संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेकपाका युवा नेता रवीन्द्र अधिकारीे हेलिकोप्टर दुर्घटनामा परि दिवंगत हुनुभएपछि विभिन्न पार्टीका नेताहरुले मुलुकले एक उदयीमान र भरोसायोग्य नेता गुमाएको बताउनुभएको छ । सत्तारुढ नेकपाका नेताहरुले विकाशलाई राजनीतिसँग जोड्ने नयाँ बहस आरम्भ गरेर बिदाई भएका अधिकारीका सपना पुरा गर्न आफुहरु इमान्दारीताका साथ लाग्ने प्रण गरेका छन् । स्वर्गीय अधिकारीबारे केही नेताहरुले राख्नुभएका धारणाहरु यहाँ प्रस्तुत गरिएको छ ।
नरेश न्यौपाने / सरस्वती तामाङ झलनाथ खनालयो नेपालकै एउटा अकल्पनिय घटना हो । यस घटनामा दिवंगत हुनुभएको कमरेड रवीन्द्र वास्तवमा एउटा उदयीमान नेता हुनुहुन्थ्यो । नेपालको कम्युनिष्ट आन्दोलनको उज्वल नक्षत्रको रुपमा उहाँ हुनुहुन्थ्यो । उहाँले नेपालको विद्यार्थी आन्दोलन, कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलनको क्षेत्रमा होस वा देशभक्तिपूर्ण आन्दोलनको क्षेत्रमा युवा उमेरमै र छोटो अवधिमा नै महत्वपुर्ण योगदान पुर्याउनुभएको थियो ।
भीम रावलरवीन्द्र अधिकारी हाम्रो पार्टीको युवा क्षेत्रको एकजना सशक्त नेता हुनुहुन्थो । उहाँले आफुलाई दिएका सबै जिम्मेवारीहरु कुशलतापुर्वक पुरा गर्नुहुन्थ्यो । यहिक्रममा उहाँ आफ्नो कर्तव्यपालनकै शिलशिलामा भ्रमणमा रहेकै बेला भएको दुर्घटना निकै नै दुखद छ । उहाँले देशको पर्यटन क्षेत्रमा वा आफ्नो निर्वाचन क्षेत्रमा जुन योजनाहरु अघि बढाउनुभएको थियो, ती हाम्रो पार्टीले देशलाई समृद्धितर्फ लिन शुरु गरेका योजनाहरुसँग नै सम्बन्धित थिए । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य पनि भएकोले उहाँले समितिमा पर्यटन क्षेत्रमा गनुपर्ने नयाँ कामहरुको जानकारी पनि गराउनु भएको थियो । अब उहाँका योजना र सपनाहरु पूरा गर्न सरकार र पार्टी प्रतिवद्ध भएर लाग्छ । नेपालमा विशिष्ट व्यक्तिहरुको यस्ता कार्यक्रममा जाँदा अन्य देशहरुले जस्तो हामीले पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ । हामीले आगामी दिनमा यस्ता घटनाहरुबाट पाठ सिक्दै यस्ता भ्रमणहरुबारे गम्भीर भएर राम्रो व्यवस्थापनमा ध्यान दिनुपर्छ ।
योगेश भट्टराईपछिल्लो समय पर्यटन क्षेत्रको सफतापुर्वक नेतृत्व गर्दै आउनुभएका क. रवीन्द्र अधिकारीलाई गुमाउनुपर्दा निकै पिडा भएको छ । रवीन्द्र जीसंग मैले राजनीतिक काम र संगठन निर्माणका काममा लामो संगत गरेँ । झण्डै तीन दशकको हाम्रो अनुभव र सहकार्यले उहाँ एउटा धेरै सम्भावना बोकेको, भरोसा गर्न लायक र एउटा वौद्धिक एवं जनतासँग सहजै घुलमिल हुने व्यक्तित्वको रुपमा मैले बुझेको छु । विकास र राजनीतिलाई एकसाथ जोडेर नेपाली समाजका विभेद र असमानतालाई हटाउँदै जाने नयाँ बहस नै उहाँले शुरु गर्नुभएको थियो । संविधान निर्माण प्रक्रियामा पनि उहाँको निरन्तर समन्वय र सहजकर्ताको भूमिका रहेको थियो । संसदमा पनि उहाँ एउटा सफल विधायक हुनुहुन्थ्यो भन्ने मेरो बुझाइ छ । नेपालको संसदीय कार्यमा उहाँको अभाव हामीलाई खड्किरहनेछ ।
