आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम हुँदै

आनन्द गुरुङ
काठमाडौं । नेपाली सेनाले आज सेना दिवस मनाउँदै छ । गौरवमय इतिहास र परम्परा बोकेको संघीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज मुलुकभर ‘सेना दिवस मनाउन लागेको हो ।
गौरवमय इतिहास र परम्परा बोकेको संघीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले सोमबार मुलुकभर ‘सेना दिवस मनाउँदै छ । सेना दिवसको अवसरमा बिहान १० बजे सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजनाको तयारी गरिएको नेपाली सेनाले जनाएको छ । सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा आयोजना विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी हुनुुहुनेछ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ ।
सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुनेछन् । त्यसैगरी जङ्गी अड्डा मातहत मुलुकका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्महरु पनि विभिन्न कार्यक्रम गरी मनाइन्छ । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल अग्रणी स्थानमा रहेको छ ।
राष्ट्रिय सुरक्षा, महत्वपूर्ण संरचना र भौतिक पूर्वाधार तथा प्राकृतिक सम्पदाको सुरक्षा, विकास निर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।