डाक्टरले मृत घोषणा गरिसकेपछि धामीको नाटक, ३ घण्टासम्म झारफुक

काठमाडौं । कोसी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले ।
उनीहरु थिए, मोरङ जहदा गाउँपालिका–४का ६५ वर्षीय उदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ वर्षीया लीलम मण्डल र लता मण्डल । मृतक थिइन्, जहदाकै वडा नम्बर ७ की ४० वर्षीया भुवनदेवी मण्डल । घरनजिकै आइतबार राति ९ बजे सर्पले देब्रे खुट्टामा डसेपछि उलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । राति १० बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
धामीले भने जसरी पनि भुवनदेवीलाई ‘बचाएरै छाड्ने’ वाचा गर्दै भीड र आफन्तलाई ढाडस दिइरहेका थिए । परिवारकै सदस्य सामूहिक रुपमा झारफुक गर्न लगाएका रहेछन् । बिहान ८ बजे शुरु भएको झारफुक ३ घण्टा चल्यो । तर उनलाई बचाउन सकेनन् । समाचार अन्न्पूर्ण पोस्ट् दैनिकले प्रकाशित गरेको छ ।