विकास र राजनीतिलाई एकसाथ जोडेर नेपाली समाजका विभेद र असमानतालाई हटाउँदै जाने नयाँ बहस नै उहाँले शुरु गर्नुभएको थियो ।
गोकर्ण विष्टउहाँ मन्त्रिमण्डलभित्र निरन्तर विकासका कुरामा जोड दिने विकाशप्रेमी साथी हुनुहुन्थ्यो । आज उहाँलाई गुमाउनुपर्दा निकै दुःख लागेको छ । विकास र जनताका कामप्रतिको उहाँको लगावलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकता छ । हाम्रो चाहाना पनि त्यो पूरा गर्नुहुनेछ । तीन दशक भन्दा लामो अवधिसम्म सँगै काम गरेको योद्धा गुमाउँदा मलाई असहज महसुश भइरहेको छ ।
विष्णु रिमालउहाँ मेरो असल मित्र हुनुहुन्थ्यो । अहिलेको क्याविनेटमा सम्भावना बोकेको व्यक्ति हुनुहुन्थ्यो । प्रधानमन्त्रीले पर्यटन क्षेत्रको विकासका लागि देखेका सपना पुरा गर्न उहाँ दिनरात खट्नुभएको थियो । उहाँले लुम्बिनीको एयरपोर्ट सेप्टेम्बरसम्म पुरा चलाउने र पोखराको एयरपोर्टलाई तोकिएको समयभित्र पुरा गर्ने र देशभरिका दुर्गम ठाउँमा हेलिकोप्टर वा हवाइजहाज उड्ने व्यवस्था मिलाउने गरि योजनावद्ध रुपमा काम गरिरहनुभएको थियो । प्रधानमन्त्री कार्यलयसँग जोडिएर उहाँले काम गरिरहनुभएको थियो । बिचमा खुट्टा तान्ने प्रयत्नहरु बाह्य क्षेत्रबाट निकै भएका थिए तर उहाँको निष्कलंक छवि धुमिल पार्ने कोसिसहरु पनि भएका थिए । तर उहाँ क्रमिक रुपमा सबै कुराहरु स्पष्ट हुने र विकासका कामहरु अगाडि बढ्ने कुरामा विश्वस्त हुनुहुन्थ्यो । अब घटना घटिसकेको छ उहाँलाई फिर्ता ल्याउन सकिदैन र केवल उहाँको सम्झना मात्र बाँकी छ । उहाँका थुपै्र सपना पुरा गर्नका लागि उहाँ जस्तै थुप्रै साथिहरु मन्त्री हुनुहुन्छ । सांसदहरुनै मन्त्री बन्ने हो र उहाँहरु मध्य कोही मन्त्री बन्नुहुन्छ र उहाँको सपना पुरा गर्नलाई लाग्नुहुन्छ । हामीले जुन समृद्ध नेपाल निर्माणको सपना देखेका छौं त्यही काममा इमान्दारीताका साथ लाग्नु नै रवीन्द्र जी जस्ता साथिहरुको सपना पुरा गर्नु हुनेछ भन्ने म ठान्छु ।
अग्नि सापकोटायसपटकको घटनाले यस्ता दुर्घटनाहरुमा सरकारले समयमै सचेत हुनुपर्ने देखिन्छ । राज्य, संसद र सम्बन्धित निकायको ध्यान यस्ता घटनाहरुको न्यूनिकरणमा विशेष ध्यान जानुपर्ने देखिन्छ । पार्टीलाई अपुरणीय क्षती भएको छ । तर उहाँले लेखेर जानुभएको पुस्तक र विकास समितिमा रहँदा पुर्याउनुभएका योगदानहरु हेर्दा यो एक वर्षमा उहाँले निकै भव्य आधारहरु तयार पार्नुभएको छ । हामीले उहाँका योगदानहरु