निर्वाचन क्षेत्र दौडाहमा घनश्याम भूसाल

काठमाडौं । रुपन्देहीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य घनश्याम भूसाल केहि दिन देखि आफ्नो निर्वाचन क्षेत्रका विभिन्न कार्यक्रममा व्यस्त रहनु भएकाे छ । भूसाल हरेक दिन बिहान ६ बजेदेखि राति अबेरसम्म आफ्नो क्षेत्रका अगुवा नेता, कार्यकर्ता, समाजसेवी, मतदाता ,उद्योगी एवं व्यापारीसँग छलफलमा व्यस्त रहेका छन् ।
खासगरि भूसाल जनगुनासा तथा विकासका योजना र भइरहेका कामहरुको अनुगमनमा जिल्ला आउनुभएको जनाइएको छ ।
सियारी गाउँपालिकाले आयोजना गरेको कुक, ड्राइभिङ र दोभासे तालिमको उद्घाटन गर्दै भूसालले अन्तर्राष्ट्रिय गौतमबुद्व एयरपोर्टमार्फत आउने पर्यटकलाई लक्षित गरी स्तरीय कुक, राम्रो ड्राइभर र विभिन्न देशबाट आउने पर्यटकलाई भाषामा सहज गर्न राम्रो गाइड बन्न सहभागीलाई शुभकामना दिनुभएको थियो ।
माछा उत्पादन क्षेत्रको रुपमा प्रसिद्ध छपियालाई सुपर जोन बनाउने सांसद भूसालको पूर्वयोजना अघि बढेको बताइएको छ । त्यहाँ दैनिक करिब २५ क्विन्टल माछा उत्पादन भइरहेको र अबको २ वर्षसम्म दैनिक १०० क्विन्टल उत्पादन हुने गरी त्यहाँका किसान लागि परेका छ्न ।
भेटघाटका क्रममा भूसालले साना योजना २ वर्षमा हुने प्रतिवद्धता जनाउँदै स्थानीय तहका जनप्रतिनिधिले ठूला योजनाको कार्यान्वयनमा गम्भीर बन्नुपर्नेमा सजग गराउनु भएको थियो ।