लोकेन्द्रप्रसाद जोशी
दार्चुला । गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम ४१ औं जिल्लाको रुपमा दार्चुलामा शुभारम्भ भएको छ । ‘तपाईको स्वास्थ्य हाम्रो अठोट’ मूल नाराका साथ राष्ट्रिय स्वास्थ्य बीमा नीति २०७१ बमोजिम आर्थिक वर्ष २०७२/०७३ मा कैलाली, बागलुङ र इलाम जिल्लाबाट शुरु भएको बीमा कार्यक्रम सुदूरपश्चिम प्रदेशका सातवटा जिल्लासहित देशभरीका ४१ जिल्लामा विस्तार भएको छ ।
अबको तीन वर्ष भित्र सबै जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने घोषणासहित सरकारले विभिन्न जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्ने रणनीति बनाएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७२ चैत २५ देखि कैलालीबाटै यो कार्यक्रम शुरु गरेको बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिनुभयो ।
बिमा कार्यक्रममा आवद्ध हुन ५ जनासम्म सदस्य रहेको परिवारले वर्षको २ हजार ५ सय रुपैयाँ प्रिमियम रकम तिरेर सदस्य बन्नुपर्ने हुन्छ भने यस वापत वर्ष भरिमा ५० हजार बराबरको स्वास्थ्य सेवा लिन पाईने छ ।
५ जना भन्दा बढि सदस्य भएको परिवारले प्रतिव्यक्ति थप ४ सय ५० तिरेर बीमा सदस्य बन्ने र १० हजार बराबरको थप निःशुल्क उपचार सेवा लिने व्यवस्था रहेको कार्यकारी निर्देशक पोखरेलले बताउँनुभयो ।
बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् । तर, कस्मेटिक सर्जरी, व्यक्तिगत झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा नपाइने स्वास्थ्य बिमा बोर्डका तालिम प्रशिक्षक रामकुमार श्रेष्ठले बताउनुभयो ।
यसैबिच स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलको अध्यक्षता एबं सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामीको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रमकाबिच दार्चुला जिल्लामा स्वास्थ्य बीमाको उद्घाटन गरिएको छ । सोमबारदेखी नै दर्ता सहयोगीहरुले गाउँघरमा पुगेर आम नागरीकलाइ स्वास्थ्यबिमामा आवद्ध गराउँनेगरी स्वास्थ्य बिमा कार्यक्रमको शुरुवात गरीएको हो ।
नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने हक छ । कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरिएको छ । यहि मौलिक हक कार्यान्यनको लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम विस्तार गर्दै लगेको हो सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामीले बताउनुभयो ।