खेर जान नदिएर काम गर्नेछौं । उहाँका योगदानहरुलाई पुरा गर्न पार्टीले कुनै कसर बाँकी राख्नेछैन । उहाँले आफ्नो पोखरामा जन्मेर विद्यर्थीकालदेखी नै जीवनकालमा गरेका सबै योगदानहरु लिपिवद्ध पनि गरेर जानुभएको छ, हामी छुटेका खोजेर अघि बढाउनतिर ध्यान दिनेछौं । हामी सबैको प्रयत्नबाट उहाँले आर्जन गरेको ज्ञान, अनुभव र आधारमा टेकेर उहाँको अभावमा हुने क्षतिको पूर्ति गर्न सक्छौं ।
विश्वप्रकाश शर्मारवीन्द्र अधिकारीलाई मन्त्रीका रुपमा मुल्याङ्कन गर्ने पछिको कुरा हो । हामी भिन्न–भिन्न राजनीतिक आस्थामा रहेर पनि कतिपय बेला अभिन्न ढंगले समाजकै लागी सोच्नुपर्छ । मलाई कहिल्यै पनि भिन्न पार्टीको साथी जस्तो लागेन । हामी भिन्न पार्टीका हौंला तर भिन्न देशका त पक्कै होइनौं । यो देशको विकास, शान्ति एवं समृद्धिका लागि सहकार्य गर्ने सन्दर्भमा मलाई मेरो मित्र रवीन्द्रको स्मृति रहिरहनेछ । खासगरी २०५८ सालको दरबार हत्याकाण्डपछि नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरु एक ठाउँमा आउनका लागि ०५९ सालको वैशाख लाग्यो । तर दरबार हत्याकाण्डपछि लगत्तै हामीले ५४ वटा साझा शैक्षिक मुद्दा बनाएका थियौँ । एउटा अनेरास्ववियुको अध्यक्षमा रवीन्द्र जी र अर्को अनेरास्ववियुको अध्यक्षमा राजेन्द्र राई हुनुहुन्थ्यो र म नेविसंघको अध्यक्ष थिएँ । ०५८ सालको चैत्र १९ गते काठमाडौंमा हामीले सबै विद्यार्थी संगठनहरुको साझा प्रदर्शन गरेका थियौं र त्यसमा सवैभन्दा महत्वपूर्ण भूमिका रवीन्द्र अधिकारी, राजेन्द्र राई र हामी साथीहरुको थियो । त्यसक्रममा मतभिन्नतालाई थाँती राखेर सहमतिका साथ अघि बढ्ने विशेष क्षमता रवीन्द्र अधिकारीमा थियो ।
अर्को, सरकारमा पुगिसकेर पनि केही गरौं भन्ने भाव वा त्यो क्षमता प्रस्तुत गरेको रवीन्द्र अधिकारी मैले पाएको थिएँ । देशको लागि केही गरौं भन्ने भावना हुनु एउटा कुरा हो तर त्यो निर्दोष भावनाले मात्रै केही गर्दैन । उहाँमा त्यो भावना मात्रै होइन यसरी गरौं भन्ने योजना र दृष्टिकोण पनि थियो । सरकारमा रहँदाको मुल्याङ्कन गर्दा पनि त्यो गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जुन अवरुद्ध थियो, त्यसको काम शुरु भयो । यसकारण देशका लागि केही गर्ने संकल्प गरेको साथीको विदाइ मेरा लागि अकल्पनीय थियो । मैले मन्त्री र राजनितीकर्मीका रुपमा होईन मेरो एकजना अति प्रिय र घनिष्ट मित्र गुमाएको छु । जो सँग मेरो तपाई, तिमी र तँ पनि थियो । राजनीतिले एउटा सुयोग्य व्यक्तित्व गुमाएको छ भने देशले भोलिको एक भरोसायोग्य उदयमान नेता गुमाएको छ ।
मैले मन्त्री र राजनितीकर्मीका रुपमा होईन मेरो एकजना अति प्रिय र घनिष्ट मित्र गुमाएको छु । जो सँग मेरो तपाई, तिमी र तँ पनि थियो ।