरुको भनाइ छ । भेलामा सहभागीहरुले राज्यले थारुहरुलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरेको समेत आरोप लगाएका छन् ।